कर्मचारी अभावले कर्णालीमा बजेट खर्च न्यून

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा २ प्रतिशतभन्दा कम बजेट खर्च भएको बताएका छन् । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा सांसद शर्माले यस्तो बताएका हुन् । सामान्य प्रशासन मन्त्रालयले समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दा, समयमा ऐन नियम बनाउन नसक्दा र प्रदेश लोकसेवाको गठनमा तदारुकता नदेखाउँदा खर्चको अवस्था न्यून देखिएको उनले बताए । कर्णालीका विभिन्न स्थानीय तहमा गएर बुझ्दा कर्मचारीको अभावकै कारण दिगो विकासको लक्ष्य पूरा गर्न कठिन भएको उनले बताए ।

समिति बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले स्थानीय तहहरूमा बजेट कम खर्च हुनुको कारण कर्मचारीको अभाव मात्रै नभएको बताए । बजेट विधिअनुसार विनियोजन नभएको, आवधिक योजना स्थानीय तहहरूले नबनाएरै काम गरेकाले कम खर्च भएको उनको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत भएको एक लाख ३७ हजार ६ सय १२ दरबन्दीमा समोजनको समयमा मौजुदा जनशक्ति ९९ हजार पाँच सय ७२ स्वीकृत दरबन्दीको अनुपातमा ३८ हजार ४० कर्मचारीको अभाव रहेको मन्त्रालयले जनाएको छ । समितिमा सांसदले सामान्य प्रशासनमन्त्री हृदेश त्रिपाठीलाई आमन्त्रण गरेको भए पनि उनी सहभागी भएनन् ।

प्रकाशित मितिः   २१ पुष २०७६, सोमबार ०८:५८