जुम्लामा भोकमरीको चिन्ता

मानबहादुर कुँवर, जुम्ला : जुम्लाका नागरिकलाई नोवल कोरोना भाइरस संक्रमणकोभन्दा भोकमरी हुने चिन्ताले सताउन थालेको छ । पसलहरू बन्द हुन सक्ने भन्दै जुम्लामा नुन र चामल लिनेहरूको भिड लागेको छ । स्थानीय प्रशासनले आइतबारदेखि जिल्लालाई लक डाउन गरे पनि स्थानीयलाई भने कुनै वास्ता छैन । गाउँ–गाउँबाट सर्वसाधारण साना साना बालबालिका बोकेर खाद्यन्न जोहो गर्न सदरमुकाम आइपुगेका छन् । ‘कोरोनाबारे अनावश्यक हल्ला गाउँसम्म पुगेपछि नागरिक नुन, चाम अभाव हुने डरमा सदरमुकामसम्म आइपुगेका हुन,’ जुम्लाको पातारासी गाउँपालिका वडा नं. १ का स्थानीय लालबहादुर ऐडी ले भने ।

सञ्चारको पहुँचमा नभएका ठाउँमा पनि कोरोना भाइरसको गलत हल्ला पुगिसकेको छ । नाका बन्दि पछि जिल्लामा खाद्य अभावले भोकै मर्ने हल्ला भएको पातारासी–१ गढी गाउँका स्थानीय सुकबहादुर ऐडीले बताए । ‘गाउँमा सम्पर्क गर्ने कुनै सञ्चार माध्यम छैन,’ उनले भने, ‘तर गाउँ पुगेका आफन्तले भोकमरी हुन सक्ने खबर गरेपछि हामी परिवारै खाद्यन्न जोहो गर्न सदरमुकाम पुग्यौं ।’ तीन पोका नुन लिनका लागि जुम्लाका नागरिक आइतवार दिनभर लाइनमा बसेका थिए । करिव डेढ दशकपछि पहिलो पटक तीनसय जना बढीले दिनभर लाइनमा बसि नुन, चामल लिएर फर्केको चन्दननाथ–५ का धनराज सुनारले जानकारी दिए । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन गरेपनि यहाँका नागरिले वास्ता नगरेको सुनारले बताए । सोमबार नुन, चामलको जोहो गर्न सदरमुकाम पुगेकी तातोपानी–७ निवासी कलि कुँवरले गाउँमा कोरोनाको डरभन्दा खाद्यान्न कसरी जम्मा गर्ने भन्ने चिन्ता रहेको सुनाइन् । खेतियोग्य जमिन वर्षेनी बाँझिदै गएपछि अहिले किसानका घरमा एक महिनालाई पुग्ने अन्न समेत नभएको उनले बताइन् ।

जुम्लामा कागुनो, चिनो, फापरजस्ता रैथाने बाली लोप हुँदै गहेका छन् । स्थानीय बाली परिकारको सट्टा तराईबाट आयातित चामल लगायत खाने कुरा बढी प्रयोग गर्न थालेपछि स्थानीय बाली लोप हुँदै गएका छन् । ‘सस्तोमा चामल पाउने भएपछि कागुनो, चिनोजस्ता स्थानीय बाली लोप हुँदै गएको पातारासी गाउँपालिका–२ महरिका बिरे बुढाले बताए । ‘पहिले खाडलमा भोजपत्र बेरेर फापर राख्थ्यौं, अहिले किसानको घरमा न खाने अन्न छ, न त खाद्यान्न किन्ने हैसियत,’ उनले भने । वि.स.२०६३ चैत ३० गते जुम्ला सडक सञ्जालमा जोडिएपछि वर्षाैं थन्किएका खाद्यान्न मात्र भित्रिएनन् किसानको भाते बानी पनि हावी हुँदै गएको तातोपानी–७ सुर्किका स्थानीय गोर्खबहादर रावतले बताए ।

राष्ट्रिय कृषि गणना २०६८ अनुसार जुम्लामा १७ प्रतिशत कृषक परिवार १२ महिना खान नपुग्ने सूचिमा छन् । जिल्लामा ३९ हजार हेक्टर खेतियोग्य जमिन भएपनि २६ हजार हेक्टरमा मात्र खेती भइरहेको र बाँकी जमिन बाँझो रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमखु बालकराम देवकोटाले बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले भने चार हजार क्वीन्टल चामल मौज्दात भएकोले नआत्तिन आग्रह गरेको छ । शाखा कार्यालय प्रमुख तीलक सुनारले जुम्लामा तत्काल खाद्य संकट नआउने स्पष्ट पारे ।