भोलिदेखि उद्योग खुल्छन्, बजार के हुन्छ ?
सुर्खेतः सरकारले जेठ ५ गतेसम्मका लागि लकडाउन थपेको छ । बुधवारको मन्त्रीपरिषद् बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी राख्ने निर्णय गरेको हो । लकडाउन लम्ब्याउने निर्णय गरेको सरकारले भोली २६ गतेदेखि शर्तसहित लगभग सबै प्रकारका उद्योग खोल्ने र विकास निर्माणका आयोजनाको काम गर्न सकिने जनाएको छ । तर, लकडाउन खुकुलो बनाउने सरकारको निर्णयले निजी क्षेत्रमा अन्योल देखिएको छ । उद्योग खुल्ने तर तीनै उद्योगले उत्पादन गरेका वस्तु बेच्ने बजार नखुल्ने भए पछि सरकारको निर्णयको औचित्य नहुने नीजि क्षेत्रको भनाइ छ ।
उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले उद्योग व्यवसाय र अन्य विभिन्न्न आर्थिक गतिविधि सञ्चालन गर्न दिने भनिए पनि बजारका विषयमा प्रष्ट नभएकाले व्यवसायी र आमसर्वसाधारणमा अन्योल देखिएको बताए । शाही भन्छन्, ‘भोलिदेखि के गर्न पाइने हो ? के गर्न नपाइने हो ? प्रष्ट छैन । व्यवसायीमा अन्योल छ ।’ यो निर्णयले बजार खुल्ने सम्भावना नरहेको उनले बताए । ‘बजार खुल्ने सम्भावना देखिदैन । केही दिन अहिलेकै अवस्था रहन्छ,’ उनले भने, ‘पूर्ण रुपमा बजार नखुली सप्लाई नहुने भएकाले उद्योग मात्रै खोल्नुको पनि अर्थ छैन ।’ यतिबेला सबै क्षेत्र प्रभावित भएकाले कोरोना परीक्षणलाई प्रभावकारी बनाएर जोखिमको अवस्था मूल्याङ्कन गरी कम जोखिम भएका ठाउँमा विस्तारै आर्थिक गतिविधि सञ्चालन गर्दै लैजानुपर्ने अध्यक्ष शाहीले औंल्याए ।
कर्णालीमा औद्योगिक गतिविधि त्यति नभएकाले यहाँका बजार ब्यापारसँगै केन्द्रित छन् । कर्णाली प्रदेश एक साता (वैशाख २२–२८) सम्मका लागि सिल गरिएको छ । प्रदेश नै सिल गरिएको अवस्थामा यस्तो निर्णयले उद्योगहरु पनि सहज रुपमा सञ्चालन हुने छाँट देखिदैन । सरकारले उद्योग खोल्ने भने पनि सवारी साधन सञ्चालनका सम्बन्धमा भने स्पष्ट पारेको छैन । यसले गर्दा कर्मचारी तथा मजदुरहरु आउन जान समस्या हुने देखिएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बजार पूर्ण रुपमा नखुल्ने बताए । ‘अहिले जुन सेडुलमा अत्यावश्यक पसलहरु खोल्ने गरिएको छ । भोलिदेखि पनि त्यही अवस्था रहन्छ । बजार खुल्दैन,’ उनले भने । भोलिदेखि पनि यही निर्णयलाई निरन्तरता दिने उनले बताए । सुर्खेतमा अहिले खाद्यान्न लगायतका अत्यावश्यक पसल हप्ताको तीन दिन २ घण्टाका लागि खुलाउने गरिएको छ । दुग्घजन्य पदार्थ र तरकारी पसलहरु भने दैनिक दुई घण्टा खुल्ने गरेका छन् । ‘विकास निर्माणका काम र उद्योगहरु शर्तसहित सञ्चालनमा आउँछन् । जेठ ५ सम्म लकडाउन जारी रहेकाले बजार पूर्ण रुपमा खुल्दैन । माथिको निर्णय अनुसार नै हामी अगाडी बढ्छौं,’ प्रजिअ न्यौपानेले भने ।
सरकारले लकडाउनको अवधिमा औषधि, स्वास्थ्य सामग्रीजस्ता अत्यावश्यक वस्तुको उत्पादन तथा बिक्री वितरण, खाद्य वस्तु, कृषि तथा पशुपन्क्षीजन्य उत्पादन, औद्योगिक वस्तुको उत्पादन तथा बिक्री वितरण, विकास आयोजनाहरु सञ्चालनको लागि आवश्यक पर्ने निर्माण सामग्रीको ढुवानी र न्यूनतम बैंकिङ्ग तथा बित्तीय सेवालाई शर्तसहित सुचारु गर्न सकिने जनाएको छ ।
प्रकाशित मितिः २५ बैशाख २०७७, बिहीबार १६:१४
साझा बिसौनी ।