ब्लग

‘पार्टीकै झण्डा भयाको मास्क दिया पनि हुन्या छियो’

लक्ष्मीप्रसाद पौडेल

अहिले कोरोना भाइरस(कोभिड–१९)ले विश्वलाई नै त्राहिमान बनाइरहेको छ । नेपाल पनि यसबाट पर छैन । कर्णाली प्रदेश अछुतो रहने पनि कुरै भएन ।

नागरिकमा त्रास फैलिएको छ । त्राससँगै सचेत पनि छन् । सकेको/जानेको सतर्कता अपनाइरहेका छन् । त्रासले नै मानिसहरुलाई सचेत हुन प्रेरित गर्दछ सायद ।

प्रदेश सदरमुकाम सुर्खेतको वीरेन्द्रनगरमा मात्र होइन उपल्लो भू–भागमा रहेका नागरिकहरु पनि कोरोनालाई लिएर सजग छन् । हाम्रो यात्राका क्रममा यस्तै देखियो ।

मुलुक लकडाउन हुनुभन्दा केही दिनअघि मात्रै हाम्रो यात्रा तय भएको थियो । गन्तव्य थिए, विकट मानिएका तीन जिल्ला – कालीकोट, जुम्ला र मुगु ।

मुकाम छोडेर हामी दैलेख हुँदै उकालो चढ्यौं । कोरोनाको त्रास हामीभन्दा पहिल्यै उक्लिसकेको रहेछ । बाटोमा धेरैजसो मानिसले मास्क लगाइरहेका देखिए । मास्क प्रयोगको अवस्था हेर्दा बरु यता प्रदेश राजधानीमा धेरैको ध्यान गएको देखिदैनथ्यो तर गाउँबासी सचेत नै देखिन्थे । खैर प्रयोग गरिएका मास्क कोरोना संक्रमणबाट जोगाउन पर्याप्त भने होइनन् ।

हामीले यात्रा सुरु गरुञ्जेलसम्म नेपालमा कोराना संक्रमण एक जनालाई पनि भएको थिएन । प्रदेश राजधानी सुर्खेतमा पनि कोरोनाको हल्ला चलेको थियो । स्कुल–कलेजहरु बन्द भएपनि चहलपहल घटेको थिएन । सर्जिकल मास्कको कृत्रिम अभाव सिर्जना भएको थियो । धेरैले मास्कको प्रयोग गरेको पनि पाइदैनथ्यो ।

केही दिनअघि एकजना डाक्टरको अन्तर्वार्ता सुनेको थिएँ । मास्कको प्रयोगबारे उनले भनेअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न सर्जिकल मास्कबाहेक अन्य सधारण मास्कको प्रयोग गर्नुको अर्थ नभएको प्रष्ट पारेका थिए । उनले भनेअनुसार साधारण मास्कको प्रयोग केवल धुवाँ, धुलोबाट बच्नमात्रै हो । अर्थात साधारण मास्कको प्रयोग गर्नु र नाक–मुख गलबन्दीले छोप्नु उस्तै हो ।

कालीकोटदेखि जुम्लातर्फ यात्रा गर्दै गर्दा हामिले फाटफुटबाहेक सबैको मुखमा मास्क देख्यौं । तर सर्जिकल मास्कको प्रयोग गर्नेहरु एकदमै कम थिए । अधिकांशले साधारण मास्कको प्रयोग गरेका थिए र बाँकीले मुखमा पछ्यौरी वा गलबन्दीले छोपेका थिए ।

हामीहरुप्रति उनीहरु सशंकित देखिन्थे । आफ्नो ठाउँमा नयाँ मान्छे आउँदा अलि शंका मान्नुको कारण पनि कोरोना भाइरस नै थियो । अर्थात उनीहरु कोराना भाइरसप्रति अनभिज्ञ नभइ सचेत छन् भन्ने प्रमाण हुनसक्छ, यो ।

मुगु जिल्लामा प्रवेश गरेसँगै हामी जब छायाँनाथ रारा नगरपालिकाको एउटा चिया पसलमा रोकियौं । करिब पाँच वर्षको बालकले अफ्ना अभिभावकलाई मास्क किनिदिन आग्रह गर्दै थिए । उनका अभिभावकले पनि सर्जिकल मास्कको विकल्पमा गलबन्दी र साधारण मास्कको प्रयोग भने गरेका थिए ।

सर्जिकल मास्क किन्न प्रयास नगरेका पनि होइनन् । मास्क किन्न मुगु जिल्लाको सदरमुकाम गमगढि गएकी मानकला रावलले यसअघि दश रुपैंयामा पाइने मास्कलाई तीन सयदेखि चार सय रुपैयाँसम्म पर्ने गरेको बताइन् । तर केही दिनयता त त्यही मूल्यमा पनि सर्जिकल मास्क नपाइएको उनीहरुले बताए । अवसरवादी व्यवसायीहरुको कालोबजारका कारण हो या साँच्चिकै मास्क अभाव भएर हो, त्यो चाहीँ हामीले पत्ता लगाउन सकेनौं । तर कोरोना भाइरसबारे त्यहाँका नागरिकहरु त्रसित छन् भन्ने उदाहरण फेला पा¥यौं ।

