नेतृत्वमा कसले मार्ला बाजी ?

swobuसाझा बिसौनी संवाददाता
सुर्खेत, १० भदौ ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतमा पहिलोपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन भोलि (आइतवार) हुँदैछ । देशकै पूरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि चुनाव हुन नसकिरहेको बेलामा मध्यपश्चिम विश्वविद्यालयमा भने निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचनमा १० पदका लागि ६९ जनाको उम्मेदवारी परेको छ ।
स्ववियुको नेतृत्व हत्याउनका लागि विभिन्न आठ वटा विद्यार्थी सङ्गठनबाट ६९ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । स्ववियु निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ । अध्यक्ष, सचिव र कोषाध्यक्षसहित सात जना सदस्य प्रत्यक्ष निर्वाचनबाट छनौट हुनेछन् भने बाँकी पदमा सङ्गठनले प्राप्त गरेको मतको आधारमा छनौट गरिनेछ । निर्वाचनमा सहभागी आठ वटा सङ्गठनमध्ये तीन वटाले मात्रै प्रत्यक्षतर्फको १० सीटमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट अध्यक्षमा प्रभात पोख्रेल, सचिवमा भरतबहादुर शाही र कोषाध्यक्षमा अनु आँकुराले उम्मेदवारी दिएका छन् । यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट अध्यक्षमा राजेन्द्र बुढा, सचिवमा रवि केसी र कोषाध्यक्षमा जानकी रेग्मी तथा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट अध्यक्षमा झक्कबहादुर शाही, सचिवमा सन्तोषकुमार उपाध्याय र कोषाध्यक्षमा सुशील भट्टराईले उम्मेदवारी दिएका छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अध्यक्षमा भरतप्रसाद दाहाल, सचिवमा नविनप्रसाद जैसी र कोषाध्यक्षमा कमला शाही, नयाँ शक्ति विद्यार्थी युनियनबाट अध्यक्षमा तिर्सना हमाल, सचिवमा उमेश शाही र कोषाध्यक्षमा पुष्करदेव गिरी, अखिल छैठौंबाट अध्यक्षमा शिल्पा रावल, सचिवमा टेकबहादुर विक र कोषाध्यक्षमा भूमिका थापा उम्मेदवार बनेका छन् ।
अखिल (क्रान्तिकारी) बाट अध्यक्षमा भीमबहादुर कठायत र कोषाध्यक्षमा शुद्धधन रोकामगर उम्मेदवार बनेका छन् भने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनबाट आदित्यराज उपाध्यायले अध्यक्ष, नवराज गिरीले सचिव र गणेश थापाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरूबीच प्रतिस्पर्धा हुने स्ववियु निर्वाचनले यतिबेला जिल्लाकै राजनीति तातेको छ । जिल्लास्थित सबै राजनीतिक दलहरू आफू निकट विद्यार्थी सङ्गठनका उम्मेदवारहरूलाई जिताउन कसरत गरिरहेका छन् । केही दिनदेखि सिङ्गो जिल्लाको राजनीति स्ववियु निर्वाचनमा केन्द्रित भएको छ । विद्यार्थी सङ्गठनका केन्द्रीय नेतृत्व पनि सुर्खेतमा केन्द्रित भएका छन् । त्रिभुवन विश्वविद्यालय लगायत अन्य विश्वविद्यालयले लामो समयदेखि स्ववियु निर्वाचन गर्न नसकिरहेका बेला मध्यपश्चिम विश्वविद्यालयले निर्वाचन गर्न लागेकाले पनि यसले चर्चा पाएको हो । सबै विद्यार्थी सङ्गठनले आ–आफ्नो जीत सुनिश्चित भएको दाबी गर्दै आएका छन् । यद्यपि एमाले निकट अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । विश्वविद्यालयमा एक हजार ६ सय ९३ जना विद्यार्थी रहेको जनाइएको छ । नेतृत्व हात पार्नका लागि पार्टीको नेतृत्वदेखि विद्यार्थी नेताहरू विश्वविद्यालयमा केन्द्रित भएका छन् ।

अध्यक्षमा दुई महिला उम्मेदवार
हरेक निकायमा महिला सहभागिताको कुरा उठ्ने गरेको छ । मप विश्वविद्यालयको स्ववियु निर्वाचनमा केही सङ्गठनले महिला उम्मेदवार बनाएका छन् भने केहीले महिलालाई स्थान दिएका छैनन् । दुई वटा सङ्गठनबाट भने प्रमुख पद अध्यक्षमा नै महिला उम्मेदवार भिड्दैछन् । जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले शिल्पा रावललाई अध्यक्षको उम्मेदवार बनाएको छ । अखिल छैठौंले कोषाध्यक्षमा भूमिका थापालाई अघि सारेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले पनि अध्यक्षमा महिला उम्मेदवार अघि सारेको छ । तिर्सना हमालले नयाँ शक्तिबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी संघ र अखिल क्रान्तिकारीले कोषाध्यक्षमा आ–आफ्नो सङ्गठनबाट पनि महिला उम्मेदवार अगाडि सारेका छन् । नेपाल विद्यार्थी संघले भने प्रमुख तीन वटै पदमा महिलालाई स्थान दिएको छैन । सात जना सदस्यमा पनि नेविसंघबाट वर्षा केसी एक मात्र महिला उम्मेदवार हुन् ।

प्रकाशित मितिः   ११ भाद्र २०७३, शनिबार १०:०९