बन्दीगृहको मानव
मृत्यु शाश्वत सत्य हो । जो अवश्यम्भावी छ । संसारका सबै चीजवस्तु नास भएरै जान्छन् । अजम्बरी कोही र केही छैन । रहँदैन पनि । हामी बाँचिरहेको पृथ्वीको आयु पनि साढे चार अरब वर्ष रहेको वैज्ञानिकहरूले बताउँदै आएका छन् । यसको अर्थ हरेक वस्तु या प्राणीले जन्मसँगै मृत्युको भारी बोकेर ल्याएका छन् । फरक यति हो, त्यो भारी कसले कहाँ कसरी बिसाउनुपर्ने हो ।
विश्वको मानव समुदाय आज विश्वव्यापी महामारी कोरोना भाइरस ‐कोभिड–१९) सँग लडिरहेको छ । यो लेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ भनेर चिनिने कोरोना भाइरसका कारण ३० हजार नौ सय २३ जना व्यक्तिले ज्यान गुमाइसकेका छन् भने ६ लाख ६५ हजार आठसय ४९ जना संक्रमित छन् । एक लाख ४२ हजार चार सय ७४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । विश्वको एक चौथाइ जनसंख्या अहिले लकडाउनमा छ ।
चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरसको विषयमा चीन र अमेरिकाबीच आरोप प्रत्यारोपको युद्ध पनि सँगसँगै चलिरहेको छ । दुवै देशले एक अर्कालाई आरोप र दोष लगाउन प्रमाणहरू जुटाउने कसरत पनि गरिरहेका छन् । यो भाइरसको विषयमा अनुमान धेरै गरिए पनि यसको अध्ययन जारी छ र यो कहाँबाट कसरी आयो भन्ने वास्तविक तथ्य पत्ता लगाउन भने अभैm केही समय कुर्नुपर्ने देखिन्छ ।
यतिबेला यूरोप, अमेरिकालगायत विश्वका शक्ति सम्पन्न राष्ट्रहरूका लागि समेत यो महामारी ठूलो चुनौतीका रूपमा देखा परेको छ । सबैभन्दा पहिले भाइरसले गिजोलेर सख्त घाइते भएको चीन यतिबेला राज्यको सम्पूर्ण संयन्त्रलाई केन्द्रीकृत गरेर एकद्वार प्रणालीबाट समस्या हल गर्न लागेको छ । उ यो महामारीबाट उम्कने कोशिशमा छ । चीन अहिले विस्तारै चलमलाउन थालेको छ । कहिल्यै ननिदाउने र विकासको चरम चुलीमा पुगेका यूरोप, अमेरिकालगायत विश्वका धेरै मुलुकलाई यतिबेला सुक्ष्म जीवाणुुको भयले बन्दी बनाइदिएको छ ।
यतिबेला विश्व मानव जातिका लागि एउटा ठूलो प्रश्न खडा भएको छ, इतिहासको यति लामो कालखण्ड गुज्रिँदासम्म मानिसले आफ्नो मस्तिष्कको ठूलो र सिर्जनशील शक्तिलाई कुन दिशातिर मोडिरहेको रहेछ ? त्यो शक्ति कहाँ खर्च गरिरहेको रहेछ ? केवल भौतिक विकास, हातहतियारको निर्माण र युद्ध रणनीतिमा मात्रै । आपूmलाई शक्तिशाली बनाउने होडमा ठूला र शक्तिशाली भनिएका देशहरूले एकातिर प्रकृतिको दोहन गर्दै गए भने अर्कोतिर आपूmलाई मात्र शक्ति केन्द्रमा राख्ने होडबाजीमा सारा समय र सिर्जनशीलता केन्द्रित गरे । मानव जीवनलाई सर्वोपरी राखेर, भविष्यमा हुने सम्भावित जोखिमलाई न्यून गर्ने दिशामा भन्दा शक्तिको प्रदर्शनमा मानवको ठूलो शक्ति खर्चिएको देखिन्छ ।
