काँक्रेविहारका रुख काटिए

काँक्रेविहार संरक्षित क्षेत्रका रुख काटिएका छन् । डिभिजन वन कार्यालय सुर्खेतले शनिवार काँक्रेविहार जंगलमा रहेका मसलाका रुख काटेको हो । संरक्षित क्षेत्रभित्रका रुख काटिएपछि स्थानीयले विरोध जनाएका छन् । लकडाउनको मौका छोपी डिभिजन वन र वडा कार्यालयले रुख कटान गरी इट्टाभट्टालाई दिन लागेको स्थानीयको आरोप छ ।

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले जंगल नजिकैको वन कार्यालय पोष्ट वरीपरीका रुखको हाँगा मात्रै काटिएको दाबी गरे । ‘मसलाका रुख काटी इट्टाभट्टालाई दिइएको भन्ने कुरा झुठा हो,’ उनले भने ‘बस्ती नजिकै रहेकाले हावाहुरीले मानवीय क्षति हुनेसक्ने भएकाले ठूला रुखका हाँगा मात्रै काटिएको छ ।’ काटिएका हाँगाहरू सुरक्षित राखिएको उनले बताए ।

वीरेन्द्रनगर–९ का वडा अध्यक्ष सुरेश मानन्धरले सबैको समन्वयमा रुखका हाँगा कटान गरिएको बताए । हाँगा भाँचिएर वन पोष्ट र नजिकैको बस्तीमा असर पुर्‍याउने देखिएकाले हाँगाहरू कटान मात्रै गरेको उनको भनाइ छ । राष्ट्रिय संरक्षण ऐन अनुसार संरक्षित क्षेत्रभित्र हसियासमेत लिएर जान पाइँदैन ।

 

प्रकाशित मितिः   ४ जेष्ठ २०७७, आईतवार ०७:५२