वीरेन्द्रनगरको सरसफाइका लागि हातेमालो

                                डा. पुष्पराज आचार्य

गत पुस २८ गते साझा बिसौनी दैनिकमा ‘दुर्गन्धित वीरेन्द्रनगर’ शीर्षकमा समाचार छापिएको थियो । उक्त समाचार पढेपछि कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरको सरसफाइका लागि बृहत् अभियान सञ्चालन गर्नुपर्ने अनुभूति भयो । यसका लागि अझै धेरै छलफल र विमर्श जरुरी छ । यही अभिप्रायले यो लेख तयार पारिएको हो ।

वीरेन्द्रनगर बसाइँको करिब एक वर्ष भयो । यहाँको वातावरणीय अवस्थासँग धेरथोर परिचित हुँदै गएको छु । दैनिक जीवनयापनका क्रममा होस् या अध्ययन र अवलोकनकै लागि भनेर पनि म कर्णाली र विशेषगरी सुर्खेतका सुन्दर पर्यावरणहरूको विश्लेषण गर्ने गर्दछु । यसको बानी पर्न थालिसकेको छ । कहिलेकाहीँ पैदल यात्राका क्रममा वातावरणको दुरावस्था देखेर उकुसमुकुस हुने गर्दछु । जीर्ण सडक, अव्यवस्थित फूटपाथ र फोहोरको व्यवस्थापन नहुँदा यहाँको पैदलयात्रा कठिन बनेको छ । यो अवस्थाको अवलोकन गर्दा मस्तिष्कमा अनेक कौतुहलताहरू उत्पन्न हुने गर्दछन् ।

समाचारका अनुसार वीरेन्द्रनगर नगरपालिकाले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्यविधि बनाएको छ । तर कार्यविधि कार्यान्वयन भएको भने देखिदैन । बजारको व्यवस्थापन हुन सकेको छैन । यद्यपि सफा सहर हामी नगरवासी सबैको साझा जिम्मेवारी हो । सहरवासी भएका नाताले हामी सबैले सफा वातावरणका लागि दायित्व बोकेका छौं ।

जिल्ला र प्रदेश दुवैको राजधानीको पहिचान प्राप्त गरेको वीरेन्द्रनगर नगरपालिका यतिबेला तीव्र सहरीकरणको चुनौती झेलिरहेको छ । निर्माणाधिन बाटो, ढल निकास र सार्वजनिक यातायातजस्ता समस्या एकातिर छन् भने प्लाष्टिक र छाडापशु जस्ता नागरिकद्वारा सिर्जित समस्याले थप कष्टकर बनेको छ, यहाँको वातावरण । बाटो, ढल निकास र सार्वजनिक समस्या स्थानीय सरकारको भूमिकामा निर्भर गर्ने हुँदा यी समस्याको समाधान नागरिक तहमा भन्दा सरकारकै तहबाट समाधान हुनुपर्ने हो । त्यसैले स्थानीय सरकार नै बढी गम्भीर बन्न आवश्यक हुन्छ । जनप्रतिनिधिहरूमाथि सबैभन्दा बढी जवाफदेही बन्न आवश्यकता देखिएको छ ।

नागरिक तहबाट वीरेन्द्रनगरका लागि प्रमुख दुईवटा वातावरणीय समस्या समाधानका लागि प्रयत्न गर्न सकिन्छः छाडा पशु र प्लाष्टिक नियन्त्रण । सडकमा छाडा छोडिएका पशुहरू यत्रतत्र भेटिन्छन् । छाडा पशुको व्यवस्थापनमा ढिलाई गर्नु हुँदैन । केही महिना अगाडि नेपालगन्जदेखि नगरपालिकाका छेउछाउमा ल्याएर छाडिएका पशु चौपायाहरू अहिले पनि वीरेन्द्रनगरका सडकमा भेटिन्छन् । छाडा पशु नियन्त्रण र व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारको कृषि मन्त्रालयले लगानी गरेर ठाउँ–ठाउँमा गौशाला निर्माण भएका छन् । यी गौशालाहरू उपयुक्त कार्यविधि बनाएर चलाउन नगरपालिकाले सक्नु पर्दछ । गौशाला कार्यन्वयनमा ल्याउन नसक्नु कमजोरी भएको छ ।

