किताब आए, भर्ना अनिश्चित

नयाँ शैक्षिक सत्रका लागि बजारमा पाठ्यपुस्तक आइसकेका छन् । तर विद्यार्थी भर्ना नगरेका कारण विद्यालयहरूले खरिद गर्न भने सकेका छैनन् । विद्यार्थी संख्याको आधारमा मात्रै खरिद गर्नुपर्ने भएकाले सामुदायिक विद्यालयहरूलाई पाठ्यपुस्तक खरिद गर्न समस्या भएको हो ।

विगतका वर्षहरूमा नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना गर्न निकै तामझाम गरिन्थ्यो । यतिबेला देशभरका विद्यालयलाई विद्यार्थी भर्ना गर्ने चटारो हुन्थ्यो । कतिपय विद्यालयले पठनपाठनसमेत सुरु गरिसकेका हुन्थे । तर यसपटक भने भर्ना अभियान सुरु हुने त परको कुरा, दुई महिना अघिदेखि बन्द भएका विद्यालय नै खुलेका छैनन् ।

कोरोना भाइरसको त्रासका कारण लामो समयदेखि बन्द रहेका शैक्षिक संस्था खुल्ने टुङ्गो नभएपछि भर्ना अभियान सुरु हुन सकेको छैन । यसले गर्दा वार्षिक शैक्षिक कार्यतालिका प्रभावित भएको छ ।

नयाँ शैक्षिक सत्रका लागि बजारमा पाठ्यपुस्तक आइसकेका छन् । विद्यार्थी भर्ना हुन नपाए पनि जनक शिक्षा सामग्री केन्द्रले कर्णालीमा पाठ्यपुस्तक ल्याएको हो । तर विद्यार्थी भर्ना नगरेका कारण विद्यालयहरूले पाठ्यपुस्तक लिन सकेका छैनन् । विद्यार्थी संख्याको आधारमा मात्रै खरिद गर्नुपर्ने भएकाले सामुदायिक विद्यालयहरूलाई पाठ्यपुस्तक खरिद गर्न समस्या भएको छ ।

पाठ्यपुस्तक खरिदका लागि स्थानीय तहहरूले सामुदायिक विद्यालयलाई बजेट निकासा गरेपछि पुस्तक खरिद गर्ने गरिन्छ । जिल्लाका केही विद्यालयले यही प्रक्रियाबाट पाठ्यपुस्तक खरिद गर्न थालेका छन् । अधिकांश विद्यालयले भने पाठ्यपुस्तक खरिद गर्ने सुरसार गरेका छैनन् । वीरेन्द्रनगरस्थित पाठ्यपुस्तकको थोक बिक्रेता न्यू प्रभात स्टेशनरीले केही सामुदायिक विद्यालयहरू मात्र पाठ्यपुस्तक खरिद गर्न आएको जनाएको छ । स्टेशनरीका सञ्चालक कमल नेपालले वीरेन्द्रनगर उपत्यकाका केही विद्यालयहरूले मात्रै किताब खरिद गरेको बताए ।

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले नगरका सबै विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि रकम निकासा गरिसकिएको बताए । विद्यालयलाई सामाजिक दूरी कायम गरेर विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाँड्न भनिए पनि भर्ना नगरिएका कारण वितरण कसरी गर्ने भन्ने अन्यौल भएको उनले जानकारी दिए ।

स्थानीय तहहरूले विद्यार्थीलाई घरमै पाठ्यपुस्तक उपलब्ध गराउन भनेका छन् । विद्यालयलाई भने भर्नाविना कसरी किताब वितरण गर्ने भन्नेमा अन्यौल छ । विद्यालयहरू विद्यार्थी भर्नाका लागि सरकारको निर्णयको पर्खाइमा छन् । भर्ना नगरेरै पाठ्यपुस्तक वितरण गर्न सम्भव नदेखिएकाले तत्काल वितरण नगरिएको वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यालयले अंग्रेजी माध्यमका बाहेक नेपाली माध्यमका किताब खरिद गरिसकेको छ । विद्यार्थी भर्नाका लागि केन्द्रको निर्णय कुरेर बसेको उनको भनाइ छ ।

विगतका वर्षमा वैशाख १५ गतेसम्म विद्यार्थी भर्ना गरिन्थ्यो । अहिले कोरोना भाइरसका कारण लकडाउन गर्नुपरेकाले विद्यार्थी भर्ना अभियान प्रभावित भएको हो । भेरीगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले नगरपालिकाबाट पुस्तक खरिदका लागि सबै विद्यालयमा रकम निकासा गरिसकिएको बताए । उनले पनि भर्ना नगरेर विद्यार्थीलाई कसरी पुस्तक दिने भन्ने समस्या देखिएको उल्लेख गरे ।

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतका अनुसार कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने काम भइरहेको छ । हालसम्म सुर्खेत र दैलेखमा करिब पाँच हजार थान किताब थोक बिक्रेतामार्फत पु¥याइएको प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीले जानकारी दिए । अन्य थोक बिक्रेताहरूलाई किताब दिने प्रक्रिया पनि थालिएको उनले बताए । तर पाठ्यपुस्तक जिल्ला–जिल्लामा पुगिसके पनि विद्यालय खुल्ने टुङ्गो भने छैन ।

प्रकाशित मितिः   ४ जेष्ठ २०७७, आईतवार ०७:५०