कर्णालीमा कोरोना कहर : डुलीहिँड्ने राउटेलाई कसरी जोगाउने ?

सुर्खेत(रासस)  :   ‘कोभिड १९’ नाम दिइएको कोरोना भइरसको सङ्क्रमणबाट यतिखेर विश्व नै आक्रान्त छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले विश्वका विभिन्न देशका ४७ हजार भन्दाबढी नागरिकको ज्यान लिइसकेको छ भने आठ लाख भन्दाबढी नागरिकलाई सङ्क्रमित तुल्याइदिएको छ ।

तीमध्ये हजारौँ व्यक्ति गम्भीर स्वास्थ्य अवस्थाकाबीच अस्पतालमा उपचाररत छन् । यो महामारीको रोकथाम र नियन्त्रणका लागि विश्वजगत प्रयासरत रहँदा नेपालले पनि यसको रोकथामका प्रयास जारी राखेको छ । रोकथाम र नियन्त्रणको प्रयासस्वरुप नेपाल सरकारले देशैभर लकडाउनको नीति लिएको छ र आज लकडाउनको दशौँ दिन पुग्दैछ ।

यसरी सिङ्गो मुलुक नै कोरोना भाइरसको सम्भावित जोखिमविरुद्ध जुधिरहेका बेला पूर्वीसुर्खेतको भेरीगंगा नगरपालिकालाई भने एउटा नयाँ खालको चुनौति थपिएको छ– फिरन्ते राउटे समुदायलाई यसको सङ्क्रमणबाट कसरी जोगाउने ?

 नेपालमा अन्यत्रजस्तै यस क्षेत्रमा पनि लकडाउनको पालना गर्ने, गराउने र महामारीबारे जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका यस नगरका जनप्रतिनिधि र कर्मचारीमाथि राउटे समुदायको स्वास्थ्यबारे एक नयाँ चुनौती थपिएको हो । यो समुदायको कुनै एकजनामा कोरोना भाइरसको सङ्क्रमण भयो भने सबै समुदायमा एकैपटक प्रसार हुनसक्ने चिन्ता यस क्षेत्रमा बढेको देखिन्छ ।

आमनागरिकले लकडाउनको पालना गरेर सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाए पनि फिरन्ते राउटे समुदायलाई भने यसको कुनै प्रवाह छैन । निर्धक्क रुपमा गाउँशहर डुल्ने उनीहरुको परम्परागत बानी र प्रवृत्तिका कारण लोपोन्मुख राउटेहरुमा कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा नगरपालिकाले देखेको छ । नगर उपप्रमुख रेणु आचार्यले यदि एकजना राउटेमात्र भाइरस सङ्क्रमित भएभने सिंगो बस्ती नै प्रभावित हुने र अन्य समुदाय (गैरराउटे) समेतलाई पनि सजिलै सार्नसक्ने चिन्ता व्यक्त गर्छिन् । “लकडाउनका कारण मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्केका छैनन् तर राउटेहरुलाई त्यसको कुनै वास्ता छैन,” उनले भनिन्, “राउटेलाई सुरक्षित राख्न सकिएन भने अहिलेसम्मका हामीले अपनाएका अरु रोकथाम र सावधानीका प्रयासहरु पनि काम नलाग्ने हुन सक्छन् ।”

भेरीगंगालाई यतिबेला राउटे समुदाय टाउको दुखाई बन्नुको कारण उनीहरुले राज्यको कानून नमान्ने भएकोले हो । उनीहरु प्रहरी प्रशासनदेखि डराउँदैनन् । राज्यको कानूनको परिधिबाट यो समुदाय बाहिरै छ । उनीहरुको समुदायका मुखियाको निर्देशन चल्छ । त्यसैले अधिकांशले अहिलेसम्म नागरिकता पनि लिएका छैनन् । आधुनिक औषधि उपचार पद्धतिमा उनीहरुको खासै विश्वास छैन । स्थायी बसोबास, खेतीबालीप्रति पनि उनीहरुको कुनै आर्कषण छैन । उनीहरुले शौचालय प्रयोग गर्दैनन् । सरसफाइमा उनीहरुको ध्यान छैन । रुखका पात जम्मा पार्छन् र यसैले बेरेर गुजुमुज्ज परेका छाप्रो (टहरा) बनाउँछन् र सबैजना एकै ठाउँमा बस्ने गर्दछन् । यसकारण पनि कुनै एकजनालाई यो भाइरसले छोयो भने यो सङ्क्रमण एकैपटक सबैमा जाने र बस्ती नै सखाप पार्नसक्ने खतरा देखिएको छ ।

