सडक मानवको उद्धार
सुर्खेत : वीरेन्द्रनगरका सडकपेटीमा रात बिताउने तीन जनाको उद्धार गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकालको नेतृत्वमा स्थानीय प्रहरी र प्रशासनको सहभागितामा प्रदेश राजधानी वीरेन्द्रनगरका विभिन्न सडक, गल्ली र मन्दिर तथा सार्वजनिक स्थानमा रात बिताउने तीन जनालाई उद्धार गरिएको हो । सोमवार राती अनुगमन गर्दा वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयनजिकबाट एकजना ज्येष्ठ नागरिकलाई र मंगलवार बिहान देउतिबज्यै परिसरबाट दुई जनालाई उद्धार गरिएको उप–प्रमुख ढकालले जानकारी दिइन् । प्रदेशलाई नै सहयोगापेक्षी सडक मानवरहित घोषणा गर्ने तयारी भइरहँदा नगरपालिकाले उद्धार अभियान नै सञ्चालन गरेको उनले बताइन् । बेसाहारा, सहयोगापेक्षी मानवहरूको पहिचान गरी उनीहरूको जीवनरक्षा गर्न स्थानीय तह तत्पर रहेको ढकालको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले माघ ४ गते प्रदेशलाई नै सहयोगापेक्षी तथा अभिभावकविहीन सडक मानवमुक्त प्रदेश घोषणा गर्न लागिएको भन्दै सोही अनुरूप अभियानलाई तिब्रता दिइने बताए । अधिकारीले देउति बज्यै परिसरमा पेसेवर मगन्तेहरू रहेको भन्दै तिनीहरूका परिवारलाई पहिचान गरि जिम्मा लगाइने समेत जनाए । यसरी उद्धार गरिएकाहरूलाई मानव आश्रम सुर्खेतले आश्रय दिएको छ । आफन्त र परिवारको सदस्य हुनेलाई जिम्मा लगाएर छाडिएको मानव आश्रम कर्णाली प्रदेश संयोजक सृजना वलीले बताइन् । आश्रमका अनुसार सडकबाट उद्धार गरिएको केही मदिराको अम्मली भेटिएका छन् भने केही लागूऔषध सेवनकर्ता पनि छन् । उद्धार गरेकाहरूलाई आश्रमले खाने, बस्ने र कपडाको प्रबन्ध गरिदिएको छ । वलीका अनुसार स्थायी कामको टुंगो नभएका र ज्यामी काम गर्नेहरू पनि सडकमै सुत्ने गरेको भेटिएका छन् । सडकमा आइपुगेका कैयौं महिला घरेलु हिंसाको सिकार भएका पनि छन् ।
प्रकाशित मितिः १ माघ २०७६, बुधबार ०९:०८
साझा बिसौनी ।