जडिबुटी उत्पादनमा सामुदायिक वन

सुर्खेत : वीरेन्द्रनगर–१५ को लालीगुराँस सामुदायिक वन उपभोक्ता समूह जडिबुटी उत्पादनमा सक्रिय भएको छ । सामुदायिक वनले आफ्नो वन क्षेत्रको करिब एक सय ५० हेक्टर खाली क्षेत्रमध्ये ३० हेक्टरमा जडिबुटी खेती गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न जातका जडिबुटीहरू रोपिएको अध्यक्ष हिक्मतबहादुर वलीले जानकारी दिए । ६४ हजार बोट टिमुर, पाँच हजार बोट कालो शिरिष, बेल दुई हजार, टोटेलो पाँच हजार, मजिठो २० हजार, चिराइतो ३४ हजार, कचुर तीन हजार, पुस्करमुल दुई हजार र तेजपात दुई हजार वटा रोपिएको अध्यक्ष वलीले जनाए ।

जडिबुटीहरूको उत्पादनमा डाबर नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । २०५२ सालमा स्थापना भएको वन क्षेत्रको करिब तीन सय हेक्टरमा आम्दानी प्रदान गर्ने खालका कुनै पनि बिरुवा नभएको र अब जडिबुटी उत्पादन राम्रो भएको खण्डमा यस क्षेत्रका उपभोक्ता जीवनमा परिवर्तन समेत आउने डाबर नेपालका उप–व्यवस्थापक विष्णु केसीले बताए । यस क्षेत्रमा ८९ घरधुरी उपभोक्ताहरू रहेका छन् । सामुदायिक वनले चालु आर्थिक वर्षदेखि टिमुरका बिरुवाहरू उत्पादन गर्ने जनाएको छ । गत वर्ष तीन हजार आठ सय जनाले झाडी सफा, गोडमेल र वृक्षारोपणबाट प्रत्यक्ष रूपमा रोजगारी समेत पाएका अध्यक्ष हिक्मत वलीले बताए ।

प्रकाशित मितिः   १३ माघ २०७६, सोमबार १४:०९