१०४ जनामा कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

सुर्खेत : कर्णाली प्रदेशबाट एक सय जनामा परीक्षण गर्दासम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । सुर्खेत र काठमाडौंमा गरेर हालसम्म एक सय चार जनामा कोरोना परीक्षण गरिएको छ । तर अहिलेसम्म सबैमा नेगेटिभ रिपोर्ट आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले जानकारी दिइन् ।

प्रदेश अस्पताल सुर्खेतमा बुधवारसम्म ७३ जनाको नमूना परीक्षण गरिएको छ । त्यसअघि ३१ जनाको भने काठमाडौंबाट परीक्षण गरिएको थियो । तर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो । निर्देशक भण्डारीले प्रदेशमा कसैमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिइन् ।
तर सुर्खेतमा भएको प्रयोगशालाको क्षमता कम हुँदा परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने भएको छ । निर्देशक भण्डारीका अनुसार पाँच सय एक जनाको नमूना परीक्षण गर्न काठमाडौं पठाइएको छ ।

प्रदेशमा ल्याइएको मेसिनले दैनिक दशदेखि १५ जनासम्मको मात्र परीक्षण गर्ने क्षमता भएकाले काठमाडौं पठाउनुपरेको उनले बताइन् । भण्डारीका अनुसार जुम्लाका तीनसय २४, सुर्खेतका एकसय ६२, दैलेखको १० र कालिकोटबाट पाँच जनाको नमूना संकलन गरेर काठमाडौं पठाइएको हो ।

विशेष गरेर विदेशबाट आएकाहरुको पनि पहिचान गरेर संक्रमण परीक्षण गर्न थालिएको छ । ‘अहिले हामीले विदेशबाट आएका र कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुको परीक्षण गरेका छौँ । तर सबै रिर्पोट नेगेटिभ आएको छ’ भण्डारीले भनिन् ।

प्रकाशित मितिः   २७ चैत्र २०७६, बिहीबार ००:३६