त्यतिमात्र हैन उनीहरु हाम्रो टिमबाट पनि सजग थिए । हामी पनि सजग हुने नै भयौं ।

भन्दै थिए ‘कोरोनाबाट कहरी बच्ने भनी अचेल फोनाउँदो पनि भन्नोछ । कैकन फोन अ¥यो भने घण्टी पनि त्यही बज्दोछ ।’

कतिपयलाई मास्क नपाएर छट्पटी भएको थियो । ‘हामीले मास्क खोज्दा पाइया छैन । यो बालख मास्क नभई हुँनैन भनी हटायाको छ । हामीकन पनि चाहियाको छियो । अस्तिउँदो त गमगढीमा तीन सयमा पाइनो छियो । आजकल त पाइनैन ।’ आफ्नो नातिलाई देखाउँदै छायाँनाथ रारा नगरपालिका निवासी मानकला रावलले हामीसँग भनिन् ।

अर्का एक युवकले भन्दै थिए, ‘चुनावा बेला पार्टीको झण्डा र चिन्ह भएका टिसर्ट बाँड्दा छिया नेताहरु । अहिले कहाँ गया पत्तो छैन । हामिकन बरु पार्टीको झण्डा भएको भएपनि मास्क दियाभए राम्रो हुने छियो ।’

उनको आशय थियो नेपालले चीनलाई समेत सर्जिकल मास्क पठाएको थियो । तर अहिले आफ्नै नागरिकहरुले मास्क अभाव खेपिरहनु परेको छ । चाहे नेपाली कांग्रेस होस् या नेकपा, चाहे अन्य राजनीतिक दलहरु जसले चुनावताका करोडौंका टिसर्ट र फ्लेक्सहरु बनाउँछन् । जसको प्रयोग राम्ररी हुँदैन । तर अहिले कोरोनाभाइरसँग जुध्न नेपालीहरुलाई मास्क अभाव भइरहेको छ । जुन उनीहरुले निर्वाचनको समयमा खर्चिने टिसर्ट भन्दा दशौ‌ं गुणा कम खर्चिला छन् । चुनावका बेला छापिएका टिसर्टभन्दा यतिबेलाका मास्कले जनताहरुमा पनि छापो उत्पन्न हुने थियो । यही आशा हो कर्नालीबासीको पनि । उनीहरुले भन्दै थिए यतिबेला बरु पार्टीकै झण्डा र चुनावचिन्ह भएका मास्कहरु सकेसम्म निःशुल्क वितरण गर्न सके राम्रो काम देखिने थियो, जनताको पनि माया पाउने थिए ।

यसर्थ कर्णाली जति विकट छ त्यो आफ्नो ठाउँमा छ । तर कर्णालीबासी कोरोना भाइरसप्रति निकै नै त्रसित छन् । जति सहरका नागरिक त्रसित छन् त्योभन्दा धेरै गाउँ नै त्रसित छ । र सचेत पनि ।

अब मास्क प्रयोगको कुरा गरौं । यो समयमा मास्क प्रयोग नगर्ने कर्णालीबासी बिरलै होलान् । तर सर्जिकल मास्कको प्रयोग गर्नेहरु पनि असाध्यै कम छन् । गुजाराको रुपमा प्रयोग गर्न सकिने साधारण मास्कको अचेल कमाउधन्दा चलेको छ । तिनै मास्क बाँड्नेहरुको होडबाजी चलेको छ । चोक–चोक र गल्लीहरुमा अचेल मास्क बाँड्नेहरु भेटिन्छन् । त्योमात्र कहाँ हो र ? गाउँ–गाउँ र टोल– टोलमा मास्क समाजसेवीको बिगबिगी छ । एउटा जिज्ञासा : के मास्क बाँड्नेहरुलाई कोरोना भाइरसबाट बच्न सर्जिकल मास्क नै प्रयोग गर्नुपर्छ भन्ने थाहा छैन होला ? कि थाहा भएर पनि बुझ पचाएको ?

मेरो घरमा करिब ३० वटा मास्कहरु छन् । ति सबै मास्क बाँड्न आएकाहरुसँग मागेर राखेका हुन् । तर बिडम्बना ति सबै साधारण मास्क हुन् । अनि ज्वरो आएको छ भने ज्वरो आएकै औषधि खुवाउँदा बेस होला । धामिझाँक्रि गराउनु मुर्खता हुन्छ । तसर्थ कोरोनाविरुद्ध मास्क समाजसेवा गर्नेहरुलाई मेरो बिन्ती छ, कृपया सर्जिकल मास्कबाहेक अन्य मास्क नबाँडिदिनुहोला । नेपालीहरु त्यति अज्ञानी पनि छैनन् । बरु साधारण मास्कको अलवा मुखमा गलबन्दीले छोप्छन् ।

लकडाउनको समय छ । म घरमै बसेको छु । बाहिर निस्केको छैन । सर्जिकल मास्कको खोजिमा छु । मलाई मास्क दिएर सेवा गर्न चाहानुहुन्छ भने आभारी हुने थिएँ । म कोरोनाबाट बच्ने हो त्यसैले सर्जिकल मास्क दिनुहोला । साधारण मास्कको अलवा मैले मुखमा गलबन्दीले छोप्न पनि त सक्छु । अर्थात अहिले म बाहिर निस्किदैन । धुलोधुवाँबाट बच्न लगाउने ति साधारण मास्कहरु मेरा लागि स्वीकार्य छैनन् ।

प्रकाशित मितिः   १८ चैत्र २०७६, मंगलवार १६:४६