नागरिक सोध्छन्, ‘हामीले के पायौं ?’

प्रदेश सरकारको दुई वर्ष

सीता वली,
सुर्खेत : वीरेन्द्रनगर–३ तातापानी सुर्खेतका बुद्धराज पुलामी मगरले संघीयतामा नागरिकले सरकारबाट सबै सेवा सहज रूपमा पाउँछन् भन्ने बुझेका थिए । उनलाई प्रदेश सरकारको स्थापना भएपछि आफू हिँड्ने बाटा राम्रा हुन्छन्, गुणस्तरीय स्वास्थ्य सेवा पाइन्छ, विकास निर्माणका काम धमाधम हुन्छन् भन्ने लागेको थियो । तर कर्णाली प्रदेश सरकार स्थापना भएको दुई वर्ष बित्दासम्म पनि उनलाई संघीयताको अनुभूति नै भएको छैन । ‘प्रदेश सरकार स्थापना भएपछि थुप्रै अपेक्षा गरिएको थियो’ उनले भने ‘तर सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गर्न सकेन ।’

जस्तो पहिले थियो अहिले पनि त्यस्तै समस्याबाट नागरिक पीडित भइरहेको पुलामीको अनुभव छ । नागरिकले सहज सेवा प्राप्ती गर्न नसक्नुमा सरकारको कमजोरी देख्छन् । ‘बाटोमा भएका खाल्डा त प्रदेश सरकारले पुर्न सकेको छैन’ पुलामीले थपे, ‘नागरिकका मनमा लागेका घाउ पुर्न कहाँ सक्ला ?’ प्रदेश सरकार स्थापना भएपछि चिल्ला सडकमा हिँड्ने, छिटो स्वास्थ्य सेवा पाउने सपना देखे पनि दुईवर्ष पुग्दा समेत सरकारले केही गर्न नसकेको आरोप उनले लगाए ।

डुङ्गेश्वर गाउँपालिका–६ दैलेखकी तुलसा थापा ७० वर्षकी भइन् । उनले पनि प्रदेश सरकारको स्थापना भएपछि सहज सेवा पाइन्छ भन्ने सोचेरै जनप्रतिनिधिलाई भोट दिएकी थिइन् । तर अहिले उनलाई आफ्नो भोट खेर गएको अनुभूति भएको छ । ‘हामी बुढाबुढीको आश भनेकै सरकारसँग हुन्छ’ उनले भनिन् ‘तर सरकार आश्वासन मात्रै बाँड्छ सेवा दिँदैन ।’ थापाले वृद्धहरूलाई स्वास्थ्यमा विशेष सेवा दिने भन्दै आश्वासनका कार्यक्रम ल्याए पनि काम भने केही नगरेको गुनासो गरिन् । दैलेख जिल्लाबाट उपचारको लागि सुर्खेत झर्नुपर्ने बाध्यता अझै नहटेको उनको भनाइ थियो । साथै सरकार हुँदा र नहुँदा एउटै अनुभव गरेको बताइन् ।

वीरेन्द्रनगर–७ इत्राम सुर्खेतका नविन देवकोटाले समेत सरकारले दुई वर्षको अवधिमा खासै ठूलो उपलब्धि हासिल गर्न नसकेको बताए । उनले सरकारले ल्याएका कार्यक्रम राम्रा भए पनि कार्यान्वयनको पक्ष भने फितलो भएको बताए । ‘नागरिकले सुरक्षित छु भन्ने महसुस कुनै पनि क्षेत्रमा गर्न पाएका छैनन्’, उनले भने ‘सरकारले महŒवकांक्षी कार्यक्रम ल्याउन खोजे पनि दिगो सोच भने राख्न सकेको छैन ।’ देवकोटाले अझै पनि सरकारको पूरानै शैली देखिएकोले संघीयता आएको महसुस नभएको बताए । दुई वर्षको अवधि सकिए पनि बाँकी रहेको तीन वर्षमा सरकारले धेरै गर्न सक्ने भन्दै बजेट कार्यान्वयनलाई मात्रै सरकारले ध्यान दिन सके नागरिकले गरेका केही अपेक्षा पूरा हुने उनको सुझाव छ । नागरिकले पाउने कुनै पनि सेवा सुविधामा प्रदेश सरकारको स्थापना भएपछि परिवर्तन नभएको उनले बताए । ‘वीरेन्द्रनगरका सडकको हालत दशौं वर्षदेखि उस्तै छ’ उनले थपे ‘राजधानीका सडकको खाल्डा नदेख्ने सरकारले विकट क्षेत्रका नागरिकलाई दिएको सेवाको सहज अनुमान गर्न सकिन्छ ।’ उनले आश्वासन बाँडेर मात्र नपुग्ने भएकाले पूरा गर्न आग्रह गरे ।

यस्तै वीरेन्द्रनगर नगरपालिका–६ की ३९ वर्षीय इन्दु जिसीलाई समेत प्रदेश सरकारबाट निक्कै अपेक्षा थियो । तर अपेक्षा अनुरूप सरकारले काम गर्न नसकेको उनले बताइन् । सडक, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका कुरामा प्रदेश सरकारको स्थापना भएपछि पनि परिवर्तन नआउनुले सरकार नभएको अनुभूति उनलाई समेत भएको छ । सरकार स्थापना भएको दुईवर्ष हुँदा समेत विकासको गति शून्य भएको उनले बताइन् । ‘राजधानीकै बाटो हेर्दा पनि सरकारको कामको गति प्रष्टै देखिन्छ’ उनले भनिन् ‘सरकारले नागरिकले सोचेअनुरूप काम गर्न सकेको छैन ।’ यी त प्रतिनिधिमूलक आवाज हुन् । आम नागरिकसँग कुरा गर्दा होस् या सामाजिक सञ्जालमा अभिव्यक्त भएका धारणा, जहाँ सरकारप्रतिको गुनासो निक्कै धेरै पाइन्छ । नयाँ संरचना बनेपनि आफूहरूले नयाँ अनुभूति गर्न नसकेको भन्दै उनीहरूले प्रश्न गर्न थालेका छन्, ‘प्रदेश सरकारबाट हामीले के पायौं ?’

प्रकाशित मितिः   ३ फाल्गुन २०७६, शनिबार ०५:०२