लकडाउन : सास्ती होइन सुरक्षा

संसार कोरोना भाइरस (कोभिड–१९) को आतंकबाट प्रताडित छ । आरम्भमा चीनको वुहानलाई केन्द्र बनाएको यो भाइरसको केन्द्र युरोपमा पुगेको छ । कालको कहालीलाग्दो दृश्य देखाएको कोरोनाको असर चीनमा कम हुँदै गएको भए तापनि इटली, स्पेन, फ्रान्स र संयुक्त राज्य अमेरिकामा भयावह अवस्था छ  । इरान, जर्मनी आदि देश पनि आक्रान्त छन्  । छिमेकको भारतमा कोरोना संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । अहिले आम विश्व र विशेषतः युरोप तथा पश्चिमा राष्ट्रहरू निकै ग्रस्त, कोलाहल अनि कुँजिएका छन् ।

विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिएपछि विश्वव्यापी ‘लकडाउन’ले शून्यता, सन्नाटा र सन्त्रास व्याप्त छ  । नियमित अद्यावधिक गरिएका तथ्यांक तथा पछिल्ला सर्वेक्षणका अनुसार अफ्रिका र दक्षिण एसियाका देशमा तुलनात्मक कम संक्रमण देखिन्छ तर अवस्था नियन्त्रण बाहिर जानसक्ने सम्भावनालाई भने नकार्न सकिँदैन ।

भाइरस सन्त्रास विश्वले विगतमा समेत व्यहोर्दै आएको छ  । सन् २००३ को सार्स, २००१ मा एन्थ्राक्स, २००५ मा बर्डफ्लू, २००९ को स्वाइनफ्लू, २०१४ मा इबोला, २०१६ को जीका, १९९० आसपासको एड्सलगायतका जिवाणु संक्रमण यसका उदाहरण हुन् । यी भाइरस खासगरी क्षेत्रगत थिए, तर अहिले विश्वव्यापी रूपमा एकैपटक आतङ्क नै सिर्जना भएको छ  ।

विगतका अधिकांश संक्रमणका पनि लक्षण र विशेषता भने समान थिए । इबोला भाइरसको मृत्युदर ५० प्रतिशत, मर्सको ३५ प्रतिशत, सार्सको १० प्रतिशत थियो भने कोरोनाको एकदेखि ३.४ प्रतिशतसम्म छ । सामान्य मौसमी फ्लूको पनि मृत्युदर ०.०५ प्रतिशत हुन्छ । कोरोना भाइरसबाट प्रभावितमध्ये ९५ प्रतिशतको अवस्था सामान्य र पाँच प्रतिशतको गम्भीर रहेको तथ्याङ्कहरू आएका छन् । कुल संक्रमितमध्ये ८८ प्रतिशत निको भएका र १२ प्रतिशतको मृत्यु भएको देखिन्छ । कोभिड–१९ ले महाप्रलय निम्त्याउँदा विश्वभर करिब साढे पाँच लाख जति संक्रमित भइसकेका छन् भने २४ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।

इतिहासका अन्य कालखण्डमा पनि यस्ता कालजयी विध्वंश भए तर तिनीहरूको वैज्ञानिक र प्रयोगशाला परीक्षण सम्भव नभएका कारण छुट्टाछुट्टै पहिचान भएन । सञ्चार सुविधा नभएका कारण आम मानिससम्म सूचनासमेत पुगेनन् । मानवीय अथवा प्राकृतिक कारणले यस्ता सम्भावनाहरू नियमित चक्र नै हुन् । यसबाट बच्न सावधानी र रोकथामका पूर्वतयारी नै प्रमुख सार्थकता हो ।

