निर्माण सामग्री ढुवानी गर्न संघको सिफारिस चाहिने, यस्ता पसल ११ देखि ४ बजेसम्म खुला गर्न पाइने
सुर्खेतः जिल्लामा निर्माण सामग्री ढुवानी गर्न सुर्खेत उद्योग वाणिज्य संघको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मार्फत अनुमति पाइने भएको छ । निर्माण सामग्री आयात निर्यात गर्न चाहने व्यवसायीलाई संघले दिने सिफारिसका आधारमा मात्रै जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुमति दिने भएको हो ।
कोभिड– १९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन जिल्लास्तरीय कमाण्ड पोष्टको मंगलबारको बैठकले अन्य जिल्लाबाट ल्याइने छड, सिमेन्ट, जस्तापाता, पाइप र रंगरोगन लगायतका निर्माण सामग्री ढुवानीका लागि संघले समन्वय तथा सहजीकरण गर्ने निर्णय गरेको छ । ढुवानी सिफारिस लिनका लागि भोली (बुधबार) १० बजेदेखि दिउँसो १ बजेसम्म संघको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
यस्तै निर्माण सामग्रीका पसल शनिवार बाहेक दैनिक ११ देखि ४ बजेसम्म खुला गर्न पाइने भएको छ । यस्ता पसलहरुलाई स्वास्थ्य सम्बन्धी सुरक्षा सर्तकता अपनाएर मात्रै सञ्चालनमा ल्याउन भनिएको छ । खाद्य किराना र फलफूलका पसलहरु भने साविक झै हप्तामा तीन दिन सोमवार, बुधवार र शुक्रवार विहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ ।
प्रकाशित मितिः ३० बैशाख २०७७, मंगलवार २०:१६
साझा बिसौनी ।