ग्रासरुट फुटबल लिग सम्पन्न

सुर्खेत : जिल्लास्तरीय ग्रासरुट फुटबल लिग सम्पन्न भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सुर्खेत जिल्ला फुटबल संघसँगको समन्वयमा आयोजना गरेको लिग शनिवार सम्पन्न भएको हो ।  लिग अन्तर्गत १० वर्षमूनि र १३ वर्षमूनि गरेर दुई वटा उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा गराइएको थियो । विद्यालयस्तरीय लिगमा जिल्लाका एक दर्जन बढी विद्यालयहरूले सहभागिता जनाएका थिए । लिगको सुरुवात गत भदौ २७ गतेबाट भएको थियो ।

१३ वर्षमूनिको उमेर समूह अन्तर्गत छात्रतर्फको उपाधि वीरेन्द्रनगरको जन नमुना माध्यमिक विद्यालयले जितेको छ । सोही समूहमा इन्टरनेशनल कोअपरेटिभ एकेडेमी द्वितीय भएको छ । छात्रातर्फ कोपीला भ्याली प्रथम हुँदा इन्टरनेशनलले द्वितीय स्थान हासिल गरेको छ । यसैगरी १० वर्षमूनिको उमेर समूहमा छात्रतर्फ इगरब्रिज माध्यमिक विद्यालय प्रथम र इन्टरनेशनल द्वितीय हुँदा छात्रातर्फ एसओएस प्रथम र कोपीला भ्याली द्वितीय भएको सुर्खेत जिल्ला रेफ्रि संघका अध्यक्ष चन्द्रप्रकाश शाहीले जानकारी दिए । विद्यालय तहदेखि नै क्षमतावान खेलाडीहरू उत्पादन गर्न पाँच महिना लामो ग्रासरुट लिग आयोजना गरिएको शाहीले बताए । सुन्दर पोखरेल र रमेश तुलाधरले खेलको संयोजन गरेका थिए ।

शनिवार जिल्ला फुटबल संघका अध्यक्ष जनक रावलको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको लिगको समापन कार्यक्रममा वीरेन्द्रनगर–४ का वडा अध्यक्ष निलकण्ठ खनाल, निर्माण व्यवसायी महासंघ सुर्खेतका महासचिव हर्षविक्रम खड्का लगायतको सहभागिता रहेको थियो । यसैबीच जिल्ला फुटबल संघको आमन्त्रित सदस्यमा पूर्व राष्ट्रिय खेलाडी भोला रोकाय र सहसचिवमा शरद भण्डारीलाई मनोनित गरिएको छ ।

प्रकाशित मितिः   २६ माघ २०७६, आईतवार ०५:००