कोरोनाको महामारीबाट बच्ने एउटै अचुक उपाय सामाजिक दूरी कायम गर्नु हो । नेपालमा पनि कोरोनाको असर जतिसक्दो कम गर्ने उद्देश्यले गत ११ गतेदेखि ‘लकडाउन’को व्यवस्था गरिएको छ । सामाजिक दूरी कायम गराउन अँगालिएको ‘लकडाउन’ जति प्रभावकारी हुनसक्यो, कोरोनाको असर त्यति नै निस्तेज पार्नसकिने भएकाले यसको पूर्णतः पालनामा सबै पक्षको उत्तिकै गम्भीर हुन जरुरी छ  । साताव्यापी ‘लकडाउन’ अपुग भए, त्यसको अवधि थप्नुपर्ने र ‘लकडाउन’ अझ कडाइसाथ पालना गराउनुपर्ने अवस्था छ । भारतले समेत तीन हप्ताको लकडाउन घोषणा गरिसकेको छ ।

महामारीका रूपमा फैलिरहेको कोरोनाको असरबाट नेपाल पनि अछुतो छैन । यद्यपि आजका मितिसम्म यसको असर न्यून देखिएको छ । चार जनामा संक्रमण देखिइसकेको छ । आर्थिक सम्पन्नता, स्वास्थ्य संसाधनको प्रचूरता जस्ता उल्लेखनीय पक्ष भएका अतिविकसित देशमा समेत कोरोनाले अनियन्त्रित रूपमा शोक बढाइरहेको अवस्थामा अतिकम विकसित मुलुकको अवस्था दयनीय हुनु अस्वभाविक होइन । पर्याप्त सुविधासम्पन्न अस्पताल, मनग्गे उपकरण, यथेष्ट प्रयोगशाला र प्रशस्त चिकित्सक नभएको नेपालजस्तो देशमा कदाचित् कोरोनाको कहर मच्चिन थाल्यो भने त्यस्तो परिदृश्यको कल्पना समेत गर्न सकिदैंन ।

आफू बच्न तथा अरूलाई बचाउन घरमै बस्नुपर्ने ‘लकडाउन’को मर्यादा पालना नगर्नेमाथि कारबाही गरेर भए पनि नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको कर्तव्य बनेको छ । निश्चय नै महामारीका बेलामा हरेक कामकुरो सरल, सहज र सुगम हुँदैन, कतिपय अप्ठ्यारा परिस्थितिसमेत जनसाधारणले व्यहोर्नुपर्ने हुन्छ । ज्यान बचे मात्रै सबैथोक पाइने भएकाले पनि नागरिक कर्तव्य निर्वाहमा चुक्नु हुँदैन । ‘हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ हाम्रा पुर्खाले यस्तै सम्भावित सङ्कटलाई ध्यानमा राखेर उखान चलाएका हुनसक्छन् ।

महामारीका बेलामा ज्यान जोगाउनु सर्वाधिक महत्वको विषय हुन्छ । नागरिकको ज्यान जोगाउन राज्यले अनेक व्यवस्था गरेको हुन्छ भने सके अरूको नसके आफ्नो मात्रै भए पनि ज्यान जोगाउनु हरेक नागरिकको कर्तव्य हो । ‘लकडाउन’ मा जथाभावी हिँड्दा आफू संक्रमित हुने कुरो मात्र होइन, अरूलाई समेत संक्रमित बनाइने डर रहन्छ । तसर्थ मुलुकमा कोरोना फैलिन नदिने काममा सबैको अनिवार्य योगदान जरुरी छ । तपाईं सम्पत्ति, साथी र राज्य गुमाएर फिर्ता पाउन सक्नुहुन्छ तर तपाईंले आफ्नो शरीर गुमाउनु भएमा फिर्ता प्राप्त हुनेछैन । केही दिन, केही हप्ता वा केही महिनाको ‘लकडाउन’ले मानवीय क्षति रोक्न वा न्यून गर्न सकिन्छ । राज्यले गरेको ‘लकडाउन’को व्यवस्थालाई सबैले मिलेर पालना गर्दा नै यसको अधिकतम सार्थकता प्राप्त हुनसक्छ ।

