साइस्मिक सर्भे अन्तिम चरणमा
दैलेख : दैलेखमा पेट्रोलियम अन्वेषणका लागि भइरहेको साइस्मिक सर्भेको काम अन्तिम चरणमा पुगेको छ । नाभिस्थान, श्रीस्थान र पादुकालगायतका क्षेत्रलाई आधार बनाइ भइरहेको साइस्मिक सर्भे सातवटा लाइनको काम सम्पन्न भएको छ ।
पेट्रोलिम पदार्थ अन्वेषण अन्तर्गत महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको हो । गत कार्तिकदेखि सुरु गरिएको अन्वेषणका लागि तीनवटा पूर्वपश्चिम र सातवटा उत्तरदक्षिणमा गरी १० वटा साइस्मिक सर्भे लाइन रहेका छन् । यीमध्ये सातवटा लाइनमा चिनियाँ प्राविधिक टोलीले सर्भेको काम सम्पन्न गरेको खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले बताए । डा. त्रिपाठीका अनुसार बाँकी रहेका तीनवटा लाइनको काम फागुनको दोस्रो सातासम्म सक्ने गरी चिनियाँ प्राविधिक टोलीले काम गरिरहेको छ । अन्वेषण अन्तर्गत पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओ केमिकल सर्भे, स्याम्पलिङ सर्भेभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भेको अहिलेसम्म ८० प्रतिशत सम्पन्न भएको डा. त्रिपाठीको भनाइ छ ।
दैलेखको पूर्वी भू–भागमा साइस्मिक सर्भेको काम सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोलीले अहिले दुल्लू नगरपालिका–८ दुल्लू संग्रहालयनजिकै क्याम्प राखेर पश्चिम क्षेत्रमा अन्वेषणको काम गर्दै आएको छ । १० वटै साइस्मिक लाइनमा सर्भे सम्पन्न भएपछि चिनियाँ प्राविधिक टोली चीन फर्किने छ । यहाँ संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी फर्केपछि चार किलोमिटर गहिराइसम्म मुख्य डिलिङको काम गर्ने डा. त्रिपाठीले बताए । अहिले चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरबी गाउँपालिकाका केही भू–भाग दुल्लू नगरपालिकाका केही क्षेत्रलगायत डुङ्गेश्वर गाउँपालिका केही भू–भागर नारायण नगरपालिकाका क्षेत्रलाई आधार मानी पेटोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको छ ।
भारतले नेपालमा अघोषित नाकाबन्दी लगाउँदा ताका प्रधानमन्त्री रहेका केपी शर्मा ओली चीनमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । उक्त सहमतिअनुसार नेपाल सरकार खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलियम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ ।
प्रकाशित मितिः २७ माघ २०७६, सोमबार ०५:००
साझा बिसौनी ।