शुभाघाटमा ७१ करोडको खानेपानी आयोजना

गुर्भाकोटवासीलाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको शुभाघाट खानेपानी तथा सरसफाइ आयोजनाको २० प्रतिशत काम सकिएको छ । दुई वर्षमा नगरवासीलाई खानेपानी सुविधा पु¥याउने उद्देश्यले गत असारदेखि आयोजनाको काम सुरु भएको हो ।
आयोजनाको जिम्मा पाएको आशिष÷सीएवी पेराजेवीले गत असारदेखि कामको सुरुवात गरेको आयोजनाका प्रोजेक्ट म्यानेजर बसन्त रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार अहिलेसम्म ३० किलोमिटरसम्म पाइप बिच्छ्याँउने काम भएको छ । त्यसैगरी तीन लाख मिटर क्षमताका चार वटा ट्यांकी निर्माण भइरहेका छन् ।

७१ करोड १३ लाख १८ हजार ६ सय लागतमा निर्माण गर्ने गरी उक्त आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल सरकारको अनुदानबाट ४९ करोड सात लाख ९२ हजार, नगर विकास कोषबाट १७ करोड ७८ लाख २९ हजार रूपैयाँ आयोजनामा रहेको छ । आयोजना क्षेत्रबाट लाभान्वित हुने उपभोक्ताबाट तीन करोड ५५ लाख ६५ हजार रूपैयाँ संकलन भएको छ ।

शुभाघाट खानेपानी उपभोक्ता समितिको तर्फबाट मैना विक, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, खानेपानी तथा ढल निकास विभागका उपनिर्देशक नारायणप्रसाद आचार्य र नगर विकास कोषका प्राविधिक सहयोग अधिकृत सुवासराज पन्तले वित्तीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

आयोजना अन्तर्गत सुरुवातमा तीन हजार दुई सय ५१ निजी धारा जडान गरिनेछ । आयोजनाका लागि एक हजार ९० घनमिटर क्षमताका सात पानी पोखरी निर्माण गरिने छ । दुई वटा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिनेछ । गुर्भाकोटवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न आयोजना सञ्चालन गरिएको नगर प्रमुख हस्त पुनले बताए ।

नगरपालिकाका उप–प्रमुख मैना विकले खानेपानी आयोजनाबाट नगरक्षेत्रका तीन हजार घरधुरीका स्थानीय बासिन्दा लाभान्वित हुने जनाइन् । भेरी नदीको सतहबाट साढे ६ मिटर सतहमा पानी जम्मा गरी खानीडाँडामा पु¥याउने र त्यहाँबाट पानी वितरण गर्ने गरी काम अघि बढेको छ । भेरीको पानीलाई प्रशोधन गरेर गुणस्तरयुक्त पानी वितरण गरिने उनको भनाइ थियो ।

प्रकाशित मितिः   ३ चैत्र २०७६, सोमबार ०८:५३