घरघरमा पुगेर सावुन र मास्क बाँड्दै जनप्रतिनिधि

मानबहादुर कुँवर/जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले सबै वडाका नागरिकको हात-हातमा पुग्ने गरी मास्क र साबुन वितरण गरेको छ । गाउँपालिकाका ६ वटै वडाका प्रत्येक बस्तिका नागरिकको घरैमा पुगि पन्ध्र हजार थान सर्जिकल मास्क र साढे तीन हजार थान सावुन वितरण गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले  खलंगामा सर्जिकल मास्कको अभाव भएपछि नेपालगंजबाट दश हजार मास्क, चार हजार सावुन , सेनिटाइजर र केही मेडिकल सामग्री लिएर आज पुगेको बताएका छन् । घरघरमा पुगेर नियमित सावुनपानीले हात धुन, मास्क लगाउन, तातोपानी तथा झोलिलो चिज खाने जस्ता बानी बसाल्न जनचेतना जगाईएको अध्यक्ष रावलले बताए ।

कोरोना त्रासको बेला सावुन र मास्क पाएपछि स्थानीय खुशी भएका छन् । सिंजा गाउँपालिकामा रहेका ६ वटै गाउँमा क्वारेन्टाईनको व्यवस्था समेत गरिएको छ । गाउँपालिकाको वडा नं‍ ५ र ६ मा १६ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।

प्रकाशित मितिः   १७ चैत्र २०७६, सोमबार १८:१६