राष्ट्रियसभा निर्वाचन आज
सुर्खेत : राष्ट्रियसभा सदस्य पदका लागि आज (बिहीवार) निर्वाचन हुँदैछ । सातै प्रदेशमा हुने निर्वाचन अन्तर्गत कर्णाली प्रदेशको मतदान प्रदेश राजधानी वीरेन्द्रनगरमा हुँदैछ ।
मतदानमा सहभागी हुन प्रदेशभित्रका सबै स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा राजधानीबाहिर रहेका प्रदेशसभा सदस्यहरू समेत वीरेन्द्रनगर आइसकेका छन् । कर्णालीबाट राष्ट्रियसभाका लागि रिक्त रहेका दुई पदमा निर्वाचन हुँदैन । एक जना महिला र एक जना अन्य समूहबाट सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मायाप्रसाद शर्मा र सुमित्रा बिसीलाई उम्मेदवार बनाउँदा नेपाली कांग्रेसले डिल्लीराम पाठक र गणेशकुमारी बस्नेतलाई उम्मेदवार बनाएको छ । मतसंख्या हेर्ने हो भने कर्णालीमा नेकपाको स्पष्ट बहुमत छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उप–प्रमुखमा पनि नेकपा नै अगाडि छ ।
कर्णालीमा ४० जना प्रदेशसभा सदस्य र एक सय ५८ जना स्थानीय तहका प्रमुख र उप–प्रमुख छन् । दुई पार्टीबीचको मतभारमा निकै अन्तर छ । यहाँ नेकपाको कुल तीन हजार पाँच सय ६४ तथा कांग्रेसको नौ सय ९० मतभार छ । राप्रपाको ६६ र स्वतन्त्रको एक सय आठ मतभार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसरी हेर्दा नेकपाका उम्मेदवार विजयी हुने निश्चितप्रायः देखिन्छ । निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
प्रकाशित मितिः ९ माघ २०७६, बिहीबार ०६:००
साझा बिसौनी ।