एकै ठाउँमा नबस्ने, घुमफिर गर्न रुचाउने हुँदा राउटे समुदायलाई सम्भावित सङ्क्रमणको जोखिम अरु बढी हुने देखिन्छ । नगरपालिकाले लकडाउन अवधिका लागि दुई जना स्वास्थ्यकर्मी बस्तीमा खटाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बस्तीमा नयाँ मानिस प्रवेश गर्न नदिन प्रहरी परिचालन गरी निगरानी बढाएको छ । नगर उपप्रमुख आचार्यले राउटे अगुवाहरुले ‘नयाँ रोग फैलिएको छ रे ?’ भनेर सोध्ने गरेको बताउँदै भनिन्, “कोरोना भाइरस हो, त्यसबाट तपाइँहरु पनि जोगिनुपर्छ भन्दा हामीलाई त केही हुँदैन भन्छन् ।” आफूले पृथ्वीलाई केही नबिगारेकाले यस्तो महामारीले आफुहरुलाई कुनै असर नपर्ने राउटेहरुले बताउने गरेको आचार्यको भनाइ छ ।

महामुखिया महिनबहादुर शाहीले रोगव्याधीले नछुने भन्दै यदि कुनै समस्या देखिएमा जडिबुटी खाएर निको पार्ने बताए । उनी भन्छन् “हामी जङ्गलका राजालाई सहरको महामारीले छुँदैन, बरु सरकारले जङ्गलका मान्छे भनेर उल्टै राउट्यालाई हेला ग¥याको छ, त्यसैमा दुःख लाग्याको छ ।” केही अघि वीरेन्द्रनगरको एक कार्यक्रममा महामुखियाले भनेका थिए, “राउट्यालाई राउट्या हुन दिनुप¥यो, हामी जनता हुन सक्दैनौँ ।” जङ्गल छेउछाउ मानिसको बस्ती बस्न थालेपछि कन्दमूल, गुनाबाँदर पाइन छाडेको, आफूले बनाएका काठका सामग्रीले बजार नपाएको राउटे अगुवाहरुको गुनासो छ ।

सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर–१२ बाट यही चैत ८ गते राउटेहरु भेरीगंगा नगरपालिका–२ सत्तरी नजिक खोलाकिनारमा बसाइँ सरेका छन् । समुदायका कुनै सदस्यको मृत्यु भएमा वा बस्तीमा अन्य कुनै समस्या आइपरे बसाइँ सर्ने चलन छ । नगरपालिकाले राउटेहरुलाई लकडाउनको अवधिमा बाहिर जान नदिन खाद्यान्न वितरण गरेको छ । कोसी, मुधुसजस्ता काठे सामग्री बनाएर बिक्री गर्ने या अन्नसँग साट्ने राउटेको दैनिकी हो । “लकडाउनको अवधिमा बस्तीबाहिर जान नपरोस् भनेर चामल, दाल, नून, तेल लगायतका खाद्य सामग्री वितरण गरेका हौँ,” नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले भने, “चैत महिनासम्म पुग्ने खाद्यान्नको व्यवस्था गरिदिएका छौँ, तत्काल खाद्यान्नकै लागि बस्ती बाहिर जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ ।” प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा नगरपालिकाले ४९ घरधुरी परिवारलाई सोमबार बस्तीमै पुगेर खाद्यान्न वितरण गरेको थियो ।

राउटेहरु हाल १५० को सङ्ख्यामा छन् । वर्षेनि घट्दो राउटेको जनसङ्ख्याप्रति न राज्यको चासो छ नत आदिवासी जनजाति क्षेत्रका अगुवाहरुको नै । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचिकृत ५८ जनजातिमा राउटे पनि पर्दछन् । तर यिनीहरु आदिवासी जनजाति उत्थानको बहसबाट अलग्गै छन् । आम जनजातिभन्दा हजारौँ गुना पछाडि परेका छन् । लोकतान्त्रिक गणतन्त्र स्थापनापछिको सरकारले लोपोन्मुख जातिको रुपमा सामाजिक सुरक्षा भत्ता राउटेलाई उपलब्ध गराउन थाल्यो । शुरुमा रु. ५०० बाट बढाएर हाल प्रति व्यक्ति मासिक रु. १००० पु¥याइएको छ ।     

