कांग्रेसको महाधिवेशन एक वर्षपछि
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन एक वर्षपछि हुने भएको छ । सोमवार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने सर्वसम्मत् निर्णय गरेको हो ।
यसअघि बैठक बहिस्कारमा उत्रिएका वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला पनि सहभागी थिए । गत पुस ११ गते बहुमतका आधारमा सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति तय गरेपछि केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गर्दै आएका थिए । गत शुक्रवार बुढानीलकण्ठमा बसेको बैठकमा सभापति देउवाले महाधिवेशनको मिति यथावत राखेर अन्य विषय सच्याउन आफू तयार रहेको बताएपछि असन्तुष्ट समूह सोमवार बैठकमा उपस्थित भएको हो ।
बैठकले पूर्वनिर्धारित मितिमै १४औं महाधिवेशन गर्ने सर्वसम्मत् निर्णय गरेको केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले क्रियाशील सदस्यता छानविनका लागि सात सदस्यीय समिति पनि गठन गर्ने निर्णय गरेको छ । बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि विधान र नियमावलीमाथि थप छलफल गर्न माघ २३ गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने पनि निर्णय गरेको छ । उक्त बैठकमा महाधिवेशन प्रयोजनार्थ निलम्बन गरेका विधानका धाराका बारेमा छलफल गरिने केन्द्रीय सदस्य गुरुङले जानकारी दिए । गत शुक्रवार बुढानिलकण्ठमा बसेको बैठकले केन्द्रीय कार्यसमितिले बहुमतले गरेका निर्णय सच्याएर सर्वसम्मतिमा पारित गर्न महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का र केन्द्रीय सदस्यद्वय रमेश लेखक तथा मिनेन्द्र रिजाल सम्मिलित कार्यदल गठन गरेको थियो । सोही कार्यदलले सहमतिको खाका निर्माण गरिरहेको छ ।
प्रकाशित मितिः १४ माघ २०७६, मंगलवार ०५:०७
साझा बिसौनी ।