ताक्लाकोटमा अलपत्र हुम्लावासीको आग्रह

‘हामीलाई स्वदेश फर्काउ’

सुर्खेत : चीनको ताक्लाकोटमा अलपत्र परेका नेपाली नागरिकले उद्धारका लागि अपिल गरेका छन् । व्यापार र अन्य कामका शिलशिलामा चीन पुगेका करिब डेढ सय नागरिक केही समयदेखि ताक्लाकोटमा रोकिएका छन् । चीनमा फैलिएको कोरोना संक्रमणका कारण उनीहरू स्वदेश फर्किन सकेका छैनन् ।

हुम्लाका एक सय ४८ जना नागरिक चीन सरकारको निगरानीमा छन् । उनीहरूले नेपालका सबै तहका सरकारसँग आफ्नो उद्धारका लागि आग्रह गरेका हुन् । चीनबाट सुरुवात भएको कोरोना भाइसर सर्न सक्ने जोखिमको डरले ताक्लाकोटमा रहँदै आएका हुम्लाका कामदार तथा व्यावसायीहरूले उद्धारको लागि पहल गर्न आग्रह गरेका हुन् । व्यापारको शिलशिलामा गत पुसमा ताक्लाकोट गएका नाम्खा गाउँपालिका वडा नम्बर ३ को खगालगाउँका ठोकेल लामाले व्यापार सकिएको र काम नभएकोले नेपाल आउने वातावरण तयार गरिदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।

हालसम्म ताक्लाकोटमा रहेका नेपालीहरू कसैलाई केही नभएको भए पनि सन्त्रासका बीच बस्नु पर्दा निक्कै असजिलो भएकोले आफूहरू नेपाल आउनु चाहेकोले नेपाल फिर्ता हुने व्यवस्थाका लागि आग्रह गरेको उनले बताए । उनीहरूले हुम्ला जिल्लाबाट गाउँपालिका, प्रदेश र संघीय संसद्मा प्रवेश गर्ने मन्त्री तथा सासदहरू र गाउँपालिकाका अध्यक्षहरूलाई आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको आरोप लगाएका छन् ।

ताक्लाकोटको स्थानीय सरकारले आफ्ना नागरिकहरूभन्दा पनि नेपालीहरूलाई उच्च महत्व, सुरक्षा र निगरानीमा राख्दै आएको उनले बताए । तर पनि उकुश मुकुशको अवस्थामा बस्नु परिरहेको ताक्लाकोटमा रहेका केही नेपालीहरूले गुनासो गर्दै आएका छन् । ताक्लाकोटमा रहेकामध्ये २३ जना नेपालीले उद्धारका लागि पहल गरि दिन जिल्ला प्रशासन हुम्लालाई कैलाश व्यापार संघमार्फत लिखित निवेदन समेत पठाएका छन् । प्रमुख जिल्ला अधिकारी बिनीता भट्टराईले नेपाल फिर्ता हुनका लागि कैलाश व्यापार संघमार्फत चिठ्ठी प्राप्त भएको जानकारी दिइन् । प्रजिअ भट्टराईले उनीहरूको नेपाल फिर्ताको लागि केन्द्रमा जानकारी गराउने काम भइ सकेको बताइन् ।

ताक्लाकोटबाट नेपालीहरूलाई अन्यत्र कतै पनि जान दिइएको छैन । हाल ताक्लाकोटमा एक सय ४८ जना नेपालीहरू रहेकोमा एक जना दार्चुला र एक जना बझाङका तथा बाँकी एक सय ४६ जना हुम्लाबासी रहेका छन् । अहिलेसम्म ताक्लाकोटमा कोरोना संक्रमणबाट कुनै पनि व्यक्ति पिडित नभएको कारण कुनै समस्या नभएकोले आफू उतै बस्ने कैलाश व्यापार संघका उपाध्यक्ष लामु लामाले बताइन् । नेपाली डराउनु स्वभाविकै हो, तर यहाँको सरकारले सबै कुरा राम्रो व्यवस्था गरेकोले आत्तिनु पर्ने अवस्था नरहेको उनको भनाइ छ ।

यसअघि ताक्लाकोटकै डिपार्टमेण्टमा काम गर्दै आएका सिमकोट गाउँपालिका वडा नम्बर ३ को लिमाटाङका स्थानीय कोरोनाकै डरले ताक्लाकोटबाट हिल्सा भएर नारा लेकको हिउँ छिचोलेर हुम्ला आएका थिए । हाल उनको नेपालगन्जमा उपचार भइरहेको छ । हुम्लाबाट विशेष गरेर व्यापार र कामको शिलशिलामा व्यापारीहरू चीन पस्छन् । तर यस पटक एकाएक फैलिएको कोरोनाका कारण उनीहरू उतै थुनिएका हुन् । चीन पुगेकामध्ये केही सुरुवातमै नेपाल फर्किए पनि आधा पनि उतै रोकिएका हुन् ।

आफ्ना नागरिक चीनमा अलपत्र पर्दा पनि सरकारले कुनै पहल नगरेकोप्रति हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाले आक्रोश व्यक्त गरे । चीन सरकारको निगरानीमा रहेका नागरिकहरू नेपाल आउन चाहेको भन्दै सांसद लामाले नेपाल सरकार तथा कर्णाली प्रदेश सरकारले उद्धार गर्नुपर्ने बताए । ‘उनीहरूले मलाई बारम्बार फोन गरी उद्धारका लागि पहल गर्न आग्रह गर्दै आएका छन्’ सांसद लामाले थपे ‘मैले नेपाल सरकारका गृहमन्त्री र स्वास्थ्य मन्त्रीज्यूलाई यस बारेमा बारम्बार जानकारी गराएको छु ।’ तर पटक पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको उनको आरोप छ ।

प्रकाशित मितिः   ३० फाल्गुन २०७६, शुक्रबार ०९:२२