हालसालै नगरपालिकाले घरपालुवा गाईजन्य वस्तुहरूमा ‘ट्यागिङ्ग’ गर्ने कार्य सुरु गरेको छ । कामलाई अधुरै छाडेर समाधान निस्कदैन । मन्त्रालय र नगरपालिकाबीच समन्वय गरी कुनै पनि हालतमा छाडा तथा बेसहारा पशुको व्यवस्थापन गर्न आवश्यक छ । गौशाला कार्यान्वयनमा ल्याउन किन ढिला भएको छ ? यसबारे नागरिकले प्रदेश र नगरपालिकाले गरेको लगानीमा चासो राख्नुपर्ने भएको छ ।

वीरेन्द्रनगरका मुख्य सडकमा प्लाष्टिक प्रदूषण पेचिलो समस्या हो । एक दिन पार्कमा खेल्न पुगेकी करिब चार वर्षको उमेरकी सानी छोरीले बाबा पैसा भन्दै हातभरी मेघाश्रीका खोल बटुलेर दिइन् । नगरपालिकाको हरेक सडक र चौरमा मेघाश्री पहिलो प्लाष्टिक फोहोर भएको छ । अचम्म के भने मेघाश्री खाने मानिसहरू महिला होइनन्, बालबालिका पनि होइनन्, यी पुरुष, प्रौढ पुरुष हुन् । यिनै बु्रर्जुकहरूका हातबाट फालिएका मेघाश्री र सूर्तिका खोलले आज वीरेन्द्रनगरका सडक सिँगारिएका छन् । यदि हरेकले कम्तीमा आफूले प्रयोग गरेको सूर्तिका खोलमात्र व्यवस्थापन गरिदिने हो भने सोच्नुहोस् त कति होला वातावरणीय भलाई ? यसर्थ स्वच्छ वातावरणप्रेमीहरूले एक पटक सूर्तिराजाहरूलाई अनुरोध गरौं न । सुनिन्छ, भारतमा सूर्तिका खोलहरू कागजयुक्त बनाइएका छन् । हामीकहाँ आउने प्लाष्टिकयुक्त सूर्ति र गुट्खाहरू गैरकानुनी त हैनन् ?

जे होस् प्लाष्टिक नियन्त्रणका लागि एक पटक नगरपालिकाले एउटा बृहत सरसफाइ अभियान सञ्चालन गर्न आवश्यक देखिएको छ । हामी नगरवासी भएका नाताले अब मौन बस्न नहुने भएको छ । नागरिक समाज, स्कुल, विश्वविद्यालय, टोल विकास संस्था, युवा क्लब, आमा समूह, सेना, प्रहरी तथा अन्य थुपै्र संघ–संस्थाहरूमाथि वीरेन्द्रनगरको फोहोरले कुरीकुरी भन्दै हामीलाई जिस्काएको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा सरकारले घोषणा गरीसकेको छ । राराताल लगायतका थुप्रै पर्यटकीय स्थलहरूमा पर्यटक भिœयाउने सपना कर्णालीवासीको पनि छ । यस्तो अवस्थामा प्लाष्टिक फोहोरका कारण पर्यटकलाई प्रदेश राजधानी प्रवेश गर्दा नै पहिलो गासमा ढुङ्गा लाग्ने जस्तो देखिएको छ । मंगलगढीमा झर्ने बित्तिकै एक पटक सोचाँै न, पर्यटकको मनमा हामीप्रति कति घृणा उत्पन्न होला ? अनि तिनले हामीलाई कस्तो इज्जत देलान् ? मनमनै हामीप्रति पर्यटकले कस्तो फोहोर सहरमा बस्ने मान्छे होस् नभन्लान् र ? अरु त अरु विश्वविद्यालय, शिक्षा क्याम्पस, घण्टाघर, खुलामञ्च चारैतिर प्लाष्टिकयुक्त फोहोर छरपष्ट देखिन्छ । यो फोहोरले तपाईं–हामी सबैको शिर झुुकाएको छ । बाहिरबाट यो सहरमा प्रवेश गर्ने कसैले पनि हामीलाई सभ्य नागरिक भन्नै सक्दैन । त्यसकारण अब एउटा प्लाष्टिकमुक्त सहरको लक्ष्यसहित बृहत् सरसफाइ अभियान सञ्चालन गरौं ।

बृहत् सफाइ कसरी गर्ने ?

