‘अब कोही सडकमा बस्नुपर्दैन’
सुर्खेत : अब कुनै पनि नागरिकले सडक जीवन बाँच्नु नपर्ने भएको छ । विभिन्न कारणले सडकमा मागेर जीवन चलाइरहेकाहरूलाई उद्धार गरेर परिवारसँग पुनर्मिलन गराउने गरी कर्णालीमा अभियान सञ्चालन गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्व तथा मानव सेवा आश्रम कर्णाली प्रदेशको समन्वयमा शनिवार कर्णालीलाई सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा गरिएको छ ।
सडक जीवन बिताइरहेकाहरूलाई सकेसम्म परिवारमा पुनस्र्थापना गर्ने र परिवारविहीनहरूलाई आश्रममा लगेर आश्रय दिने लक्ष्य सरकारको छ । सोही लक्ष्यअनुसार वि.सं. २०७५ साल माघ १८ गते सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश तथा वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा वीरेन्द्रनगरमा प्रदेशस्तरीय मानव सेवा आश्रम स्थापना भएको हो । आश्रम स्थापना भएको एकवर्षमै प्रदेशलाई नै सहयोगापेक्षी मानवरहित प्रदेश घोषणा गरिएको छ । यसका लागि गत मंसिर २८ गते कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले उक्त निर्णय पश्चात् अभियानलाई सफल बनाउनको लागि सामाजिक विकास मन्त्रालयको नेतृत्तवमा जिल्ला तहमा अन्तरक्रिया कार्यक्रम गरी विधिवत् रूपमा शनिवार घोषणा गरेको सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर बिकेले जानकारी दिए । उनले कर्णाली प्रदेशको राजधानी लगायतका विभिन्न स्थानका सडकमा मानवहरू बेवारिसे अवस्थामा भेटिने गरेको र मानवको सेवा गर्ने संस्थाहरूको खोजी गर्ने क्रममा मानव सेवा आश्रमले त्यसको जिम्मा लिएको बताए । उनले कुनै पनि सहयोगापेक्षी मानव अब कर्णालीका सडकमा नभेटिने गरी काम अगाडि बढाउने जानकारी दिए ।
बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवमुक्त कर्णाली प्रदेश घोषणा कार्यक्रममा सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका नागरिकलाई सरकार छ भन्ने अनुभूति गराउनको लागि यस्तो काम गरिएको जिकिर गरे । उनले जो कोहीको पनि अशक्त हुने अवस्था आउने भन्दै नागरिकलाई अशक्त भएको अवस्थामा सरकारले सेवाको जिम्मेवारी लिने बताए । ‘सरकार बालबालिका र अपाङ्गता भएकाहरूको बारेमा समेत सोच्दैछ’ उनले भने ‘कर्णालीका हरेक जिल्लामा मानव सेवा आश्रमको विस्तार गरी सम्बन्धित जिल्लाका सहयोगापेक्षीहरूको सेवा गर्ने तयारी छ ।’ मुख्यमन्त्री शाहीले आश्रममा पारिवारिक वातावरण दिने भन्दै सेवामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा मानव सेवा आश्रमका भवन निर्माण गरी जिल्लागत रूपमा सेवा विस्तार गरिनेछ । केसम्म सडकमा मानव नै नआउने वातावरण सिर्जना सबै क्षेत्रबाट हुनुपर्ने बताए ।
कार्यक्रमको अध्यक्ष समेत रहेका सामाजिक विकास मन्त्री दल रावलले निजी अभियन्ताहरूले समेत अभियान सञ्चालन गर्दा राज्यले किन अपनत्व नलिने भन्ने सोचेरैे अभियानलाई साथ दिएको बताए । उनले तिनै तहका सरकारले यस्ता अभियानमा सहयोग गर्नुपर्ने धारणा राखे । धेरै अभियानहरू औपचारिक रूपमा घोषणा गरे पनि कार्यान्वयन नहुने भन्दै सडकमा भएका मानवहरूको उद्धारमा सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनले बताए । मन्त्री रावलले आफ्नो लागि काम गर्नुभन्दा अरुको लागि काम गर्नेहरू नै सच्चा मानव भएको जिकिर गरे ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उप–प्रमुख मोहनमाया ढकाल, जिल्ला समन्वय समितिका प्रमुख छविलाल सिग्देल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । शनिवारदेखि नै कार्यान्वयन गर्नेगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका प्रमुख सचिव केवलप्रसाद भण्डारीलाई प्रमाण–पत्र हस्तान्तरण गरेका छन् । मानव सेवा आश्रम कर्णाली प्रदेशमा हाल ५० जना सहयोगापेक्षी मानवहरू रहेका छन् । यसअघि ३६ जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको आश्रमकी जिल्ला संयोजक संञ्चिता गौतमले जानकारी दिइन् । आश्रमको स्थापना गर्नको लागि सामाजिक विकास मन्त्रालयले यसअघि १० लाख रूपैयाँ सहयोग गरेको थियो भने वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आश्रमको भाडा वापतको मासिक ५० हजार तिरिरहेको समेत उनले जानकारी दिइन् । सडकमा मागेर जीविकोपार्जन गरिरहेकाहरूलाई उद्धार गरेर आश्रममा ल्याउने गरिएको छ ।
प्रकाशित मितिः ५ माघ २०७६, आईतवार १०:३२
साझा बिसौनी ।