जेठ २० सम्म लकडाउन

कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

सरकारले लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले जारी लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । यसअघि गरिएको लकडाउनको अवधि आज ‐सोमवार) समाप्त हुँदै थियो ।

आइतवार नै कोरोना संक्रमणका कारण देशमा दोस्रो व्यक्तिको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका २५ वर्षीय पुरुषको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लकडाउनको ५६ औं दिन पुगेको छ । तर, कोरोना संक्रमण झन् बढिरहेको छ ।

आइतवारसम्म देशमा कोभिडका दुई सय ९५ संक्रमित देखिएका छन् । लकडाउनका कारण ठूलो दुर्घटनाबाट बचेको भन्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकालेको थियो । छिमेकी भारतले पनि आइतवार नै लकडाउन दुई साताका लागि थप गर्ने निर्णय गरेको छ ।

सरकारले पहिलोपटक गत चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो ।

प्रकाशित मितिः   ५ जेष्ठ २०७७, सोमबार ०७:३७