कर्णालीमा कोरोना प्रभाव: दशै जिल्लामा कस्तो छ तयारी ?

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभीड–१९) को सम्भावित जोखिमबाट बच्न कर्णाली प्रदेशका सबै जिल्लामा सर्तकता अपनाइएको छ । प्रदेश सरकारदेखि स्थानीय तहसम्मले कोरोना संक्रमण प्रतिकार्यका लागि उच्च सर्तकता अपनाएका हुन् । प्रदेशका कतिपय जिल्ला पूर्णरूपमा बन्द (लक डाउन) गरिएको छ, भने वडासम्मै संक्रमण हुन सक्ने सम्भावित व्यक्तिको निगरानीका लागि क्वारेनटाइन स्थलहरू तयारी अवस्थामा राखिएको छ । यद्यपि हालसम्म कर्णाली प्रदेशमा कोही व्यक्ति पनि क्वारेन्टाइनमा बस्नु परेको छैन ।

सुर्खेत : प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा चारसय क्षमताको क्वारेन्टाइन तयार गरिसकेको छ । आवश्यक परेको खण्डमा क्वारेन्टाइनको क्षमता बढाएर एकहजार क्षमताको बनाउने तयारी सरकारको छ । यस बाहेक प्रदेश अस्पतालमा २५ बेडको आइसोलेसन तयारी अवस्थामा छ ।

प्रदेश राजधानी शहर वीरेन्द्रनगरमा आज बिहानैदेखि मानिसहरूको चहलपहल घटेको छ । मुख्य बजारहरूमा अत्यावश्यक वस्तु बाहेकका सबै व्यापार व्यवसाय बन्द गरिएको छ ।

दैलेख : दैलेखमा पनि अत्यावश्यक बाहेकका व्यवसाय बन्द गर्ने तयारी गरिएको स्थानीय प्रशासनले जनाएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार दैलेखमा पाँच सय बेडको क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । त्यहाँको नारायण क्याम्पस र सरस्वती माध्यमिक विद्यालयलार्ई क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी छ ।

यसबोहक दैलेखका विभिन्न पाँच स्थानमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश राजधानीसँग सिमाना जोडिएको गुराँस गाउँपालिकाको गुराँसे, आठबिस नगरपालिकाको राकम, नौमूलेको प्रवेशद्वार तामे, डुङ्गेश्वर गाउँपालिकाको तल्लो डुङ्गेश्वर र जिल्ला प्रशासन कार्यालयमा गरी पाँच स्थानमा आवतजावत गर्नेलाई कोरोना चेक गर्न हेल्थ डेस्क सञ्चालन गरिएको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमित फेला परेमा आपतकालीन उपचार गर्न स्वास्थ्य कार्यालयमा १४ वटा र इन्द्रदल गुल्ममा चार वटा गरी १८ वटा आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ भने जिल्ला प्रहरी कार्यालय दैलेखमा १५ बेडको क्वारेनटाइन निर्माण गरिएको छ ।

जुम्ला : कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै जुम्लालाई एक साताका लागि ‘लक डाउन’ गरिएको छ । त्यहाँका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा कोरोनाको जोमिखबाट बच्न एक हप्ताका लागि जिल्लालाई ‘लक डाउन’ गरिएको हो । विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि १६ गतेसम्म जिल्लालाई पूर्णरूपमा बन्द गर्ने निर्णय समेत गरिसकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बेडको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ भने जुम्ला बहुमुखी क्याम्पसमा पनि एक सय बेडको क्वारेन्टाइन राख्ने निर्णय भएको छ । जिल्लाका पर्यटकीय स्थलहरूमा प्रवेश गर्न रोक लगाइएको छ । हाम्रा संवाददाता मानबहादुर कुँवरका अनुसार अत्यावश्यक सामग्रीको व्यवस्थापन गर्न उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयोजकत्वमा, उद्योग वाणिज्य संघ, जुम्लासहितको १५ सदस्यीय समिति गठन गरिएको छ ।

