लकडाउन कि इज्जत डाउन ?


सुरु आफैबाट गरियो । कोरोनाबारे केही लेखुँ लागिरहन्छ । पत्रिका बन्द गर्नुपरेको पीडासँगै सतर्कता अपनाउन अपिलसहितको ब्लग लकडाउनको दोस्रो दिन लेखें । त्यसयता सामाजिक सञ्जालमा अरुका पीडा देखियो । रमिता हेरियो । जागिर जिउँदो राख्न फाटफुट समाचार पनि लेखियो/लेखाइयो । बेला–बेला वेवसाइट अपडेट भइरहन्छ । यतिबेला देश र आम नागरिकका लागि हामीले गर्न सक्ने यही त हो ।

बाँकी काम गर्ने कुनै मेलोमेसो जुरेको छैन । कारण अल्छी । त्यो पनि कामै नभएर । काम गरेर थाकेपछि अल्छी लाग्ने हो या कामै नभएर अल्छी भइने हो ? हप्ता दिन बढीको लकडाउन पनि म अन्योलमै छु । सरकारले घरबाहिर ननिस्क भनेपछि झन् के चाहियो ? बेडमै पल्टियो, ओल्टियो, कोल्टियो । धन्न मोबाइल छ । ल्यापटप छ । र, केही थान पुस्तक छन् । केही मनपर्ने लेखक÷पत्रकारका स्टोरी, आर्टिकलका लिङ्क आइरहन्छन् । जस्तै मोहन मैनाली, विनु सुवेदी, दुर्गा कार्की, श्रेयज सुवेदी, बबिता राई, सरस्वती प्रतिक्षा आदि । नत्र लकडाउनमा पनि लफाङ्गिएकै हुइँन्थ्यो होला ।

फेसबुक छ । ट्वीटर पनि छ, भएर के गर्नु देशलाई संघीयता घाँडो भएझैं मलाई पनि यो गलपासो मात्रै भएको छ ।

गत आवदेखि कोठामा माकुराले लगाएको जालो पनि छ । सफा नगर सरकारले भनेको छैन । जाँगर चले पो । कि तपाईंको हालत पनि त्यस्तै त छैन ? नपत्याए एक पटक मोबाइल नहेरी माथि हेर्नुस त, मजस्ता फुर्सदिला अल्छीहरूले । कि यतिका लागि फेरि अर्को छुट्टी चाहिने हो ? फुर्सदमा अल्छी लाग्ने हो कि अल्छीलाई फुर्सद नहुने हो ? यहाँहरू पनि अड्कल लगाउँदै गर्नुहोला । लकडाउन अझै दुई–चार हप्ता थपियोस् मात्रै यस्ता जाला कसो नफालिएला । कति जालो बनाइराख्ला । यतिका दिनसम्म यो माकुरोले पनि हामीबाट आराम गर्ने आइडिया कसो नसिक्ला ।

यो ब्लग लेख्दा पनि अल्छी लागेकै छ । गफ हो, अल्छीलाई गफ दिन खासै अल्छी पनि लाग्दैन । मोबाइल फोनको स्क्रिन तलमाथि सार्नुस् मेरो गफमा गाँभिनुस् । थाहा छ, तपाईं पनि फुर्सदिलो अल्छी नै हो । नभए यस्ता ब्लग जाँगरिलाले किन पढुँन । पढ्दैनन् ।

अब सबैको ‐संघीय) सरकारका कुरा गरौं, त्यसपछि हाम्रो (प्रदेश) र राम्रो (स्थानीय) सरकारका कुरा पनि गरौंला ।

हाम्रो एउटा उखानलाई हल्का मिलायो भने ‘खाने मुखलाई कोरोनाले छेक्दैन’ भन्ने हुँदो रहेछ । उखान टुक्का पनि समयानुकूल बनाउँदै लिनु प¥यो नि । नत्र यीनलाई वर्षांैदेखि दिमागमा बोकिराख्नु के जरुरी छ ।

सबैको सरकारले स्वास्थ्य सामग्री खरिदमा घोटाला ग¥यो भन्ने सुन्न÷पढ्न पाइएको छ । मन्त्रीले पैसा खाएको, नखाएको पचाएको वा पचाउन नसकेको आगामी समयले पर्दाफास गर्ला । यस्तो बेला खाएको प्रतिपक्षबाहेक कसैले देख्दैन । फेरि अरुले देख्नलाई अनुभव पनि चाहियो, अनुमान गरेर मात्रै पनि भएन । प्रश्न भने जरुर उब्जिएको छ, सरकारले कतै लकडाउनलाई लक्की टाइम ठानेर इज्जत डाउन त गर्दै छैन ?

