अवसर खेर नफाल

दुई वर्षपछि कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । यो खेलकुदको महाकुम्भ आयोजना गर्नु आफैमा गौरवको कुरा हो । कर्णाली प्रदेशका लागि अवसर हो । यसअघि कर्णालीमा ठूला प्रतियोगिता आयोजना हुन सकेका थिएनन् । अन्य क्षेत्रमा पछाडि पारिएको प्रदेशलाई खेलकुदका माध्यमबाट चिनाउने अवसर पनि हो, यो । तर सँगसँगै चुनौती पनि छन् । पहिलो चुनौती भनेको पूर्वाधारको हो । यहाँ खेलकुदका लागि पर्याप्त पूर्वाधार छैनन् । अधिकांश जिल्लाहरुमा आधारभूत पूर्वाधारकै अभाव छ । प्रदेश राजधानी रहेको सुर्खेतमा समेत आवश्यक संरचना निर्माण हुन सकेको छैन । यस्तो परिस्थितिमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नु कठिन कार्य हो । तर अहिलेदेखि नै पूर्वाधार निर्माणको सुरुवात गर्ने हो भने असम्भव छैन ।

तीन दर्जन बढी खेलहरु समावेश गरिएको प्रतियोगिता गर्न पर्याप्त संरचना र पूर्वाधार चाहिन्छ । आवश्यक संरचना निर्माणका लागि अहिलेसम्म कुनै पहल समेत चालिएको छैन । संरचना निर्माणका लागि भनेर बजेट पनि विनियोजन गरिएको छ । तर छुट्याइएको बजेट पर्याप्त छैन । खेलकुद प्रतियोगिताका लागि संरचना निर्माण गर्न भनेर सुर्खेत जिल्लालाई दुई करोड ५० लाख बजेट विनियोजन गरिएको छ । यसबाहेक प्रदेशका अन्य सबै जिल्लाका लागि ५०–५० लाख रकम राष्ट्रिय खेलकुद परिषद्ले विनियोजन गरेको छ । तर यो बजेट पनि अपुग हुने खेल सरोकारवालाहरु बताउँछन् । यता कर्णाली प्रदेश सरकारले भने राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि चाहिने पूर्वाधार निर्माणमा चासो देखाएको छैन । यद्यपि खेलकुदका लागि भनेर हरेक वर्ष बजेट विनियोजन हुन्छ । तर उक्त बजेट पनि खर्च हुन नसकेर फ्रिज हुँदै आएको छ । प्रदेशले खेलकुद सम्बन्धी कानुन बनाइसकेको भए पनि संघीय कानुन नबन्दा कार्यान्वयन हुन सकेको छैन । कर्णाली प्रदेश सरकारले प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६ पारित गरे पनि संघमा खेलकुद सम्बन्धी कानुन नबन्दा उक्त विधेयक बन्धक भएको हो । बजेट र कानुनी अड्चनका कारण पूर्वाधार निर्माणमा लगानी हुन सकेको छैन ।

कर्णाली प्रदेशले पनि खेलका माध्यमबाट आफूलाई चिनाउने अवसर पाएको छ । राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दा यहाँका खेलाडीहरुलाई थप अवसरका ढोका खुल्न सक्दछन् । त्यसैले पनि केन्द्रको भर पर्ने मात्र नभएर प्रदेश तथा स्थानीय सरकारले पनि यो प्रतियोगितालाई महत्वका साथ सम्पन्न गर्नेगरी योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ । यसअघि पनि कर्णालीमा पूर्वाधार अभावकै कारण राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको थिएन । फेरि आएको अवसरलाई खेर जान दिनु हुँदैन ।