आवतजावतमा कडाइः एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने, सबै पास रद्द

काठमाडौंः अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ । गृह मन्त्रालयले यसरी जारी भएका सबै सवारी पास रद्द गरेको छ । कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलवार दिउँसो यस्तो निर्णय गरेको हो । मंगलवार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको छ ।

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीका अनुसार बिहीवारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो । यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको छ । सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।

प्रकाशित मितिः   ३० बैशाख २०७७, मंगलवार २०:४६