दीर्घकालीन रूपमा मानव समाजलाई कसरी व्यवस्थित, सुखी र स्वस्थ बनाउने ? वातावरणीय सन्तुलन कसरी कायम राख्ने भन्ने कुरा अब सर्वाधिक महत्वको विषय बन्नु पर्छ । किनकी मानव जीवनको मूल्य अनमोल छ । पारिस्थितिक प्रणालीसँग यसको अभिन्न सम्बन्ध छ । मानव जगत जसको काखमा बाँचेको छ । जसले संरक्षण गरेको छ । उनै पृथ्वी मातालाई बचाउने, संरक्षण गर्ने अर्थात् स्वस्थ बनाउने विषयमा मानव जगतको ध्यान निकै कम पुगेको देखिन्छ । यही कारणले महामारीलाई समयमै ठीक तरिकाले, ठीक विधिको प्रयोग गरेर नियन्त्रणमा लिन राज्य संयन्त्र कमजोर देखाप¥यो । दिगो विकासको अवधारणालाई आत्मसात् नगर्दा मानव जीवनमा अनेक खालका सङ्कट आइलागेका छन् र पृथ्वीबाहिर जीव खोज्न गम्भीर भएर लाग्नुपर्ने कुरा अमेरिकी खगोल शास्त्रीहरूले बताउन थालेका छन् ।
भनिन्छ, सबैभन्दा संकटको समयमा मानिसले आफ्नो वास्तविक परिचय दिन्छ । विश्वव्यापी महामारीको यो संकटमा पनि मानिसहरूले आफ्नो क्षेत्रबाट आ–आफ्नो परिचय दिइरहेकै छन् । मानिससँग जुन चिज हुन्छ, उसले त्यहीँ दिने हो । अहिलेको यो सङ्कटमा सेवाभाव हुनेहरूले सेवा दिइरहेका छन्, भ्रममा रमाउनेहरू भ्रम बाँड्न ठीक्क छन् । मानवता हुनेहरू महानता दिइरहेछन्, निचता हुनेहरू निचता दिइरहेछन् । ज्ञान हुनेले ज्ञान बाँडिरहेछन् । दुष्टता हुनेहरू दुष्टता दिइरहेछन् । लुट्न पल्केकाहरूले यसैलाई लुट्ने अवसर ठानिरहेछन् । वास्तवमा संकटको बेला सानो सहयोगको पनि ठूलो मूल्य हुन्छ ।
केही दिन पहिले काठमाडौंमा एकजना घरबेटीले विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै आफ्नो घरमा बस्दै आएका विद्यार्थीबाट घरबहाल वापतको पैसा नलिने निर्णय गरे । काम सानै थियो, तर ठूलो वाहवाही कमाए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको समयमा सबैभन्दा ठूलो समस्या मजदुर वर्गलाई हुने भन्दै प्रत्येक परिवारलाई पाँचहजार रूपैयाँ दिने निर्णय गरे र केही मात्रामा भए पनि उनीहरूको पीडालाई कम गरिदिए ।
अहिले अमेरिका, भारतलगायत विभिन्न राष्ट्रहरूले नागरिकको राहतको लागि रकम छुट्याएका छन् । वास्तवमा अहिले सबैभन्दा ठूलो समस्या त्यो श्रमजीवि वर्गलाई छ, जसले आफ्नो श्रम बेचेर जीविकोपार्जन गर्छ । जसले शारीरिक श्रम गरेर परिवार पाल्दै आएको छ, त्यो वर्गको श्रम लकडाउनमा थुनिएको छ र श्रमसँगै उसको रोजीरोटी पनि कैदी बनेको छ । नेपालमा ७५ प्रतिशत परिवार मजदुरीबाट आएको कमाइमा निर्भर रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । आज त्यो संख्या एक हप्ताको लकडाउनको पीडाबाट सबैभन्दा बढी प्रताडित छ । तर भोकभन्दा ठूलो मानिसको जीवन हो । मानिसको बाँच्ने भोक पेटको भोकभन्दा कैंयन गुणा मूल्यवान छ । आफ्ना नागरिकको जीवनरक्षार्थ सरकारले लकडाउनजस्तो कडा कदम चालेको छ । सरकारको यस सजकतालाई जनताले कति साथ दिन्छन् । त्यसैमा नेपाल र नेपालीको जीवनको हिसाब–किताब हुनेछ ।
सरकारलाई सधैं आलोचना गरेर पन्छिने बानी परेका हामी जनताहरूको परीक्षाको घडी पनि हो यो । एउटा ब्यक्तिको लापरवाहीका कारण सिङ्गो देशले गम्भीर परिणाम भोग्नुपर्ने हुनसक्छ । यो विपद्को समयमा सरकारी आदेशको अवज्ञा होइन समर्थन गरौं । सरकारको कदममा कदम मिलाऊँ, हातेमालो गरौं । सचेतना र सतर्कतामा जुटौं । एक–दुई जना हुँदै पाँच जनामा देखिसकेको कोरोना संक्रमण बढाउने या नियन्त्रण गर्ने सरकारको सतर्कता र नागरिकको सावधानीमा निर्भर रहनेछ ।
