सिम्ता गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिस

सुुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सरकारलाई सिफारिस गरिने भएको छ । कर्णाली प्रदेश सरकारको सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले गाउँपालिकाको केन्द्र परिवर्तनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको बजेडिचौरमा रहेको केन्द्र राकमको पातचौर सार्ने निर्णय यसअघि गाउँसभाले गरेको थियो । वि.सं. २०७४ फागुन ५ गते सम्पन्न गाउँसभाको दुईतिहाई बहुमतबाट केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको हो ।

केन्द्र सार्ने निर्णय भएपछि विवाद उत्पन्न भएको थियो । उक्त निर्णयको विरोधमा उच्च अदालत सुर्खेतमा रिट समेत परेको थियो । तर अदालतको मिति २०७४ चैत २० गतेको आदेशबाट रिट भने खारेज भएको थियो ।

गाउँसभाको दुई तिहाई बहुमतबाट पारित हुनुका साथै अदालतमा परेको रिट पनि खारेज भइसकेकाले गाउँपालिकाको उक्त निर्णय अनुसार केन्द्र परिवर्तन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् ।

प्रकाशित मितिः   १० चैत्र २०७६, सोमबार २२:१३