सरकारी कार्यालय खुले, आन्तरिक काम मात्र गरिने

सुर्खेतः कर्णाली प्रदेशमा आन्तरिक कामहरु गर्ने गरी सरकारी कार्यालय संचालन गरिएको छ । तत्कालका लागि अन्य सेवा प्रवाह नगरेर आन्तरिक काम गर्न सबै सरकारी कार्यालय खुलेका हुन् । कार्यालय खुले पनि सेवाग्राहीका नियमित काम भने गरिने छैन । लकडाउन भएपछि एक महिनायता अत्यावश्यक बाहेकका कार्यालय बन्द थिए । लगडाउनकै अवस्थामा गत बिहीवार प्रदेश विपद् व्यवस्थापन केन्द्रले प्रदेशभित्रका सबै सरकारी कार्यालय संचालनमा ल्याउने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले सरकारी कार्यालयबाट अहिले आन्तरिक काम मात्रै हुने जानकारी दिइन् । आगामी वर्षका लागि कार्यक्रम र बजेटको तयारी गर्नुपरेकाले कार्यालयहरु संचालनमा ल्याइएको उनले बताइन् । ‘चालु आर्थिक वर्षको अन्तिममा छौँ । आगामी वर्षका लागि कार्यक्रम र बजेट तय गर्नुपर्ने छ,’ मन्त्री केसीले भनिन्, ‘कर्मचारीले सुरक्षा सावधानी अपनाई काम गर्नुहुन्छ ।’

प्रकाशित मितिः   १४ बैशाख २०७७, आईतवार १३:०२