गलत सूचना वा अफवाह, सूचनाको अभावभन्दा बढी हानिकारक हुन्छ । तर त्रासदीको यस समयमा आएका अनेक रूपका सूचना आतङ्कले आम मानिसलाई झन् त्रसित बनाएको छ । आतंकित हुनुभन्दा संयमित बन्दै सचेत भएर सावधानीका उपाय अवलम्बन गर्दा यसबाट बच्न सहज नै देखिन्छ । सरकारले गरेको सतर्कता क्रियाकलापलाई सबैले सहयोग र समर्थन गर्नुपर्छ । आफू सुरक्षित त जगत सुरक्षित भन्ने आधार सत्यलाई आत्मसात् गर्नुपर्छ । चीनले यस महामारी नियन्त्रणमा सफलता पाउन अपनाएको पद्धतिबाट शिक्षा लिनुपर्छ । सतर्क, सचेत र संयमित रहँदै यसलाई परास्त गर्नुपर्छ । आफू त्यसरी नै तयार हुनुपर्छ र अरूलाई पनि सघाउनुपर्छ ।

केवल ‘लकडाउन’ वा सामाजिक दूरीको व्यवस्थाले कोरोनामाथि विजय हासिल भइहाल्ने कुरो होइन तर त्यसको असर ज्यादै न्यून तुल्याउने माध्यम हो । त्यसैले कोरोनाको कहरबाट बच्न हरेक मुलुकमा आवश्यकता अनुसारको ‘लकडाउन’ भइरहेको छ । यस अर्थमा आज संसार नै ‘लकडाउन’मा छ ।

भौतिक विकासको सम्पन्नतासँगै स्वास्थ्य क्षेत्रको सेवा, सुविधा र प्रविधिका हिसाबले पनि संसारमै अब्बल कहलिएका मुलुकहरूलाई समेत अहिले यो चुनौती सामना गर्न हम्मे परिरहेको छ । अहिले संसारले राम्रोसँग बुझ्दैछ कि शक्ति भनेको हतियार र लडाकु हैन । संसारका शक्तिशाली भनेर अहंकार तथा अभिमान प्रदर्शन गर्ने राष्ट्रका सामु आज एउटा प्रश्न खडा भएको छ । के काम लाग्यो उनीहरूको आणविक हतियार, अणुबम, परमाणुको सञ्चय, रासायनिक भट्टीहरू, लामो दूरीसम्म मार हान्ने क्षेप्यास्त्र, तोप, विविध प्रकारका सैन्य तालिम अन्य युद्धका सशक्त तयारीहरू ? अधिकांश राष्ट्रले बजेटको ठूलो हिस्सा खर्च गरेरका सबै उपलब्धि आज निर्धा र लाचार बन्दैछन् । आफ्नो क्षमता प्रमाणित गर्न कसैले युद्ध वा लडाइँमा जानुपर्दैन । अरूलाई जित्नु हैन, आफैंलाई व्यवस्थापन गर्न सक्नु चाहिँ उच्चतम पक्ष र विशाल सफलता हो । अरूलाई कत्लेआम गरेर जित्नुभन्दा बाँच्न पाउनु र बचाउन सहयोग गर्नुमा स्वर्गीय शौभाग्य रहन्छ ।

अहिलेको घडी भनेको आत्म अनुशासनको बेला हो । राज्यका नियम पालना गर्नु नागरिक अनुशासन हो । मुलुकमा जहिले जहिले सङ्कट आएको छ, सबै एक भएका छन् । २०७२ वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा होस् वा भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगाउँदा होस्, सबै एक भएका छन् । विपत्तिकालमा साथ, सहयोग र एकताको कति महत्व हुन्छ भनिरहनुपर्दैन । कोरोनाको कहर तीव्र हुँदै गएमा सरकार, राजनीतिक दल तथा नागरिक समाजसमेत सर्वसाधारणको उद्धारका लागि समर्पित हुनुपर्ने अवस्था आउन सक्छ  । यसका निम्ति अहिलेदेखि सबै पक्ष योजनासहित तम्तयार बस्नु बुद्धिमानी हुनेछ ।

