वीरेन्द्रनगरका कर्मचारीलाई दश लाखको बिमा
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस(कोभिड–१९) नियन्त्रण अभियानमा खटिने कर्मचारीको सुरक्षाका लागि बिमा गर्ने भएको छ । कोरोना संक्रमण विरुद्धको व्यवस्थापनमा खटिने कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई नगरपालिकाले दशलाख रुपैयाँ राहत तथा क्षतिपूर्ति दिने भएको हो ।
सोमबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनकाअनुसार नगरका पदाधिकारी फिल्डमा खटिदा बिरामी भए उपचार खर्चसमेत नगरपालिकाले बेहोर्नेछ ।
यस्तै, नगरभित्र राहत वितरण र राहत कोषको खर्च एकद्वार प्रणालीबाट गर्ने गरी निर्णय भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले दुई करोड रुपैयाँको प्रकोप व्यवस्थापन राहत कोष स्थापना गरेको छ ।
प्रकाशित मितिः २४ चैत्र २०७६, सोमबार १६:५०
साझा बिसौनी ।