सामाजिक विकास समितिले ग-यो भर्चुअल बैठक

सुर्खेतः कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले बुधवार भर्चुअल बैठक सम्पन्न गरेको छ । समितिका अध्यक्ष राजु नेपालीको अध्यक्षतामा विद्युतीय माध्यमबाट भर्चुअल बैठक गरिएको हो ।

बैठकमा कोभिड–१९ को कारण सृजना भएको परिस्थितसँग सामान गर्न सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आगामी दिनमा तय गर्नुपर्ने नीतिगत व्यवस्थाका विषयमा छलफल भएको छ । कोरोना महामारीको कारणले मुलुक लकडाउनमा रहेको अवस्थामा महामारी नियन्त्रण तथा व्यवस्थापन कार्यमा संसदीय समितिको भूमिका थप क्रियाशिल हुनुपर्ने विषयमा बैठकमा व्यापक छलफल भएको समितिका सचिव राजेन्द्र पौडैलले जानकारी दिए ।

समितिले उत्पादकत्व बृद्धि गरी प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने साथै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तय गर्नुपर्ने विशेष कार्यक्रमका विषयमा छलफल गरेको छ । आगामी बैठकमा समितिको क्षेत्राधिकार भित्र पर्ने दुवै मन्त्रालयका मन्त्रीलाई बैठकमा बोलाउने निर्णय भएको छ ।

बैठकले समितिमा विचाराधीन रहेको स्वास्थ्य सेवा विधेयकमाथि विषय विज्ञसँग परामर्श गरी विधेयकलाई समयअनुकूल बनाउने निर्णय पनि भएको समितिका सचिव पौडेलले जनाए । भर्चुअल बैठकमा समितिका सदस्य कृष्णा शाह, कौशिलावती खत्री, ठम्मरबहादुर विष्ट, पद्मा खड्का, यज्ञबहादुर विसी, रातो कामी र सुशीलकुमार थापाको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   २४ बैशाख २०७७, बुधबार १६:५८