अहिले कोरोनाविरुद्ध सक्रिय चिकित्सक, नर्सलगायत तमाम स्वास्थ्यकर्मी, सुरक्षाकर्मी धन्यवादका पात्र बनेका छन् । इटालीमा डाक्टरहरूकै मृत्यु भएको खबरबाट त्रस्त हुँदै नेपालमा नर्स र डाक्टरहरूले काम गरिरहेका छन् । उनीहरूको सुरक्षा आउँदा दिनमा अझ संवेदनशील हुनेछ । आलोचना बढी गर्ने हाम्रो प्रवृत्तिलाई एक क्षण थाती राखेर उनीहरूको कामप्रति आभारी जनाउनु र मनोबल बढाउनु जरुरी छ । के बिर्सनु हुन्न भने, हामीलाई घरमा सुरक्षित राखेर अहिले अस्पतालमा, नाकानाकामा खट्ने उनीहरू नै हुन् । हामी कम से कम घरै बसेर पनि उनीहरूको आत्मबल बढाउने, सकारात्मक अनुभव सेयर गर्ने अभियान चलाउन सक्छौं । नागरिकका तर्फबाट पनि सतर्कता र सामूहिक पहल हुन सक्नुपर्छ । चीनबाट मास्क, टेस्टिङ किट, डाक्टरहरूको टोली आउन तयार छ भन्ने समाचार मात्रै पनि हाम्रा लागि सञ्जीवनी बनेको छ, जति छिटो चीनबाट जहाज आउँछ, उत्ति नै सेवा र परीक्षण सशक्त हुनेछ भन्ने नेपालीले आशा गरेका छन् ।

उद्यमी, व्यापारीले उदार भावनाका साथ सहयोग गर्ने हो भने आम उपभोक्ताले सरल, सहज रूपमा सरसामान प्राप्त गर्न सक्नेछन् । सामान किन्न वा लिन जानेको घुइँचो कायमै रहँदा ‘लकडाउन’को अर्थ नरहन सक्छ । तसर्थ सामाजिक दूरीको मर्म पालना गराउँदै कसरी सरसामान उपलब्ध गराउने ? यतातिर सरोकारी पक्ष दत्तचित्त हुनु जरुरी छ । कोरोना निको पार्ने ठ्याक्कै ‘बुटी’ नभए तापनि सुखद पक्ष के छ भने लक्षण अनुरूप उपचार प्रक्रियाले संक्रमितमध्ये धेरैजना निको पनि भइरहेका छन् ।

हाम्रोजस्तो देशमा संक्रमित पत्ता लगाउने कामसमेत चुनौतीपूर्ण रहेको छ । यस्तो विषम अवस्थामा धैर्य, संयमसहित आत्म अनुशासनको पालना एकमात्र अचुक उपाय बनेको छ । यो लकडाउन विगतमा जस्तो कुनै पक्षलाई दबाउन वा कुनै पक्ष सुरक्षित हुन गरिएको राजनीतिक प्रतिबन्धात्मक अवस्था होइन । विश्व अनुभव र अभ्यासले व्यक्तिबाट व्यक्ति टाढा रहनुलाई संक्रमण रोक्ने प्रभावकारी कदम मानेको छ । जारी आदेशको अवहेलना गर्ने व्यक्तिलाई कानुनबमोजिम सजाय हुने भएकाले कानुनको पालना गर्नु नागरिक कर्तव्य हुनेछ भने त्यो भन्दा पनि ठूलो आफू र परिवारको सुरक्षा गर्नु सजाय भोग्नु होइन संयम अपनाउनु जिम्मेवार नागरिकको कर्तव्य हो । अहिले आतंकित र आलोचनाभन्दा विवेक र धैर्य गर्ने र सुरक्षित हुने, संयमसाथ समस्यासँग जुध्न सरकारलाई सहयोग गर्ने समय हो ।

प्रकाशित मितिः   १५ चैत्र २०७६, शनिबार १०:५३