‘देशमा लुुटतन्त्र हावी भयो’

सुर्खेत : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा लुुटतन्त्र हाबी भइरहेको बताएका छन् । सोमवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले देशमा भएका पछिल्ला घटनाक्रमले देशमा लुुटतन्त्र हाबी भइरहेको जिकिर गरे ।

उनले सत्तारुढ दल र प्रमुुख प्रतिपक्ष दलको सहभागितामा देशमा लुटतन्त्र चलिरहेको आरोप लगाए । देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको भन्दै उनले संस्थागत रूपमै भ्रष्टाचार बढेको बताउँदै जनस्तरबाट समयमै यसकोविरुद्ध आवाज उठाउन जरुरी रहेको भनाइ राखे । उनले नेकपा र नेपाली कांग्रेस दुुवै पार्टी आ–आफ्नो सिद्धान्तबाट विचलित भएको समेत बताए । ‘देशका ठूला दुवै पार्टी असफल प्रमाणित भइसकेका छन्’ थापाले भने, ‘नेपाली कांग्रेस र नेकपा आफ्नो मूल्य, मान्यता र सिद्धान्तबाट विचलित भएका छन् ।’ अब देशले बलियो राष्ट्रवादी संस्था खोजेको दावी उनको थियो । यस कारण राप्रपा राजसंस्थासहितको लोकतन्त्रको पक्षमा रहेको थापाको भनाइ थियो ।

राजसंस्थासहितको लोकतन्त्रमा राजा अभिभावकको भूमिका रहने र जनताले नै शासन गर्ने भएकाले राप्रपा राजसंस्थासहितको लोकतन्त्रको पक्षमा रहेको उनले स्पष्ट पारे । साथै संविधान र संसद्को नियन्त्रणमा रहने गरी सबैको सम्झौतामा राजसंस्था स्थापित गर्ने विश्वास पनि व्यक्त गरे ।

अध्यक्ष थापाले राप्रपालाई बलियो बनाउन पनि पार्टीले विभिन्न गतिविधि सञ्चालन गरिरहेको जानकारी गराए । पार्टी एकता, पार्टीको संरचना परिवर्तन र कार्यकर्ताहरूलाई सक्रिय गराउन लागिपरिरहेको बताउँदै उनले वडा तहसम्म इकाई समिति गठन गर्ने र तीन लाख सक्रिय सदस्य गराउने गरी पार्टीको महाधिवेशनको तयारी गरिएको उल्लेख गरे ।

प्रकाशित मितिः   १३ फाल्गुन २०७६, मंगलवार ०५:०६