समयमै सजग बनौं
यस वर्षको एसएलसी परीक्षा सुरु हुन केही दिन मात्रै बाँकी छ । जिल्ला शिक्षा कार्यालय एसएलसी परीक्षा सञ्चालनको तयारीको अन्तिम चरणमा पुगिसकेको छ । एसएलसी नजिकिदैं गर्दा विगतका वर्षहरूमा भएका अमर्यादित घटनालाई धेरैले सम्झिन्छन् । यस्तो घटना फेरि दोहोरिन नदिनेतर्फ पनि जिल्ला शिक्षा कार्यालयका साथै स्थानीय प्रशासन चनाखो हुन जरुरी छ । चिट चोराउन नपाएको भन्दै केही वर्षअघि पूर्वी सुर्खेतको बजेडीचौरस्थित एक परीक्षा केन्द्रमा स्थानीय र अभिभावकहरूले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको घटना सुर्खेतवासीको मस्तिष्कमा ताजै छ । उक्त घटनामा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन चार राउण्ड हवाइ फायर गर्नुप¥यो । यो त एउटा उदाहरण मात्रै हो हरेक वर्ष एसएलसी परीक्षाको समयमा विभिन्न किसिमका विकृतिहरू देखिने गरेका छन् । जसले परीक्षालाई मर्यादित हुनबाट रोक्ने गरेका छन् । चिट चोरेर भए पनि परीक्षामा उत्तीर्ण हुनुपर्छ भन्ने मानसिकता बोकेका विद्यार्थी र तिनका अभिभावकहरूको उच्छृङ्खल गतिविधिका कारण हरेक वर्षको एसएलसी परीक्षामा कुनै न कुनै विकृति देखिने गरेका छन् । परीक्षा केन्द्रहरूमा चिट चोराउनका लागि अभिभावकहरूको बाक्लो उपस्थिति देखिन्छ । शौचालय जाने बहानामा विद्यार्थीहरूले प्रश्नपत्र बाहिर पु¥याउने र बाहिर रहेका अभिभावकहरूले प्रश्नको हल गरेरभित्र पु¥याउने खेल समेत हुने गरेको छ । यसरी सहज रूपमा चिट चोर्न नपाएको खण्डमा अभिभावकहरूले सुरक्षाकर्मी र परीक्षा केन्द्राध्यक्ष तथा निरीक्षकहरू विरुद्ध जाइलाग्न समेतपछि पर्दैनन् । विगतका वर्षहरूमा यस्ता घटनाहरू पटक–पटक दोहोरिदैं आएका छन् ।
विद्यार्थीहरूले १० वर्षसम्म गरेको मेहेनत परिश्रमको मूल्याङ्कन गर्ने एक विधि हो एसएलसी परीक्षा । जो कक्षा १० मा पुगेका हरेक विद्यार्थीले दिन पाउँछन् । तर विगतदेखि नै एसएलसीलाई फलामे ढोकाको रूपमा परिभाषित गरी विद्यार्थीहरूलाई मानसिक रूपमा त्रसित समेत बनाउने गरिएको पाइन्छ । एसएलसीलाई सुन्दर भविष्यको ढोकाको रूपमा समेत व्याख्या गर्ने गरिएको छ । जसले गर्दा विद्यार्थीहरूमा जसरी भए पनि एसएलसी उत्तीर्ण गर्नुपर्छ भन्ने मानसिक दबाब पर्न जान्छ र उनीहरू चिट चोरेरै भए पनि परीक्षामा सफल हुने ध्याउन्नमा लाग्दछन् । यसले एकातर्फ शैक्षिक गुणस्तरलाई नै प्रभावित बनाउँछ भने अर्कोतर्फ विद्यार्थी र अभिभावकहरूलाई चिट चोर्ने र चोराउनेतर्फ प्रेरित गर्दछ । केही व्यक्तिहरूको यही चिट चोर्ने र चोराउने मनस्थितिले गर्दा समग्र परीक्षा केन्द्रको अवस्थालाई नै प्रभावित पार्न सक्दछ । यस्तै मनस्थितिको परिणाम हो, बजेडीचौरको घटना । उक्त एउटा घटनाले मात्र पनि समग्र जिल्लाकै एसएलसी परीक्षाको विषयमा प्रश्न उठाउने अवस्थाको सिर्जना भयो । मर्यादित र शान्तिपूर्ण हुन नसकेको आरोप खेल्नुप¥यो । उक्त घटना समग्र जिल्लाकै लागि विडम्बनापूर्ण बन्न पुग्यो ।
यसवर्षको एसएलसी परीक्षामा पनि यस्ता क्रियाकलाप हुन नदिन सम्बन्धित निकायले ध्यान नदिएमा उस्तै प्रकृतिका घटना नदोहोरिएलान भन्न सकिदैन । परीक्षालाई नमुनायोग्य, मर्यादित, स्वच्छ र शान्तिपूर्ण बनाउने प्रतिबद्धता जिल्ला शिक्षा कार्यालयले व्यक्त गरेको छ । तर कार्यालयको प्रतिबद्धताले मात्र समग्र जिल्लाको परीक्षालाई मर्यादित र शान्तिपूर्ण बनाउन भने सम्भव छैन । यसका लागि स्वयम् विद्यार्थी, स्थानीय अभिभावक, केन्द्राध्यक्ष तथा निरीक्षकहरू र स्थानीय प्रशासनको पनि महŒवपूर्ण भूमिका रहन्छ । उल्लेखित सबै सरोकारवालाहरूले प्रतिबद्धता जनाएर आफ्नो कर्तव्य पूरा गरिदिने हो भने मात्र परीक्षा शान्तिपूर्ण र मर्यादित रूपमा सञ्चालन हुन सक्दछ । विद्यार्थीहरूले चिट चोरेर भए पनि परीक्षा उत्तीर्ण गर्ने मानसिकता त्याग्नुपर्दछ भने अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई चिट चोराएर भए पनि पास गराउनुपर्छ भन्ने मानसिकता राख्नुभन्दा परीक्षा आउनु अगावै छोराछोरीलाई पढाइमा ध्यान केन्द्रित गराउने र मेहेनत गर्न लगाउनेतर्फ सोच्न जरुरी छ ।
प्रकाशित मितिः १५ चैत्र २०७२, सोमबार ०४:०५
साझा बिसौनी संवाददाता ।