संक्रमित युवासँगै आएका थिए अरु ३८ जना

सुर्खेत : कोरोना संक्रमण पुष्टि भएका दैलेखको आठबीसकोट नगरपालिकाका युवासँगै भारतबाट अन्य ३८ जना पनि आएको पाइएको छ । भारतबाट फर्किएपछि उनीहरु १४ दिनसम्म महेन्द्रनगरको क्वारेन्टाइनमा बसेर आएका थिए ।

दुई साता क्वारेन्टाइनमा बसेपछि यही जेठ १ गते कर्णाली आएका हुन् । आज संक्रमण पुष्टि भएका युवासहित ३९ जना नगरमा भित्रिएको आठबीसकोट नगरपालिकाका उप–प्रमुख दीपा बोहोराले जानकारी दिइन् । बोहोराका अनुसार उनीहरुलाई गाउँ पुगेपछि स्थानीय लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

गत जेठ ३ गते कर्णाली प्रदेश अस्पतालबाट डाक्टरसहितको टोली गएर सबै जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । तीमध्ये एक जनामा मात्रै कोरोना रिपोर्ट ‘पोजिटिभ’ देखिएको हो ।

उप–प्रमुख बोहोराले दिएको जानकारी अनुसार यहाँका ६० प्रतिशत नागरिक रोजगारीका लागि मजदुरी गर्न भारत जाने गरेका छन् । लकडाउन पछि भारतबाट कति गाउँ फर्के भन्ने एकीन तथ्यांक नगरपालिकासँग नभएको उनले बताइन् । बाहिरबाट आएकाहरु लुकिछिपी गाउँ पस्ने गरेकाले तथ्यांक संकलनमा नै समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार २२:३७