विश्व यतिबेला कोभिड–१९ नाउँको भाइरसबाट त्रसित छ । चपेटामा छ । यसको संक्रमण विशेक भएको छैन । दिन दुई गुणा र रात चौगुणा फैलदो क्रममै छ । चिकित्सा विज्ञान हालकायल छ । महाशक्ति राष्ट्र भनिनेहरूले यही सुक्ष्म जीवाणुसँग हार्नु परेको छ । यिनले पनि यो महामारी तोड्न सकेका छैनन् ।

शत्रु चाहे सुक्ष्म किन नहोस् उसलाई कम आँक्न हुन्न । परिस्थितिले संसारलाई यस्तै पाठ सिकाइ दिएको छ । यसलाई हतियारले हान्न मिल्दैन । पक्रन सकिदैंन । त्यसैले त यी देशहरू जाबो आँखाले देख्न नसकिने भाइरसको संक्रमणसँग जुध्न नसकेर बिमार छन् । थला परेका छन् । गरुन के ? उपाय पनि त केही छैन ।

यो के आइलाग्यो कुन्नि ! भयावह संकट भइगयो । विश्व आज शताब्दीकै विपद्मा छ । बिमार पर्नु र मर्नु मान्छेका लागि सामान्य भइरहेछ ।

नेपालमा पनि यसको संक्रमण देखिएको छ । आज ‐चैत १८) मध्यान्हसम्म पाँच जना संक्रमित भेटिएका छन् । नजाने, यस्तै संक्रमित अरु कति होलान् । लक्षण देखिनै आधा महिना लाग्छ । संक्रमणले कतिलाई भेटाइसक्यो होला । किन पनि यो आशंका गर्न सकिन्छ भने कोभिड–१९ को संक्रमण बढेपछि प्रभावित देशहरूबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेश फर्किएका छन् । यीमध्ये न्यून संख्यामा क्वारेन्टाइनमा छन् । अरु सबै सहर हुँदै गाउँ पसेका छन् । जसले गर्दा संक्रमणको सुई, सहरभन्दा बढी गाउँतिरै सोझिएको छ । नेपालमा अहिलेसम्मको संक्रमितको ‘ट्राभल हिस्ट्री’ ले भन्छ– विदेशबाट आएका नै संक्रमणको पहिलो जोखिममा छन् । यी पाँच जना पनि केही दिन पहिले विदेशबाटै फर्किएका हुन् ।

औषधिमूलो पत्ता लागेको छैन । यसबाट जोगिने एउटै सर्त सजकता हो, मानवीय दूरी कायम गर्नु । मानवीय सम्पर्कबाट संक्रमणको दर उच्च हुने हुँदा मान्छेले मान्छे नभेट्नु ।

देश लकडाउन छ । यही अवस्था रहे महिनौं लम्बिन सक्ने छाँट छ । घरबाहिर निस्कन रोक छ । कोरोनाको कृपा, कर्णाली प्रदेश उच्च जोखिममा हुँदाहुँदै पनि अहिलेसम्म यसले कसैलाई भेटाइहाल्न सकेको छैन । कामना छ, यहाँ नदेखियोस् । नभेटियोस् पनि । आखिर हामीले गर्न सक्ने यही कामना न हो ।

दिनभर मजदुरी नगरे बिहानसाँझ हात–मुखको भेट नहुने परिवारहरू पनि छन् । तिनलाई रोजीरोटीको समस्या छ । तैपनि जसोतसो कोठामा थन्किएकै छन् । उनीहरूलाई बाहिर निस्कनु र भिडभाड गर्नु संक्रमण फैलाउन जिम्मेवार हुनु हो भन्ने थाहा छ । एक जनाको असावधानीले देशै अप्ठ्यारोमा पर्ने यिनले बुझेका छन् । भोकको ज्वाला पानीले निभाएर भए पनि यी जिम्मेवार नागरिक बन्दै छन् । तर, विडम्बना के छ भने जसले नागरिकलाई बाहिर ननिस्कन भनिरहेका छन् । तिनै भने आफूचाहिँ सजग छैनन् । यिनलाई लागेको छ हामी जत्तिको मान्छेलाई के कोरोनाले भेटाउँला । त्यसैले त मन्त्रालय र क्वार्टरमा हुलका हुल मान्छे बोलाएर अंगालो हालेकै छन् । पास बनाएर मतदाता गाउँ पठाएकै छन् ।

