अर्गानिक वस्तुको व्यापार न्यून

सुर्खेत : तिला गाउँपालिका–२ लर्मी जुम्लाका खड्कबहादुर रावतले कृषि समूहमार्फत जुम्लामा उत्पादित वस्तुहरू सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपोमा बिक्रीका लागि राखेका छन् । दश दिनसम्म चल्ने एक्सपोको तेस्रो दिन बितिसक्दासम्म उनी निराश भइसकेका छन् । आफूले राखेका वस्तुहरूको अपेक्षाकृत बिक्री हुन नसकेपछि रावत निराश बनेका हुन् ।

स्टलको शुल्क तिर्नुपर्दैन । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक वस्तु प्रवद्र्धनका लागि भनेर स्टल निःशुल्क गरिदिएको छ । तर मेलामा भने अर्गानिक वस्तुको व्यापार नभएको रावतले बताए । ‘स्थानीय उत्पादनलाई मान्छेहरूले पत्याउँदैनन्’ उनले भने ‘बाहिरबाट ल्याइएका सामानहरू मात्रै खरिद गर्ने गर्छन् ।’ उनले देबदार तेल, फापर, सिस्नो, सिलाजित, ओखर लगायतका उत्पादनहरू बिक्रीका लागि राखेका छन् । तीन दिन बितिसक्दासम्म सोचेजस्तो व्यापार नभएको रावतले बताए ।

अर्गानिक उत्पादनलाई प्रवद्र्धन गर्न नसकिएको भन्दै उनले सरकारले नै यसका लागि विशेष योजना र कार्यक्रम ल्याउनुपर्ने बताए । ‘अर्गानिक वस्तुको प्रयोगमा नागरिकहरूलाई उत्साहित नबनाएसम्म हाम्रा उत्पादन बिक्री हुँदैनन्’ उनले भने, ‘आफ्नै उत्पादनलाई प्रयोग गरी बाहिरबाट ल्याइएका सामग्रीहरूमा विस्तारै कम गर्नुपर्छ ।’ अर्गानिक वस्तुलाई प्रयोगकर्ताहरूले नचिन्नुले पनि व्यापार कम भएको उनको अनुभव छ । यसको लागि कर्णाली प्रदेश सरकारले अर्गानिक वस्तुहरूको महत्व नागरिकलाई बुझाउन सक्नुपर्नेमा जोड दिए ।

यस्तै चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था यरीचोक सुर्खेतका ईश्वरीनन्द उपाध्यायले समेत मेलामा व्यापार राम्रो नभएको बताए । उनले कागुनो, जिम्मु, टिमुर, स्याउको चाना बिक्रीको लागि राखेका छन् । तर मेलामा आएकाहरूले यस्ता वस्तुहरूतर्फ ध्यान कम दिएको अनुभव उनको छ । तीन दिनसम्ममा व्यापार न्यून भएको बताए ।

अर्गानिक वस्तुको प्रवद्र्धनमा सरकारले नै विशेष योजना ल्याउनुपर्ने धारणा उपाध्यायको पनि छ । ‘सरकारले अर्गानिक वस्तुको प्रवद्र्धनका लागि स्थानीय वस्तुको प्रयोगमा जोड दिनुपर्छ’ उनले भने ‘मेलामा स्टलमात्रै दिएर हुँदैन । प्रदेशमा उत्पादित वस्तु प्रदेशमै खपत गर्ने गरी नीति बन्नुपर्छ ।’ उनले नागरिकहरूले अर्गानिक वस्तुबाट हुने फाइदा भन्दा सस्तो सामग्रीको पछि लागेर आफ्नो स्वास्थ्य समेत बिगारेको उनले बताए । यसको लागि सरकारले अर्गानिक वस्तुहरूको फाइदाबारे पनि चेतना वृद्धि गर्न जरुरी भएको उपाध्यायले बताए ।

दिदी–बहिनी अल्लो तथा ढाका प्रशोधन उद्योग रुकुम पश्चिमकी शोभा वलीले समेत ढाकाको व्यापार मेलामा त्यति नभएको बताइन् । उनले मानिसहरू स्थानीय उत्पादनलाई भन्दा पनि बाहिरबाट आएको सामग्रीमा विश्वास गर्ने प्रवृत्ति भएको बताइन् ।

मेलामा चार दर्जनभन्दा बढी स्टल अर्गानिक उत्पादनका छन् । तर अधिकांशको गुनासो भने एउटै छ, व्यापार भएन । कर्णाली प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणा गर्ने लक्ष्यसहित काम गरिरहँदा अर्गानिक वस्तुहरूकै व्यापार कम भएपछि कृषकहरू चिन्तित छन् । उनीहरू सरकारले नै स्थानीय उत्पादलाई बढवा दिनुपर्ने र बाहिरबाट आएका सामानहरूलाई बिस्तारै बन्द गर्नुपर्ने धारणा राख्न थालेका छन् । बेला–बेलामा आयोजना हुने महोत्सवमा मात्रै नभइ कर्णाली प्रदेश सरकारले अर्गानिक वस्तु उत्पादन गर्ने र प्रयोग गर्नेहरूलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनुपर्ने उनीहरूको भनाइ थियो ।

अर्गानिक वस्तुलाई प्रवद्र्धन गर्ने भनेरै प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णाली एक्सपोमा लाखौं रूपैयाँ लगानी गरेको छ । मन्त्रालयले एक्सपोका लागि २७ लाख रूपैयाँ खर्च गरेको मन्त्रालयका सचिव राजेन्द्र भारीले जानकारी दिए । उनका अनुसार कृषिलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित विभिन्न कृषि स्टलका लागि मन्त्रालय तथा कृषि विकास निर्देशनालयले उक्त बजेटको व्यवस्था गरेको हो । उनले केही गैरसरकारी संस्थाले समेत स्टल प्रदान गरेको र उक्त स्टलको रकम २७ लाख रूपैयाँसँगै जोडिने जनाए । मन्त्रालयको आर्थिक सहयोगमा कृषिसँग सम्बन्धित स्टल निःशुल्क बनाइएको छ ।

प्रकाशित मितिः   १० फाल्गुन २०७६, शनिबार ०५:०१