कालिकोट : कालिकोटमा पनि सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी कृृष्णचन्द्र पौडेलका अनुसार कालिकोट भित्रिने नाकाहरूमा हेल्थ डेक्स, नागरिकलाई सचेतना गराइएको, अत्यावश्यक बाहेका सरकारी सेवाहरू बन्द, आइसोलोसनका तीन वटा बेड तयार गर्न तयारी गरिएको र क्वारेन्टाइनका लागि स्थानीय तहलाई भनिएको छ ।

हुम्ला : यस्तै हुम्लामा पनि उच्च सतर्कता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार जिल्ला सदरमुकाममा चार बेडको आइसोलेसन बेड तयार गरिएको छ भने क्वारेन्टाइनको तयारी थालिएको छ । उत्तरी नाकाहरूमा हेल्थ डेक्स राखिएको र चेकजाँचमा कडाइ गरिएको उनले जानकारी दिईन् । जिल्ला खाद्यनन् अभाव हुन नदिनका लागि प्रदेश सरकार, खाद्य संस्थान र संघीय सरकारसँग पनि पहल गरिएको छ ।

मुगु : मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार नागरिकलाई सचेत गराउने, विभिन्न ठाउँमा हेल्थ डेक्स मार्फत चेकजाँच गर्ने गरिएको छ । जिल्लामा तत्तकालका लागि खाद्यानलगायत अत्यावश्यक सामग्रीको अभाव नहुने गरी तयारी गरिएको प्रजिअ निरौलाले जानकारी दिए ।

सल्यान : प्रमुुख जिल्ला अधिकारी शिवराम पोखरेलले २० बेडको क्वारेन्टाइन बेड र कपुुरकोटमा हेल्थडेक्स सञ्चालन गरिएको बताउनु भएको छ । यहाँ पनि सचेतनाका कामहरू नियमित भइरहेका छन् । उहाँका अनुसार आइसोलेसनमा राख्नुपर्ने खालको अवस्था आए प्रदेश अस्पताल पठाउने गरी तयारी गरिएको छ ।

रुकुमपश्चिम : रुकुमपश्चिमका प्रजिअ उपेन्दराज पौड्यालले जिल्ला अस्पताल र नेपाली सेना, प्रहरीको ब्यारेकमा गरी २० वटा आइसोलेसन बेड बनाइएको छ । स्थानीय तहमा पनि क्वारेन्टनाइटका लागि क्याम्पस र होटललाई तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।

डोल्पामा : डोल्पामा पनि आवश्यक तयारी जनचेतनममुुलक कार्यक्रम गर्ने काम भइरहेको छ । जिल्लाको नाकाहरूमा र विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको छ । आइसोलेसनका लागि जिल्ला अस्पतालमा चार वटा वेड र नेपाल रेडक्रस जिल्ला शाखाको भवनमा पनि आइसोलेशनका बेडको तयारी गरिएको छ । सदरमुकाम दुनै बजारमा रहेको सरस्वति माविमा क्वारेन्टाइन बनाउने भनेर तयारी गरिएको छ ।

जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा ३० बेड क्षमताको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमितलाई उपचारका लागि पुर्वतयारीस्वरूप छुट्टै कक्ष स्थापना गरिएको हो । कोरोनाको लक्षण देखिएकालाई जिल्ला अस्पतालको आइशोलेशन कक्षमा राखेर उपचार थालिने र तत्काल बिरामीको नमुना संकलन गरी प्रयोगशालामा पठाउने व्यवस्था मिलाएको छ ।

त्यस्तै जाजरकोट भित्रिने प्रमुख नाका सुर्खेतको सिमाना छेडाचौर र डोल्पाको सिमाना त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कमा पनि हेल्थ डेस्क राख्ने निर्णय भएको छ ।

प्रकाशित मितिः   १० चैत्र २०७६, सोमबार १९:२५