बुद्ध सरोवर निर्माण गर्न सहयोग संकलन


सुर्खेत : वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणका लागि आवश्यक रकम संकलन गर्न शनिवारदेखि ‘धम्म देशना’ कार्यक्रम शुभारम्भ गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बुद्ध सरोवर निर्माणको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बुढाले आफ्नो मन्त्रालयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बुझाएको अवस्थामा समपूरक र विशेष अनुदानमार्फत सहयोग गर्न सक्ने बताए । ‘प्रत्येक कर्णालीवासीले आर्थिक सहयोग गरेर सरोवर बनाउँदा समय धेरै लाग्न सक्छ, त्यसैले समृद्ध कर्णाली बनाउनका लागि यसलाई परियोजनाको रूपमा लिएर काम गर्दा छिटो निर्माण सम्पन्न हुन्छ’ उनले भने । प्रदेश सरकारले कुनै पनि जातिलाई विभेद नगरेको भन्दै उनले कर्णालीका ऐतिहासिक धार्मिक सम्पदाहरूलाई पर्यटकीय क्षेत्रसँग जोडेर विकास गर्न सकिने धारणा राखे ।त्यस्तै कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले बुद्ध सरोवर निर्माण अभियान नै एउटा गौरवको विषय भएको बताइन् । उनले कर्णालीमा अलि धेरै समय पर्यटक भुल्ने ठाउँ नभएकोले यो सरोवर पर्यटकको ध्यान तान्ने स्थल बनाउनुपर्ने औंल्याइन् । कार्यक्रममा धर्मगुरु प्रेमदोर्जे लामाले विगत केही वर्षदेखि जिल्ला प्रहरी कार्यालय सुर्खेत परिसरमा अपराधीलाई जस्तो गरेर बाँधेर राखिएको बुद्ध मूर्तिलाई सरकारले चाँडो निकास दिनुपर्ने बताए ।

वीरेन्द्रनगर–६ को बुद्धपथमा एक सय आठ फिट अग्लो बुद्धको मूर्तिसहित बौद्ध सरोवर निर्माण गर्ने तयारी गरिएको छ । बुद्ध सरोवर निर्माणमा सहयोग संकलनको लागि शनिवारदेखि ‘धम्म देशना’ सुरु गरिएको छ । यही माघ ९ गतेसम्म सञ्चालन हुने ‘धम्म देशना’बाट करिब ५० लाख सहयोग रकम संकलन हुने अपेक्षा गरिएको छ । बुद्ध सरोवर निर्माणका लागि नौ करोडदेखि १२ करोडसम्म लाग्ने अनुमान गरिएको छ भने दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको आयोजक बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पाले बताए । शनिवार शुभारम्भ समारोहमा नगद र प्रतिबद्धता गरेर करिव एक लाख बराबरको दान संकलन भएको छ ।