फोहोरबाट ऊर्जा उत्पादन
सुर्खेत : वीरेन्द्रनगरको फोहोरबाट ऊर्जा उत्पादन गरिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र के.पी. व्यावसायिक सेवा प्रा.लि.सँग यसका लागि सम्झौता गरेको छ ।
फोहोरबाट ऊर्जा परियोजना सञ्चालनका लागि मंगलवार त्रिपक्षीय सम्झौता भएको हो । नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारी र आयोजना निर्माणकर्ता कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यो परियोजना लागू भएपछि वीरेन्द्रनगरमा उत्पादित फोहोर पनि सदुपयोग हुने जनाइएको छ । कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक सात सय २० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादित ग्यासलाई पाइपलाइन मार्फत वितरण गरिनेछ । जसबाट वीरेन्द्रनगरका करिब एक हजार तीन सय घरधुरी लाभान्वित हुने सम्झौतामा उल्लेख छ ।
परियोजनाको कूल लागत १४ करोड १५ लाख ६२ हजार रहेको छ । विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन केन्द्रको प्राविधिक मूल्यांकन समितिले स्वीकृत गरिसकेको छ । चाँडै आयोजना सुरु हुने बताइएको छ । कम्पनी छनौट भइसकेकोले एक वर्षभित्र परियोजना निर्माण सम्पन्न हुने ऊर्जा केन्द्रका बायो इनर्जी शाखा प्रमुख मुकेश घिमिरेले जानकारी दिए ।
विश्व बैंक समेतको सहयोगमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम अन्तर्गत कार्यान्वयन हुने परियोजनाको कूल लागतको ४० प्रतिशत (पाँच करोड ६६ लाख २४ हजार आठ सय) अनुदान वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रदान गर्नेछ भने बाँकी ६० प्रतिशत लगानी परियोजना निर्माणकर्ता कम्पनीले गर्नेछ । डिजाइन, निर्माण, लगानी, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण ढाँचामा निर्माण हुने उक्त परियोजना अवधि २० वर्षको हुनेछ । परियोजना निर्माणकर्ताले २० वर्षसम्मको सफल सञ्चालन पश्चात् उक्त परियोजना नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।
परियोजनाको लागि आवश्यक जग्गाको व्यवस्था वीरेन्द्रनगर नगरपालिकाले गरेको छ । आवश्यक कच्चा पदार्थको रूपमा नगरपालिकाबाट संकलन हुने कुहिने फोहोर, छाडा पशु व्यवस्थापनबाट संकलन हुने गोबर तथा अन्य व्यावसायिक प्रतिष्ठानहरूबाट उत्पादन हुने जैविक फोहोर समेत उपयोग गरिनेछ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले यस परियोजनाले नगर सफा राख्न सघाउ पु¥याउनुको साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहोर व्यवस्थापनमा समेत मद्दत पुग्ने भएकाले परियोजना बहुउपयोगी तथा एकीकृत ढाँचामा आधारित रहेको बताए । लामो प्रयासपछि परियोजनाको सम्झौता गर्न सफल भएको बताउँदै उनले परियोजना समयमै सम्पन्न गर्नको लागि नगरपालिकाले पहल गर्ने पनि बताए ।
यो परियोजनाबाट छाडा गाइवस्तु र फोहोरको समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा रहेको बताउँदै निजी क्षेत्रले आयोजनाको उपकरण खरिद र दिगो रूपमा सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताए । साथै कर्णाली प्रदेशमै पहिलोपटक निर्माण हुन लागेको यस परियोजना निर्माणबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सघाउ पुग्ने उनको भनाइ थियो ।
यता परियोजना निर्माणकर्ता कम्पनीले समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद ढकालले बायोग्यास र जैविक मलको उत्पादन गरी व्यावसायिक रूपमा बिक्री गर्न सकिने सम्भाव्यता देखेर परियोजनामा लगानी गर्न लागिएको बताए । परियोजनाप्रतिको आफ्नो जिम्मेवारीलाई बुझेरै लगानी गर्न लागिएकोले तोकिएकै समयमा निर्माण सम्पन्न गरिने उनले जनाए ।
सम्झौतापछि वैकल्पिक ऊर्जा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले परियोजनाको क्षमता अनुसारको उत्पादन तथा प्राविधिक पक्षमा जोड दिनुपर्ने बताए । उनले परियोजनाको उपकरण आयात गर्नुपर्ने भएकोले उपकरणहरूको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने, परियोजनाको क्षमता अनुसार उत्पादन हुने ग्यारेण्टी गरेर मात्र आयोजनाको सामग्री खरिद प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिए । साथै यस्ता परियोजनाहरू निर्माण गर्दा वातावरणीय तथा सुरक्षात्मक उपायहरूलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने अधिकारीको भनाइ थियो ।
नगरपालिकाको फोहोरबाट ऊर्जा परियोजना तथा व्यावसायिक ठूला बायोग्यास परियोजनाको संख्यामा वृद्धिसँगै यस क्षेत्रमा कार्य गर्ने दक्ष सेवा प्रदायक कम्पनी तथा जनशक्तिको आवश्यकता रहेको उनले औल्याए । साथै यस्ता प्लान्टका निर्माण चरणदेखि नै नगरपालिकाले प्राविधिकहरूलाई संलग्न गराइ भविष्यको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नुपर्ने सुझाव समेत दिए ।
प्रकाशित मितिः २८ फाल्गुन २०७६, बुधबार १०:३१
साझा बिसौनी ।