सरसफाइ जसले गरे पनि पूण्य कर्म हो । एक्लै सम्भव छैन । हातेमाले गरौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी सञ्जालहरूले यसको नेतृत्व लिन सके भने त्यो सबैभन्दा उत्तम हुन्छ । विश्वविद्यालयबाट विद्यार्थी र प्राध्यापकहरूले वातावरणका लागि शिक्षा अभियान चलाऔं । वीरेन्द्रनगरका विद्यालय र कलेजहरूलाई आ–आफ्नो कलेजका एक किलोमिटर आसपासमा सरसफाइको नेतृत्व लिन आह्वान गरौं । सबैलाई गोलबद्ध गरौं । सुर्खेतमा कार्यालय स्थापना गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाहरूलाई सरसफाइका लागि आवश्यक सहयोगका लागि आह्वान गरौं । कम्तीमा एक हप्ता बृहत् सरसफाइ अभियान सञ्चालन गरौं । केही न केही परिवर्तन अवश्य देखिनेछ ।

आफ्ना विद्यार्थीहरू कुचो लिएर सडक सफा गर्न थालेपछि सहरमा व्यापार गरेर फोहोर यत्रतत्र फाल्ने, जथाभावी थुक्ने, प्लाष्टिक फाल्ने, गुट्का खाएर खोल फाल्ने जस्ता काम गर्ने व्यक्तिहरूमाथि नैतिक प्रश्न उठ्नेछ । सबैको मष्तिष्कमा यसले छाप छाड्नेछ र भविष्यमा आफ्नो फोहोर नियन्त्रण गर्ने चेतनाको विजारोपण हुनेछ भन्ने विश्वास राखौं ।

सुर्खेतमा कार्यक्षेत्र बनाएर पत्रकारिता गर्नुहुने साथीहरूले आ–आफ्ना सञ्चारमाध्यममा यो अभियानको व्यापक सञ्चार गरौं । घर–घरबाट, टोलटोलबाट सरसफाइका लागि सडकमा निस्कने वातावरण बनाऔं । के बालक, के युवा, के वृद्ध, के महिला, के पुरुष, सबै जनमानसमा फोहोर व्यवस्थापनको जिम्मेवारी आफ्नै भएको भावनाको सञ्चार गरौं । जनप्रतिनिधि, सेना, प्रहरी सबैले हातेमालो गर्ने हो भने वीरेन्द्रनगर तीन दिनमा पूर्ण सफा हुनेछ । सफा सहरमा फोहोर फाल्न मानिसहरूले अप्ठ्यारो मान्नेछन् । फोहोरका कारण पनि थप फोहोर गर्नका लागि मानिसलाई मौका मिलेको हो । यसर्थ बृहत् सरसफाइ पश्चात नगरपालिकाले फोहोर नियन्त्रणका लागि आफूलाई तम्तयार राख्ने छ । उसलाई नागरिक चेतनाका कारण पनि नैतिक दवाव पर्नेछ । यदि सकेन भने फेरि अर्को तीन महिनामा हामी फेरि अर्को बृहत् सरसफाइ गरौँला । हामी सबै यही हुनेछौं । आफ्नो सहर सफाइ गरेर हामी साना हुँदैनौ । हामीले गरेको आजको सफाइ कर्मबाट हाम्रा बालबालिकामा समेत सफाइ चेतना सञ्चार हुनेछ । भविष्यमा उनीहरू आफ्नो वातावरणका लागि सजग हुनेछन् । यसकारण सफा वर्तमान र सफा भविष्यका लागि वीरेन्द्रनगरमा बृहत् सरसफाइ अभियान सञ्चालन गरौं । यसका लागि सामूहिक नेतृत्वको वातावरण सृजना गर्न विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरूले स्वतःस्फूर्त एक अभियानको आह्वान गर्न ढिला गर्न हुँदैन भन्ने पंक्तिकारको अभिप्राय रहेको छ । तथापि अन्य नागरिक समाज या संघ–संस्था जसले भए पनि यो अभियान सहरमा सञ्चालन होस् । प्रदेश राजधानीलाई सफा, सुन्दर र हराभरा बनाउन सबैको हातेमालो अपरिहार्य छ ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयको विज्ञान संकायका अध्यापक हुन् ।)