रारा संरक्षणका लागि पानी परियोजना


मुगु : नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा रहेको जैविक विविधता संरक्षणका लागि पानी परियोजनाले काम गर्ने भएको छ । रारा क्षेत्रको प्राकृतिक सुन्दरतालाई बचाइराख्न जैविक विविधताको संरक्षण नै पहिलो भएकाले पानी परियोजनाले त्यसप्रति ध्यान दिइ कार्यक्रम अगाडि बढाएको हो । कार्यक्रम अन्तर्गत रारा खत्याड जलाधार क्षेत्र नामाकरण गरी रारा ताल आसपासमा पर्ने छायाँनाथ रारा नगरपालिका–९ मुर्मागाउँ र खत्याड गाउँपालिका–१ र २ मा पानी परियोजनाले जैविक विविधता संरक्षणका लागि विभिन्न कार्यक्रम गर्ने छ । जसमा चोरी शिकारी दल गठन, नेचर गाइड ट्रेनिङ, रारा आसपासमा हुने फोहोर व्यवस्थापन, सुकेका मूलहरूको उत्खनन् गरी सुचारु गर्ने लगायत कार्यक्रम गरी जैविक विविधता सम्वद्र्धन र फोहोर व्यवस्थापनमा काम गर्ने पानी परियोजनाले जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्दै रारा राष्ट्रिय निकुञ्ज मुगुका संरक्षण अधिकृत लालबहादुर भण्डारीले राराको सुन्दरता बचाइराख्न पानी परियोजनाले सुरु गर्न लागेको कार्यक्रम महत्वपूर्ण भएकाले कार्यान्वयन गर्न सबैको साथ अपरिहार्य रहेको बताए । रारा आउने पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएकाले रारामा फोहोर व्यवस्थापनमा ध्यान नदिइए राराको अस्तित्व संकटमा पर्ने देखिन्छ । त्यसैले समयमा सचेत हुन जरुरी रहेकाले यसमा पानी परियोजना मात्र नभइ विभिन्न निकायले सहकार्यका साथ काम गर्नुपर्नेमा अधिकृत भण्डारीको भनाइ छ । यता छायाँनाथ रारा नगरपालिका नगर प्रमुख हरिजङ्ग शाहीले राराको फोहोर व्यवस्थापनका लागि नगरपालिकाले ३० लाख रकम विनियोजन गरेको बताए । राराको जलाधार संरक्षण र फोहोर व्यवस्थापनका लागि नगरपालिकाले घोडाको दिसा संकलन गर्ने झोला, डस्बिन लगायतको व्यवस्था गर्नेछ । नगरपालिकाका अनुसार पानी परियोजनासँग छायाँनाथ रारा नगरपालिकाले आवश्यक सहकार्य गरी जैविक विविधता सम्वद्र्धन गरी राराको ठोस फोहोर वस्तु व्यवस्थापन गर्न सहकार्य गर्ने नगर प्रमुख शाहीले बताए । कार्यक्रम ११ महिनासम्म सञ्चालन हुनेछ । यूएसआईडी पानी परियोजनाको सहयोगमा र कर्णाली सामुदायिक विकास केन्द्र (केसीडीसी) मुगुको समन्वयमा कार्यक्रम सञ्चालन गरिने कर्णाली सामुदायिक विकास केन्द्र मुगुका संयोजक हरिबहादुर शाहीले बताए ।