…रमिता छ ।

मानौं यिनलाई दशैं आएको छ । अनुगमन र सहयोग संकलनका नाममा हुल बाँधेर हुर्रिएकै छन् । जनताले मास्क नपाए पनि गलबन्दीले मुख छोपेकै छन् । सालका पात टाँसेर मुकुटो बनाएकै छन् । कमसेकम सजक त छन् । आखिर नेपाली न हुन्, गर्छन् ।

‘मास्क लगाऊँ, घर बाहिर ननिस्क, भिडभाडमा नजाऊँ, कोरोना भाइरस सर्छ,’ सरकारले यसै भनेको छ । अर्थात् यी रमितेले नै प्रदेशवासीका लागि दिँदै आएको सन्देश पनि यही छ । भएर मात्रै के गर्नु ? जनता जोगिए मात्रै पुग्छ ? आफ्नो बानी काहीँ नजानी, यिनले जे गरे पनि हुन्छ ।

जनताले लकडाउनको पालना गरेनन् । अटेरी भए । यसलाई पनि एक हदसम्म स्वभाविकै मान्न सकिन्थ्यो । तर यी अराइसिकाइ गर्नेकै यो तरिका हो के ? यस्ता अस्वभाविक हर्कतलाई के भन्ने ? तीन फिटको दूरी कायम गर्नुपर्ने हामी सर्वसाधारणले मात्रै हो ? रोग र संक्रमणले कति बेला कसलाई भेटाउँछ, कसैले अनुमान गर्न सक्छ ? सकिँदो हो त बेलायतका प्रधानमन्त्री बोरिस जोनसन कोरोना संक्रमित हुने थिएनन् । रोगले वर्गीय विभेद गर्दैन । पद र पावर जान्दैन । सानो ठूलो मान्दैन । भूगोल भन्दैन ।

राम जाने…, यसको चंगुलमा जो पनि पर्न सक्छ । यी पावरवालालाई पनि संक्रमण देखिन सक्छ । हेलचक्य्राइँ गरेपछि जोखिम पनि त यिनैलाई बढी हुने भयो ।

सूचना प्रविधिको युग छ । सहयोग आदान–प्रदान गर्न दुवै पक्ष भेट हुनैपर्छ भन्ने छैन । त्यो पनि चेक लिन/दिन । बैंकमा डिपोजिट गरिदिए हुने कामलाई फेसबुकमा असरल्ल पार्न हुल जम्मा गरेर हात मिलाउनै पर्ने कुम जोड्नै पर्ने के छ ? सर्वसाधारणलाई सामाजिक सञ्जालमा फोटो राख्दा त्यसले के सन्देश दिन्छ ? कि सरकारलाई सहयोग दिँदा टाँसिन पाइने तरकारी किन्दा र बाटोमा हिँड्दा मात्रै दूरी ‘मेन्टन’ गर्नुपर्ने हो ? लिँदा नजिक दिँदा टाढा गर्दैमा कोरोना संक्रमणको जोखिमबाट बच्न कसरी सकिएला खै ?

हामी नेपालीको एउटा काइदाको बानी छ । आफ्नाई गुन लगाइहाल्ने, परिस्थिति चाहे जस्तोसुकै किन नहोस् ! यो गुन लगाउने काइदाले सधैं फाइदा गर्छ भन्ने पक्कै छैन । जस्तो यस पटक मान्छे गाउँ पठाएर लगाएको गुन ।

भारतबाट आएका कर्णालीवासीलाई पास बनाएर रातारात सयौंको संख्यामा गाउँ पठाइयो । यो लकडाउनकै बेला गरिएको मन्त्रीस्तरीय काइदा हो । प्रदेश राजधानीमा यिनकै लागि क्वारेन्टाइन बनेका छन् । त्यहाँ बसौं/बसालौं । संक्रमण आए–नआएको जाँच पड्ताल गरौं । ढुक्क हौं । अनि मात्रै गाउँ पसौं, परिवारसँग बसौं । प्रदेशबाट नचाहेर ल्याएको रोगको नासो गाउँ लगरे किन बाँड्ने ? यसले हामी कसैलाई फाइदा गर्दैन । न आउनेले बुझे नत पठाउनेले जाने । बस् यिनहरूलाई यति थाहा छ, बसमा हुलेर गाउँ पठाइदिए गुन मान्नेछन् । अर्को चुनावमा भोट हान्नेछन् ।

