‘साहुले घर जाउ भन्छ, देशले नआउ भन्छ’
जुम्लाको पातारासीका ३७ वर्षीय अर्जुन बोहोरा दुई वर्षदेखि भारतको गुजरातमा छन् । रोजगारीको खोजीमा आफन्तसँगै भारत पुगेका उनी होटेलमा काम गर्दछन् । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बन्द भएको होटल खुल्न सकेको छैन । लकडाउन जारी छ । तत्काल होटल खुल्ने सम्भावना पनि छैन । बरु साहुले उनलाई घर फर्किन भनिरहेको छ । तर यता सीमा–नाका बन्द छ । सरकारले भारतबाट फर्किन दिएको छैन । जसले गर्दा यतिबेला अर्जुन समस्यामा परेका छन् ।
अर्जुन मात्र होइन उनीजस्तै धेरै नागरिक अहिले भारतमा अलपत्र अवस्थामा छन् । कर्णाली प्रदेशबाट रोजगारीका लागि ठूलो संख्यामा नागरिक भारतका विभिन्न राज्यहरूमा पुगेका छन् । कोरोना संक्रमणको जोखिमबाट जोगाउन लकडाउन गरिएसँगै उनीहरू अलपत्र परेका हुन् । ‘होटल बन्द भएपछि न काम हुन्छ न पैसा पाइन्छ’ साझा बिसौनीसँगको भर्चुअल संवादमा अर्जुनले भने, ‘घर जाउँ भने सीमाबाट जान दिइएको छैन । के गरेर बस्ने ?’
होटल साहुले अझैं कयौं महिना होटल सञ्चालनमा नआउने भन्दै अर्जुन र उनीसँगै काम गर्ने नेपाली युवाहरूलाई घर फर्किन भनिरहेको छ । तर उनीहरू चाहेर पनि फर्किन भने सक्ने अवस्था छैन । ‘यताबाट जान त दिन्छ तर उता आफ्नै देशले सीमाबाट प्रवेश गर्न दिदैन’ उनले भने ।
भारतमा रहेका नेपालीहरू दिन प्रतिदिन समस्यामा पर्दै गएका छन् । अखिल भारत–नेपाली एकता मञ्च गुजरातका सचिव समेत रहेका जाजरकोटको शिवालय गाउँपालिका–६ निवासी प्रदिप मिलन रानाले प्रत्येक सहरका गल्लीहरूमा नेपाली अलपत्र परेको बताए । ‘ठूलो संख्यामा नेपाली कामदारले रोजगारी गुमाएका मात्र छैनन् कैयौं भोकभोकै सडकमै बाँस बस्न बाध्य भएका छन्’ उनले भने ।
भारतमा नेपालीहरूको सबैभन्दा ठूलो रोजगार क्षेत्रका रूपमा रहेको होटेल व्यवसाय पूर्ण रूपमा ठप्प छ । लकडाउन कहिलेसम्म जारी रहने टुङ्गो नभएकाले प्रायः होटेल तथा रेष्टुरेण्टले नेपालीहरूलाई धमाधम कामबाट निकालिरहेका छन् । ननिकालेकाहरूले पनि पारिश्रमिक दिएका छैनन् । जसले गर्दा मजदुरहरू थप संकटमा परेको रानाले जानकारी दिए । नेपालीहरू दिन प्रतिदिन समस्यामा फस्दै गए पनि कसैले उनीहरूको उद्धारमा ध्यान नदिएको गुनासो उनले गरे । साथै आफ्ना समस्याबारे जानकारी गराउन भारतस्थित नेपाली राजदुतावास र राजदूतलाई जानकारी गराउन खोज्दा सम्पर्कमै नआएको समेत रानाले जनाए । ‘छिटोभन्दा छिटो उद्धार गर्नुपर्ने अवस्थामा नेपाली युवा भारतमा छट्पटाइरहेका छन्’ उनले भने ।धेरैजसो रोजगारदाता कम्पनीहरूले अब फेरि लकडाउन थपिए काममा राख्न नसक्ने जानकारी गराइसकेका छन् । यदि कम्पनीले कामबाट निकालेमा सडकमा बास हुने अवस्था आउने उनले जनाए । त्यसैले नेपाल सरकारले नै समयमा उद्धार गर्नुपर्ने माग भारतमा रहेका नेपालीहरूको छ ।
प्रकाशित मितिः २ जेष्ठ २०७७, शुक्रबार ११:३५
साझा बिसौनी ।