चीनको बुहानमा कोरोना संक्रमित बिरामीको उपचारमा दिनरात खटिएर जीवनको आहुती दिएका चिकित्स कलि वेनलियाङलाई विश्वले यतिबेला सम्झिरहेको छ । जतिबेला उनले यो खतरनाक भाइरसको विषयमा नागरिकलाई सुसूचित गराउन खोज्दै थिए । उतिबेला उनको आवाजलाई जबर्जस्त दबाउने काम गरियो । जसको परिणाम आज संसारका धेरै मुलुकहरूले भोगिरहेका छन् । आज सबैभन्दा बढी ती चिकित्साकर्मीहरू सम्मानित छन्, जसले आफ्नो जीवनलाई जोखिममा राखेर अरुलाई बचाउन दिन रात सेवा कर्ममा जुटिरहेका छन् ।
जुनबेला चीन भाइरसको महामारीले छट्पटाइरहेको थियो, बाँकी विश्व आफ्नो दिनचर्यामा व्यस्त थियो । मस्त थियो । बाँकी विश्वले न चीनलाई सहयोगको हात बढाउन आवश्यक ठान्यो, न त आफ्नो देशमा हुनसक्ने सम्भावित जोखिमको आँकलन ग¥यो । बरु सबै खालका भाइरसहरूको मुहान चीन रहेको तर्क गर्दै आत्मरतीमा रमाउने काम मात्र भयो । अहिले विश्वको सबैभन्दा राम्रो स्वास्थ्य सेवा रहेको इटलीमा मानिसको अन्तिम संस्कार गर्ने ठाउँको समेत अभाव छ । त्यहाँका नागरिकले आफन्तको मृत्युमा पनि आँशु झार्न पाएका छैनन् । प्रियजनको अभावमा चुडिएको मुटु लिएर अन्तिम संस्कारमा सामेल हुने हक पनि कोभिड–१९ को कारण यतिबेला इटलीका नागरिकहरूले गुमाएका छन् । उता अमेरिकाको हालत पनि त्यही छ । कोरोनाकै कारण हजारभन्दा बढी नागरिकले मृत्युवरण गर्नुपरेको छ ।
मानव जीवन प्रकृतिको महान आविष्कार हो । यो निकै सुन्दर छ । यसलाई अझ सुन्दर बनाउन विज्ञान जगत दिनरात लागिपरेको छ । मानव जीवन जति महान छ, त्यही जीवनभित्र बाँचिरहेको मानवता भने दिन प्रतिदिन साघुँरो बन्दै गइरहेको छ । मानिसभित्र सेवा भाव, मानवताभन्दा पनि स्वार्थीभावले प्रश्रय पाउँदै छ । यो धेरै चिन्ताको विषय हो । वास्तवमा मानव जीवनलाई सुखी बनाउने हो भने मानवता, विश्वबन्धुत्व र भातृत्व जस्ता भावनालाई मानिसले उच्च महŒव दिनैपर्छ । जो भावको अभाव अहिले विश्वमा खड्किएको छ ।
भूमण्डलीकरणको यो समयमा सिङ्गो संसार नै घर हो । भूगोल अनि भूमिकामा मात्र मानिस पृथक छन् । संसारका सबै मानिसहरूको दुःख हाम्रो आफ्नै दुःख हो भन्ने सम्झेर काम गर्ने हो भने मानव समुदायले थुप्रै समस्याबाट मुक्ति पाउन सक्छ ।
विकसित राष्ट्रहरूको चासो शक्तिको होडबाजीमा भन्दा पनि मानिसको जीवनलाई सुरक्षित र भयरहित कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुन जरुरी छ । हरेक राष्ट्रले दिगो विकासको अवधारणालाई उच्च रूपमा आत्मसात् गर्नुपर्छ । पृथ्वीलाई स्वस्थ बनाउने काम मानव जातिको हो । पृथ्वी स्वस्थ भए मात्र मानव जाति स्वस्थ हुने हो । किनकी मानव जीवन सबैभन्दा मूल्यवान छ । मानवजीवनको मूल्य संसारको कुनै पनि वस्तुले पूरा गर्न सक्दैन । पृथ्वी अर्थात् प्रकृतिले हामीलाई जसरी बचाएको छ, त्यसरी नै हामीले यसको रक्षा गर्नुको विकल्प छैन ।
(लेखक शिक्षक हुन् ।)
प्रकाशित मितिः १६ चैत्र २०७६, आईतवार १९:४५
साझा बिसौनी ।