सुर्खेतमै कोरोना भाइरसको परीक्षण गर्ने तयारी

सुर्खेत : कोरोना भाइरसको परीक्षण अब सुर्खेतमै गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको आशंका गरिएका बिरामीको परीक्षण सुर्खेतमा पनि गर्ने तयारी गरेको हो ।

मन्त्रालयअनतर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हुने कोरोनाको परीक्षण सात वटै प्रदेशमा पनि गर्नेगरी तयारी थालिएको जानकारी दिए । उनका अनुसार आजदेखि प्रदेश १ को बीपी कोइराला प्रतिष्ठानमा परीक्षण सुरु भएको छ ।

यसबाहेक प्रदेश २ को जनकपुर, बागमती प्रदेशमा हेटौंडा, गण्डकी प्रदेशमा पोखरा, प्रदेश ५ मा बुटवल, कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा धनगढीमा परीक्षण सुरु गर्न अध्ययनका लागि विज्ञ तथा कर्मचारी खटाइएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   १६ चैत्र २०७६, आईतवार १९:१९