कोरोना संक्रमितको ग्राफ उक्लिदै गरेको भारतबाट त्रासले भागेर आएकालाई विना चेकजाँच सिधै घर पठाउनुले फाइदा गर्दैन । करामत गर्छ । चुनावताका भोटका लागि मतदाता ओसारे जस्तो अवस्था अहिले होइन । प्रियजनको मृत्युमा आँशु बगाउँदा पनि तीन फिट पर रहनुपर्ने बेला हो यो । रोगलाई तिरस्कार गर्दा रोगीलाई माया गर्न पनि नपाइने अवस्था हो । गर्नुहुन्छ के, नजिक गए आफैलाई सर्छ । एक दुई हुँदै देशै थला पर्छ ।

हाम्रोतिर अर्को रमिता यतिबेलै छ, राहत बाँड्ने र टिठ मान्नेको । विशेषगरी लकडाउनले सुनसान र रित्तो सडकमा खटिएका प्रहरीको दया मान्नेहरू धेरै छन् । यिनलाई फलफूलदेखि नास्ता पानी बाँड्नेको कमी छैन । तछाडमछाड छ । भिड देखिन्छ । प्रहरीको दयाभन्दा चाउचाउ र पानीको बोतल सहयोग गरेको फोटा पोष्ट्याउने होडबाजीले धेरैलाई दानी बनाइदिएको छ । ‘लाइट कम फोकस ज्यादा’ भनेको यही त होला ?

नबुझेको कुरा– प्रहरी र स्वास्थ्यकर्मीले जसले जे दिए पनि मास्क खोलेर मुस्कुराउँदै किन लिनु ? के यिनलाई भाइरस सर्ने जोखिम छैन ! यस्ता असावधानीले यिनै बिरामी परे हाम्रो हालत के हुन्छ ? जनताको स्वास्थ्य र सुरक्षा कसले हेर्छ ?

जसको काम जे हो उसले त्यही गर्ने हो । पेसागत धर्म पनि यही नै हो । यो टिठ मान्ने विषय होइन । तपाईंलाई यी शब्द पढ्दा ज्यादै झुर र असान्दर्भिक पनि लाग्लान् । किनकी समय त्यस्तै छ । प्रहरी हाम्रो साथी खासमा यस्तै बेला भएको छ । स्वास्थ्यकर्मीले पूरा समय ड्यूटी यतिबेलै निभाएका छन् । जो होस्, सत्य के हो भने उसले आफ्नो ड्यूटी मात्रै निभाएको हो । छुट्टै परोपकार केही गरेको होइन । छैन । यस्तै विषयमा चासो दिएर भावनामा बग्दै संक्रमणको भयावह निम्ताउने छुट कोही कसैलाई छैन । यो सावधानी अपनाउने बेला हो । उट्पट्याङ गर्ने र मुर्खता देखाउने उचित समय विल्कुलै होइन । यस्तो अवस्थामा आफ्नु ड्यूटी निभाउँदैमा कोही विचरा हुँदैन न त कोही साहसी बन्छ ।

उता स्थानीय सरकार कोरोना संक्रमण भित्रिन नदिन स्थानीय शैलीमै जुटेको छ । कतै दुम्सी तर्सानेजस्ता संरचना बनाइएका छन् । त्यो पनि जंगलको बीचमा । जसको नाम क्वारेन्टाइन राखिएको छ । जनतालाई चित्त बुझाउने बाटो, गाउँमा सरकार छ । कम्तीमा यति काम त भएको छ । नभए जीवनजल पाउन पनि २५ दिन कुर्नु परेका घटना देख्ने, सुन्ने र भोग्ने तपाईं हामी नै होइन र ?

अन्त्यमा,

भाइरसको संवेदनशीलता र हामीले अपनाएको फितलो, कमजोर, रमिते अझखभनौं इज्जत डाउन हुने खालको सतर्कताले कोरोनाविरुद्ध लड्न सकिएला ?