घुससहित प्रधानाध्यापक पक्राउ

सुर्खेत : तीस हजार रूपैयाँ घुस रकमसहित विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । नौमूले गाउँपालिका वडा नं. १ स्थित भैरब माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्रबहादुर सिंहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बिहीवार पक्राउ गरेको हो ।

आयोगको सुर्खेतस्थित कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाका अनुसार प्रधानाध्यापक सिंहलाई नौमूले गाउँपालिकामा रहेको एन्एम्बी बैंकको शाखाबाट पक्राउ गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगनबहादुर बस्नेत र प्रधानाध्यापक सिंहले विद्यालयका शिक्षकको चौमासिक तलब र दशैं खर्च वापतको रकम उपलब्ध गराइदिने भन्दै पटक–पटक घुस माग गरेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको सापकोटाले जानकारी दिए । ‘हामीहरूले विद्यालयका प्रअलाई नियन्त्रणमा लिएका छौं’ उनले भने ‘आवश्यक अनुसन्धान हुँदैछ ।’

प्रकाशित मितिः   १६ फाल्गुन २०७६, शुक्रबार १०:३३