कोरोनाविरुद्धको तयारी बलियो बनाउन सुुझाव

सुर्खेत : कोरोना भाइरसविरुद्ध प्रतिकार्यका लागि आन्तरिक तयारी बलियो बनाउन कर्णाली प्रदेशसभाका सदस्यहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको मंगलवार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले कोरोना भाइरसविरुद्ध अहिलेको तयारीले नपुग्ने भन्दै सरकार गम्भीर हुनुपर्ने बताएका हुन् ।

कोरोना भाइरस विश्वमा नै महामारीको रूपमा फैलिएको र नेपाल उच्च जोखिममा रहेकोले सरकारले संक्रमण हुन नदिन र भइसकेपछि यसविरुद्ध प्रतिकार्य गर्नका लागि प्रष्ट कार्ययोजना बनाउन सांसदहरूले सुझाव दिएका छन् । उनीहरूले एकीकृत योजना बनाएर सचेतना र सतर्कताका काम गर्न जोड दिएका थिए ।

बैठकमा बोल्दै सांसद दिनबन्धु श्रेष्ठले कोरोना भाइरसका कारण नेपाल उच्च जोखिममा रहेकोले प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । कोरोना भाइरसलाई हल्का रूपमा लिन नहुुने उल्लेख गर्दै संक्रमण हुुन नदिन प्रदेश सरकारले सचेत हुनुपर्ने जोड दिए । उनले चीनसँग सीमा जोडिएका नाकामा आवतजावतलाई कडाई गरिनु पर्ने धारणा राखे । ‘प्रदेश सरकारले अहिले गरेको तयारी सामान्य छ । यदि पछि सक्रमण भयो भने नियन्त्रण गर्न गाह्रो हुन्छ’ उनले भने, ‘प्रदेश सरकारले प्रष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्छ ।’

यस्तै बैठकमा बोल्दै सांसद अम्मरबहादुर थापाले अन्य देशले आवतजावतमा प्रतिबन्ध लगाएकाले यसको असर कर्णालीमा पनि पर्ने उल्लेख गर्दै यहाँ आवश्यक पर्ने खाद्यान्न तथा आवश्यक सामग्रीको लागि ख्याल गर्न सरकारलाई ध्यानाकर्षण गराए । उनले भने, ‘कोरोनाको कारण आवश्यक सामग्री अभाव हुन सक्छ । अहिलेदेखि नै प्रदेश सरकारले ध्यान दिनुपर्छ ।’ सांसद शोसिला शाहीले रोकथाम र व्यवस्थापनमा विशेष ध्यान जानुपर्ने बताइन् । उनले नागरिकलाई सचेत गराउन जोड दिइन् । अर्का सांसद गणेशप्रसाद सिंहले कोरोना भाइरस जतिबेला पनि फैलिन सक्ने हुुनाले सरकार सचेत हुनुपर्ने बताए । उनले आन्तरिक तयारी नभएको भन्दै सरकार गम्भीर भएर लाग्नुपर्ने भनाइ राखे ।

‘जिल्ला र स्थानीय तहका स्वास्थ्य संस्थामा पर्याप्त चिकित्सक र औषधि छैन’ सिंहले भने, ‘अहिले सरकारको तयारी हल्का रूपमा छ । बबई र चीनसँग जोडिएका नाकाहरूमा हेल्थ डेस्क राख्दैमा यो ठूलो तयारी हुँदैन । यसतर्फ सरकारले गम्भीर भएर लाग्नुपर्छ ।’

यस्तै बैठकले राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक र पर्यटन सम्बन्धमा व्यवस्था बनेको विधेयक दफाबार छलफलका लागि अर्थ तथा प्राकृतिक स्रोत समितिमा पठाएको छ । प्रदेश लोक सेवा ऐनको पहिलो संशोधन सम्बन्धी विधेयकलाई पनि दफाबार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ । सभामुख राजबहादुर शाहीले सांसदहरूले बैठकमा उठाएका सार्वजनिक सरोकारका विषयमा अर्को बैठकमा जवाफ दिन विषयगत मन्त्रीहरूलाई निर्देशन दिएका छन् । कर्णाली प्रदेशसभाको अर्को बैठक चैत्र १३ गते बिहीवार बस्नेछ ।

प्रकाशित मितिः   २८ फाल्गुन २०७६, बुधबार १०:२९