सांसद खड्काद्वारा आश्रमलाई सहयोग

सुर्खेत : कर्णाली प्रदेशसभा सदस्य पद्मा खड्काले वीरेन्द्रनगरमा रहेको मानवसेवा आश्रमलाई सहयोग गरेकी छन् । प्रदेशसभा सदस्य खड्काले आफ्नो जन्मदिनको अवसर पारेर मंगलवार आश्रमलाई आवश्यक खाद्यान्न सहयोग गरेकी हुन् । खड्काले चामल, दाल, पिठोलगायत आठ हजार रूपैयाँ बराबरको सामग्री सहयोग गरेकी हुुन । आश्रमले गरिरहेको कामबाट प्रभावित भएकाले सक्दो सहयोग गरेको सांसद खड्काले बताइन् । साथै उनले बेसाहारा, अभिभावकविहीन सडक मानवलाई आश्रमसम्म ल्याउन र सडक मानवमुक्त गराउन सबैको सहयोग आवश्यक रहेको बताइन् । प्रदेश सरकारले पनि प्रदेशलाई नै सडक मानवरहित गराउने अभियानमा लागेको उल्लेख गर्दै यस कार्यमा सहयोग गर्न उनले सबैसँग आग्रह गरिन् ।

आश्रमका जिल्ला संयोजक संजिता गौतमले सबैको सहयोगले आश्रम सञ्चालन गर्न सफल भएको बताइन् । उनका अनुसार मानवसेवा आश्रममा हाल ३९ जनाले आश्रय लिइरहेका छन् । हालसम्म २६ जनालाई परिवारसँग पुनस्र्थापना गरिएको छ । उनले खानबस्नको समस्याले कोही पनि सडकमा बस्न नपर्ने बताउँदै बेसाहारा सडक मानव कोही छन् भने आश्रमसम्म ल्याउन सहयोग गरीदिन पनि आग्रह गरिन् । उनले प्रदेश सरकारले सडक मानवरहित प्रदेश बनाउने अभियानमा आफूहरू पनि लागेको बताइन् ।