त्रसित नहुनुस्, घरभित्रै बस्नुहोस्

सरकारले अबको एक सातासम्म अत्यावश्यकबाहेकका काममा कोही पनि घरबाहिर निस्कन नमिल्ने गरी ‘लकडाउन’ गरेको छ । यसले नागरिकलाई त्रसित बनाएको छ । तर यो त्रसित हुनुपर्ने अवस्था होइन । सम्भावित जोखिम कम गर्न चालिएको कदम हो । अर्थात सुरक्षा योजना ।

महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस(कोभीड–१९) को संक्रमण नेपालमा पनि देखिएको छ । यसलाई बढ्न र फैलिन नदिनका लागि आजदेखि नेपालमा ‘लकडाउन’ गरिएको हो । लकडाउन गर्नुको मुख्य उद्देश्य नागरिकलाई सुरक्षित बनाउनु हो । घरबाहिर हिंडडुल गर्दा र भेला हुँदा हुनसक्ने जोखिमबाट जोगाउन अपनाइएको सतर्कता । व्यक्तिहरु घरबाहिर निस्किने क्रम नरोकिए सम्भावित संक्रमणको थप जोखिम हुने भएकाले यस्तो कदम चालिएको हो ।

त्यसो त यसअघि नै आवश्यक सतर्कता अपनाउन, सकेसम्म घरभित्रै बस्न, अत्यावश्यकबाहेकका काममा बाहिर ननिस्कन तथा भेला नहुन सरकारले नागरिकलाई अनुरोध गरेको थियो । तर उक्त अनुरोधलाई बेवास्ता गरियो । यही बेवास्ताले निम्त्याउनसक्ने महामारीको प्रतिकार्यका लागि अन्ततः सरकार लकडाउनको निर्णयमा पुगेको हो । जुन बाध्यतात्म तर आवश्यक निर्णय हो ।

हालसम्म नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएको छ । कसैको ज्यान गएको छैन । यतिबेला नै सतर्कता नअपनाउने हो भने अन्य कतिपय मुलुकहरुमा भइरहेको जस्तै महामारीको रुप नेपालमा पनि नदेखिएला भन्न सकिने अवस्था छैन । त्यसमाथि नेपालले सुरुवातदेखि नै उच्च सतर्कता नअपनाउँदा जोखिम बढेको छ । त्यसैले पनि लकडाउनको निर्णय अपरिहार्य बनेको थियो ।

लकडाउनको निर्णयलाई त्रासको रुपमा लिएर होइन सतर्क हुनुपर्ने सूचनाको रुपमा ग्रहण गर्न जरुरी छ । र, सोही अनुसारको सावधानी अपनाउन अपरिहार्य छ । हरेक नागरिक आफै सतर्क हुने हो भने कोरोना संक्रमणको जोखिमबाट बच्न सकिन्छ । हाम्रो सुरक्षा हाम्रै हातमा छ ।

अत्यावश्यक काम परेको खण्डमा बाहेक घरभन्दा बाहिर ननिस्कनु नै कोरोनाविरुद्धको सबैभन्दा पहिलो सतर्कता हो । आफूलाई घरभित्रै सुरक्षित राख्नुलाई ‘सेल्फ क्वारेन्टाइन’ भनिएको छ । क्वारेन्टाइन भनेको जीवाणुसँग सम्भावित सम्पर्कमा गएका स्वस्थ व्यक्तिलाई निश्चित अवधिसम्म छुट्टै राख्ने प्रक्रिया हो । अनि त्यस्ता सम्भावित व्यक्तिहरु आफैं घरमा वा निश्चित स्थानमा छुट्टै बस्ने प्रक्रिया ‘सेल्फ क्वारेन्टाइन’ ।

साबुनपानीले बारम्बार हात धुने, खोक्दा र हाच्छिउँ गर्दा कुहिना वा रुमालले मुख छोप्ने र मुख छोपेको रुमाल सकेसम्म परिर्वतन गरिहाल्ने अथवा सफागरी राख्न स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । यसो गर्नाले आफूमात्रै सुरक्षित नभइ आफ्नो परिवार र अरुलाई पनि रोग फैलाउनबाट रोक्न सकिन्छ । ज्वोरो, खोकी र श्वासप्रस्वासमा अफ्ठ्यारो भए अथवा सञ्चो नभएको जस्तो भए घरै बस्ने र स्वास्थ्यकर्मीको सल्लाह लिइहाल्ने गरेमा जोखिमबाट बच्न सकिन्छ । चिकित्सकहरुले दिएका यस्ता सुझावलाई मनन् गरेको खण्डमा पनि कोरोनाको जोखिमबाट जोगिन मद्यत पुग्दछ ।

विश्वजगत नै जुधिरहेको कोरोनासँग जुध्न नागरिक नै सचेत हुनु अपरिहार्य छ । केही भएको छैन भनेर बेवास्ता गर्दा दुर्घटना निम्तिन सक्ने खतरालाई सबैले समयमै प्रतिकार्यमार्फत परास्त गर्नु आजको आवश्यकता हो । खतरा छ भनेर डराएर होइन, यो विषम् परिस्थितिको सामना विशेष सतर्कतापूर्वक गर्नुको विकल्प छैन । यो विपद्को सबै मिलेर सामना गरौं । आफू पनि बाँचौ र अरुलाई पनि बचाऔं ।