सरोकारवालाले एकातिर वर्षेनि राउटेको घट्दो जनसङ्ख्या र अर्कोतर्फ कोरोना भाइरसजस्ता सरुवा रोगको सङ्क्रमण फैलिएमा राउटे बस्ती शुन्य हुनसक्ने खतरा औँल्याएका छन् । राउटे उत्थान प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष सत्यदेवी अधिकारी (खड्का) ले लकडाउनको अवधि सकिएपछि पनि यो समुदायलाई कोरोना भाइरसको जोखिमबाट सुरक्षित राख्न चुनौति रहेको बताइन् । “सरकारले दैनिक आवश्यक पर्ने खाद्यवस्तु, लत्ताकपडा, त्रिपाल समयमै बस्तीमा पु¥याउन सके केही सहज हुन्छ,” उनले भनिन् । बस्तीमा जथाभावी अन्य मानिसलाई प्रवेश गर्न नदिने, स्वस्थकर खाना, नियमित स्वास्थ्य जाँच, सरसफाइमा उत्पे्ररित गर्नसके सरुवाजन्य रोगको सङ्क्रमणबाट बचाउन सकिने अधिकारीको भनाई छ ।

खानपिन र हावापानीमा आएको परिवर्तनका कारण राउटेहरुको स्वास्थ्यमा पछिल्लो समय विभिन्न समस्या देखिने गरेको विज्ञहरु बताउँछन् । प्रतिष्ठानका अध्यक्ष अधिकारीका अनुसार पहिले पहिले राउटेहरु जङ्गलमै आश्रित थिए । कन्दमूल खान्थे । गुनाबाँदर सिकार गर्थे । गाउँमा अर्गानिक खाद्यवस्तु पाइन्थ्यो । अचेल बजारमा पूर्ण निर्भर हुनुपरेको छ । बजारकै प्रभावले मदिराको लतमा फसेका छन् । खानपिनमा ध्यान नदिँदा बालबालिका कुपोषित हुदैछन् । मौसमअनुसार ज्वरो, रुघाखोकी, पेट दुख्नेजस्ता समस्याले ग्रसित छन् । बदलिँदो जीवनशैलीका कारण राउटेहरुमा महामारीजन्य रोगको छिट्टै सङ्क्रमण हुनसक्ने उनले बताइन् ।

राउटे जातिको आनुवंशिक तथा जीवशास्त्रीय अध्ययन गर्नुभएका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले खानपिनले नै रोग प्रतिरोधात्मक क्षमता निर्धारण गर्ने बताउँ५न् । “कतिपय जातिसँग वंशाणुगत रुपमै रोगविरुद्ध लड्ने क्षमता उच्च हुन्छ, त्यो समुदायको भूगोल, खानेकुरा, प्रकृतिसँगको अन्तरसम्बन्ध कस्तो छ त्यसमै भर पर्छ,” उनले भने “मेरो अध्ययनमा राउटेलाई कतिपय रोगले छोएको पाइँदैन, यो जातिमा मलेरियाविरुद्ध लड्नसक्ने जीनको विकास भएको छ ।” वन्यजन्तुबाट उत्पत्ति भएका भाइरसले वन्यजन्तुसँगै नजिक भएकालाई असर गर्ने सम्भावना कम रहेको उनले बताए । यद्यपि, यसको पुष्टिका लागि डिएनए परीक्षण गर्नुपर्ने सिंहको भनाई छ । जापानको टोकियो विश्वविद्यालय ‘एथ्नोजेनेटिक एण्ड एथ्नोबायोलोजिकल स्टडिज अफ नेप्लिज इन्डिजिनियस पिपुल’ मा विद्यावारिधि गर्नुभएका उपकुलपति सिंहले विश्वविद्यालयले ल्याब बनाएपछि यस्ता विषयको परीक्षण पनि सुरु गर्ने जानकारी दिए ।