लकडाउनमा सवारी पास चाहियो ? यसरी लिन सकिन्छ

सुर्खेत : तीन साताभन्दा बढी समयदेखि देश लकडाउन गरिएको छ । अत्यावश्यक काम बाहेक मानिसहरुलाई घरबाहिर निस्कन बन्देज छ भने सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर यस्तो बेला अत्यावश्यक काम परेर सवारी साधन चलाउनै पर्नेभयो अब के गर्ने ? चिन्ता नलिनुस्, अत्यावश्यक कामका लागि सवारी साधन सञ्चालन गर्न पाइन्छ । त्यसका लागि अनलाइन आवेदन फारम भने भर्नुपर्ने हुन्छ ।

सवारी पास चाहिए अबदेखि मोबाइलफोनबाटै आवेदन दिन सकिन्छ । मोबाइलबाट १११२ मा एसएमएस पठाएपछि ईनबक्समा www.epass.moha.gov.np लिङ्क आउँछ । उक्त लिङ्क खोली मागेको विवरण भर्नुपर्ने हुन्छ । तोकिएको विवरण भरेर सेन्ड गरेपछि पास वितरण मापदण्ड अनुसार पास दिने वा नदिने निर्णय हुनेछ । सवारी पास अस्वीकृत भए जानकारी प्राप्त हुनेछ भने स्वीकृत भएको अवस्थामा मोबाइलमा कोड नम्बर आउनेछ । त्यही कोड नम्बरलाई नै सवारी पासका रुपमा प्रयोग गर्न सकिनेछ ।

सुर्खेतसहित देशभरका जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक अवस्थामा सवारी पास (अनुमति–पत्र) उपलब्ध गराउँदै आएका थिए । सवारी पास लिनेहरु प्रशासन कार्यालय पुग्दा र प्रतिक्षा गर्दा सरकारले घोषणा गरेको लकडाउन उलंघन हुने अवस्था आएपछि ई–पास को व्यवस्था गरिएको हो । गृह मन्त्रालयले सफ्टवयर निर्माण गरी मंगलवार सार्वजनिक गरपछि बुधवारदेखि देशैभर यो सुविधा लागु भएको छ । सवारी पास वितरणलाई प्रभावकारी र चुस्त बनाइएकाले अत्यावश्यक बाहेक आवेदन नदिन आग्रह गरिएको छ ।

प्रकाशित मितिः   ३ बैशाख २०७७, बुधबार १६:४२