माघी मिलन कार्यक्रम हुँदै

सुर्खेत : माघे संक्रान्तिको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा ‘माघी मिलन कार्यक्रम २०७६’ हुने भएको छ । वीरेन्द्रनगर–१० नयाँ गाउँ सुर्खेतमा अवस्थित कर्णाली प्रदेश थारु होम–स्टेको आयोजनामा आज (शनिवार) हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक श्याम चौधरीले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतीका साथै जिल्लास्तरीय मघौटा नाँच प्रतियोगिता, मौलिक थारु भेषभुषाको प्रर्दशनी, थारु गुरुवाहरूको कला प्रर्दशनी हुने छ । त्यस्तै, सम्पूर्ण थारु खानाको परिकारको व्यवस्था र शुभकामना आदान प्रदान गरिने जनाइएको छ । ‘पर्यटन विकास र सभ्य समाजका लागि हाम्रो अग्रसरता’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम बिहान १० बजे सुरु हुनेछ । कार्यक्रम अवलोकनका लागि सर्वसाधारण र विद्यार्थीका लागि पचास रूपैयाँको टिकट र भिआइपी÷भीभीआइपीका लागि पाँच सय र एक हजार रूपैयाँको टिकटको व्यवस्था गरिएको छ ।