आइतबारदेखि बैंकका सबै शाखा खुल्ने

काठमाडौंः आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि वैशाख २८ बाट सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

अहिले बैंकका शाखाहरुले आंशिक रुपमा आलोपालो गरेर मात्रै सेवा दिँदै आएका छन् । बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार सबै ठाउँका शाखा कार्यालयहरु खोल्न सबै बैंकहरुलाई अनुरोध गरिसकिएको छ । मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बिमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सरकारी निर्णय अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने अध्यक्ष दाहालले बताए । शाखा कार्यालयहरु खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरु भने अपनाइने छ । एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् । मास्क र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने छ ।