सभामुखमा अझै जुटेन सहमति
काठमाडौं : सत्तारूढ नेकपामा सभामुख चयनको विषयले दुई महिनादेखि गोलचक्कर लगाइरहेको छ । दुई अध्यक्ष आफ्नो अडानमा रहेको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिएपछि सभामुख चयनप्रक्रिया रोकिएको हो । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दिनहुँजसो सभामुख चयनबारे छलफल हुने गरे पनि अडानबाट कोही पनि पछि नहट्दा सहमति जुट्न सकेको छैन । शुक्रवार अध्यक्षद्वयले बालुवाटारमा उप–सभामुख तुम्वाहाङफेसँग भेट गरेका छन् । तर, उनीले अध्यक्षहरूसँगको भेटमा पनि आफू उप–सभामुखबाट राजीनामा नदिने मनस्थितिमा रहेको प्रतिक्रिया दिएकी छन् । शुक्रवार बिहान पौने १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छिरेकी तुम्बाहाङ्फे र दुई अध्यक्षबीच करिब एक घण्टा वार्ता भएको दाबी स्रोतले गरेको छ ।
रिक्त प्रतिनिधि सभाको सभामुख पदको निर्वाचनको मिति पर सरिरहेका बेला तुम्बाहाङ्फेलाई बोलाएर दुई अध्यक्षले वार्ता गरेका हुन् । तर उनले पुरानै अडान दोहो¥याएपछि नेकपाले सभामुखका उम्मेदवारको टुंगो लगाउन नसकेको हो । गत असोज १२ गते संसद सचिवालयकै एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोगमा तत्कालीन सभामुख कृष्णबहादुर महरा जेल गए सँगै रिक्त सभामुख पदमा अड्किएको गाँठो फुकाउन दुई अध्यक्षले तुम्बाहाङ्फेसँग वार्ता गरेका थिए ।
सभामुखमा पहिलो दाबी प्रस्तुत गर्दै आएकी तुम्बाहाङ्फेलाई दुई अध्यक्षले यसअघि नै बाटो खोलिदिन आग्रह गरिसकेका थिए । तर उनले महराको गल्तीको दोष आफूलाई नदिन आग्रह गर्दै सभामुखको पहिलो दाबेदारका रूपमा आफैँलाई प्रस्तुत गरिरहेकी छन् । यदि उप–सभामुख पद छाडेमा मन्त्री बनाउने आश्वासन दुई अध्यक्षले उनलाई दिएका छन् । तर उनले आफूले कुनै गल्ती नगरेको अवस्थामा सभामुख आफैँ हुनुपर्ने अडान राखेपछि नेकपाभित्र सभामुखको गाँठो झन् अड्किएको छ । उप–सभामुखले राजीनामा दिएपछि मात्रै सभामुख चयन प्रक्रिया सुरु हुने नेकपाका प्रवक्ता नारायणजी श्रेष्ठले जानकारी दिए । ‘संवैधानिक व्यवस्था अनुसार एउटै पार्टीको सभामुख र उप–सभामुख हुन पाउने व्यवस्था छैन, त्यसैले उप–सभामुखले राजीनामा दिएपछि मात्रै सभामुखको निधो हुन्छ’, उनले भने ।
यता, उप–सभामुखले आफ्नो
अडानबाट पछि नहट्ने संकेत देखाएपछि अध्यक्षद्वय ओली र दाहाल थप संकटमा परेका छन् । ओलीले आफू निकटका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङलाइ बनाउन चाहेका छन् । अध्यक्ष दाहालले अग्नि सापकोटाको पक्षमा अडान लिएका छन् । उप–सभामुखको राजीनामा नआउने संकेत ओली–दाहालको
आ–आफ्नो अडानकै कारणले नेकपाले सभामुख चयन गर्न सकेको छैन । नेकपाले सभामुख चयन नगर्दा प्रतिनिधि सभाको संसद बैठक समेत दुई पटक स्थगित भइसकेको छ ।
आइतवार संसदको बैठक बोलाइएको छ । तर, शुक्रवार साँझसम्म नेकपाले सभामुख चयन नगर्दा संसद वैठक समेत बन्धक बनाएको आरोप लागिरहेको छ । शीर्ष नेताहरूबीच आ–आफ्नो दाउपेचले गर्दा नेकपाले सभामुख चयन गर्न नसकेकको हो । बुधवार पनि प्रधानमन्त्री ओलीलाई एक्लाएर अध्यक्ष दाहालको नेतृत्वमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा छलफल भएको थियो ।
ओलीसँगको छलफलमा अध्यक्ष दाहालले तत्कालीन माओवादीले सभामुख छाड्न परे, प्रधानमन्त्रीबाट पनि ओली
हट्नुपर्ने प्रस्ताव गरको प्रचण्डनिकट स्रोत बताउँछ । नेकपामा
गुट–उपगुट हावी हुँदा सभामुख चयन प्रकिया अगाडि बढ्न नसकेको हो । राष्ट्रियसभाको उम्मेदवार चयनका बेला पनि प्रस्तावित उपाध्यक्ष गौतमले आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरेका थिए ।
साझा बिसौनी ।